शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको निष्कर्ष : वीपी प्रतिष्ठानमा भ्रष्टाचार छ

आइतबार, ०३ असोज २०७८, १५ : ४५
आइतबार, ०३ असोज २०७८

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । उजुरीको खात लागेपछि आयोगले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गर्ने कार्यादेशसहित अनुगमन समिति गठन गरेको थियो । समितिले धरानमा पुगेर तयार पारेको प्रतिवेदन आयोगलाई प्रतिवेदन बुझाएको छ ।  

प्राविधिकसहित स्थलगत अनुगमन टोलीले आयोगलाई प्रतिवेदन बुझाएको अख्तियारका प्रवक्ता (सह–सचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै आयोगमा करिब १ सयवटा उजुरी परेका छन् । अत्यधिक उजुरी आएपछि आयोगले समग्रमा हेरेर स्याम्पल परीक्षण गर्नका लागि प्राविधिकसहितको टिमलाई त्यहाँ पठाएको थियो ।

अनुगमन समितिले ‘प्रारम्भिक अनुसन्धानबाट प्रतिष्ठानमा भ्रष्टाचार भएको देखिएको’ निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । समितिले आयोगलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘वीपी प्रतिष्ठानमा भएको अनियमितताका सम्बन्धमा थप विस्तृत अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

पाँच ठाउँमा भ्रष्टाचार

आयोगको टोलीले प्रतिष्ठानको कागजात लिएर अध्ययन गरेको थियो । कागजात अध्ययन गर्दा वीपी प्रतिष्ठानमा पाँच ठाउँमा भ्रष्टाचार देखिएका छन् । भवन निर्माण, स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री खरिद, औषधी खरिद, नियुक्ति र प्रशासनिक काम कारबाहीमा समेत भ्रष्टाचार हुने गरेको आयोगको टोलीले ठहर गरेको छ । प्रशासनिक काम कारबाही र नियुक्तिमा प्रतिष्ठानका पदाधिकारीले कानुन विपरीत काम गरेको उजुरीकर्ताले दाबी गरेका छन् ।

प्रतिष्ठानको भवन निर्माणको गुणस्तरमा पनि प्रश्न उठेको छ ।  निर्माणको काम भइरहेको विषयमा पनि आयोगमा उजुरी परेको थियो । निर्माण कार्य नसकिएको हुनाले त्यसमा निगरानी गर्न अनुगमन समितिले सुझाव दिएको छ ।

आयोगमा परेका उजुरी मध्ये केही उजुरीमा विस्तृत अनुसन्धान गर्नुपर्ने अवस्था रहेको अनुगमन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । कतिपय विषय अस्पताल प्रशासन आफैँले सुधार गर्नुपर्ने अवस्था रहेको अनुगमन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

भ्रष्टाचार भएको भन्दै प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारी पनि आन्दोलित छन् । प्रतिवेदनका आधारमा विस्तृत अनुसन्धान गरिने अख्तियारका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।

 


सातै प्रदेशमा अख्तियारको नजर

आयोगले सातवटा प्रदेशमा भएका ठुला भ्रष्टाचारमा घटना अनुसन्धान गरिरहेको छ । प्रदेश–१ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नजर राखेको आयोगले प्रदेश–२ को वीरगन्ज स्थित नारायणी अस्पतालमा भएको भनिएको भ्रष्टाचार अनुसन्धान गरिरहेको छ । करिब १५ दिनअघि आयोगले नारायणी अस्पतालमा छापा मारेको थियो ।

नारायणी अस्पतालमा औषधी खरिदमा १ करोड २१ लाख भ्रष्टाचार भएको उजुरी परेको छ । अस्पताल प्रशासनले औषधी किनेको तर, बेचेको हिसाब देखाउन सकेको छैन । औषधीको म्याद सकिएको भनेर अस्पतालले ८० लाख बराबरको हिसाब देखाएको छ । अख्तियारको प्रारम्भिक छानबिनबाट १८ लाख बराबरको औषधीको म्याद नाघेको देखिएको छ । आयोगले अस्पतालको स्टोरमा सिल गरेको छ ।

बागमती प्रदेशमा आयोगले पशुपतिनाथ मन्दिरमा भएको भ्रष्टाचार अनुसन्धान गरिरहेको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन घोटाला भएको उजुरीमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता (सहसचिव) नारायण प्रसाद रिसालले रातोपाटीलाई बताए । काठमाडौँस्थित गंगालाल हृदयरोग केन्द्रको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको उजुरीमाथि पनि आयोगले छानबिन गरिरहेको छ ।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा घोटाला भएको उजुरीमाथि आयोगले छानबिन गरिरहेको छ । सल्यानमा अक्सिजन प्लान्टको बजेट निकासा गरेर ‘अक्सिजन कन्सन्ट्रेटर’ खरिद गरेको उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा महेन्द्रनगर बजार क्षेत्रको ५७३ विघा सरकारी जग्गा हिनामिनाबारे आयोगले अनुसन्धान गरिरहेको छ । महेन्द्रनगर बजार क्षेत्रको ६३८ विघा जग्गामध्ये अहिले ६५ विघा मात्र बाँकी छ । ५७३ विघा सरकारी जग्गा कहाँ हरायो भनेर अख्तियारले खोजी थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप