शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ आउन १७ दिन बाँकी : दर्जन ठाउँमा सडक अवरुद्ध, १२३ ठाउँमा एकतर्फी

आइतबार, ०३ असोज २०७८, १७ : ४४
आइतबार, ०३ असोज २०७८

वर्ष २०७८ को दसैँ पर्व आउन अब १७ दिनमात्रै बाँकी छ । असोज २१ गते घटस्थापना परेको छ । घरबाट अन्यत्र रहेका नागरिकहरू दसैँपछि लगातार आउने तिहार र छठ मनाउन गाउँ फर्कँदैछन् । दसैँका बेला काठमाडौं उपत्यकाबाट मात्रै कम्तिमा २५ लाख मानिस बाहिरिने अनुमान गरिन्छ । यी मध्ये अधिकांशले स्थलमार्ग (सडक) नै प्रयोग गर्छन् ।

दसैँ छेकोमै आइसक्दा अहिले देशका ११ स्थानमा सडक अवरुद्ध छ । सडक विभागका अनुसार यो वर्षको जेठ ३० गतेयता देशभर २१८ स्थानमा सडक अवरुद्ध भएको छ । अहिले विभिन्न सडकका १२३ ठाउँमा सवारीसाधन एकतर्फी (वान वे) मात्रै सञ्चालन भइरहेको छ । सरकारले ८४ स्थानमा मात्रै सडक अवरोध खुलाउन सकेको छ ।

गत जेठ १६ गतेदेखि अवरुद्ध हुन थालेको डुम्रे–बेंशीशहर–चामे सडक सरकारले अझै खुलाउन सकेको छैन । मनाङको तिमाङ छहरामा चलेको पहिरोले सडक अवरुद्ध भएको थियो । अहिले त्यहाँ सडक खुलाउन स्ल्याब कल्भर्ट बनाउने काम जारी रहेको सडक विभागले जानकारी दिएको छ ।

विभागका अनुसार अरनिको राजमार्ग (काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी) पनि अहिले अवरुद्ध छ । सिन्धुपाल्चोकको लिपिङमा रहेको पुललाई नदीले कटान गर्दा र दाक्लाङको दुई स्थानमा सडक भासिँदा त्यहाँ असार १ गतेदेखि नै सवारीसाधन आवागमन अवरुद्ध छ । सिन्धुपाल्चोककै जुरेमा पनि सडक अवरोध हटाउन सकिएको छैन । तातोपानी नाका हुँदै चीनतर्फ आवागमन गर्न यही सडक र पुल प्रयोग गर्नुपर्छ ।

असार १ गतेदेखि नै अवरुद्ध भएको डुम्रे–बेंशीशहर–चामे सडक पनि अहिलेसम्म अवरुद्ध छ । अहिले पहिरो र बाढी लगायत कारण मनाङको तिमाङ खेला, धारापानी, बगरछाप तथा लमजङुको रामबजार र अर्खलेमा अवरुद्ध भएको सडक सरकारले अझै खुलाउन नसकेको हो ।

चीनसँगको सीमा केरुङसम्म पुग्ने गल्छी–त्रिशुली–मैलुृङ–स्याप्रुबेंशी–रसुवागडी सडक पनि असार १ गतेदेखि नै अवरुद्ध छ । रसुवास्थित त्रिशुली खोला, सानो भार्खु खेला र गाँजाबारीमा पहिरो र बाढीले सडक आवागमनयोग्य नरहेको सडक विभागले तयार पारेको विवरणमा उल्लेख छ । रसुवाको मैलुङबाट तीन किलोमिटर माथि पर्ने घुम्फेदमा सडक नै ढाक्नेगरी ठूलाठूला चट्टान आएर बसेकाले हटाउन नसकिएको इञ्जिनियर सन्तराम पाण्डेयले रातोपाटीलाई जानकारी दिए । ती चट्टान हटाउन विस्फोट नै गर्नुपर्ने देखिएकाले आवश्यक प्रबन्ध भइरहेको पाण्डेको भनाइ छ ।

बझाङस्थित खोड्पे–चैनपुर सडक पनि भदौ २४ गतेदेखि अवरुद्ध रहेको सडक विभागको तथ्यांकमा उल्लेख छ । चैनपुरमा सडकको छेउपट्टीको भाग भासिएकाले त्यहाँ ग्याबिन रिटेइनिङ पर्खाल लगाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

देशका धेरै नागरिक आवतजावत गर्ने र देशकै जीवनरेखा (लाइफलाइन) मानिने पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) का डेढ दर्जनभन्दा बढी स्थानमा सडक अहिले एकतर्फी सञ्चालनमा छ । यसो हुँदा यात्रा अवधि बढेको छ र यात्रु तथा सवारी चालकले हैरानी ब्यहोरिरहेका छन् ।

मध्यपहाडी (पुष्पलाल), उत्तर–दक्षिण, कोशी कोरिडर, वि.पी. राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, हुलाकी राजमार्ग, त्रिभुवन राजपथ र राप्ती राजमार्गजस्ता अधिकांश रणनीतिक सडक सञ्जालमा कुनै न कुनै अवरोध रहेको छ । सडक विभागले यी सडकमा निम्तिएको अवरोध हटाउने प्रयास भइरहेको र कतिपय सडक तत्काल खुलाउन नसकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप