शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपा हत्या प्रकरण : डेढ महिनासम्म पत्ता लागेन हत्यारा

प्रहरीका चार आशङ्का, नतिजा शून्य
आइतबार, ०३ असोज २०७८, १७ : ०६
आइतबार, ०३ असोज २०७८


ललितपुर महानगरपालिका–२ सानेपा स्थित गुर्सिङ्गालमा भारतीय नागरिक सत्यनारायण पारिकको हत्या भयो । २०७८ साउन २० मा सानेपास्थित भाडामा लिएको घरमा पारिक मृत भेटिएका थिए । हत्या भएको डेढ महिना बितिसकेको छ । तर, प्रहरीले हत्यामा संलग्न आरोपी पहिचान गर्न सकेको छैन ।

राजस्थानको जयपुर घर भएका पारिक १८ वर्षदेखि गुर्सिङ्गाल आसपासमै बस्दै आएका थिए । जुन घरमा उनको हत्या भयो सो घरमा उनी १० वर्षदेखि बसिरहेका थिए । डेरा नजिकै राम मन्दिर छ । धार्मिक स्वभावका उनी दैनिक राम मन्दिर जान्थे, पूजापाठ गर्थे ।

इलेकट्रोनिक्स सप्लायर्स कम्पनी ‘एटलान्टीक’ मा कार्यरत ४९ वर्षीय पारिक एक्लै बस्थे । बिहान–बेलुका खाना  पकाउन र सफा गर्न दुईजना कामदार उनकोमा आउजाउ गर्थे ।

नुवाकोट घर भएकी ३६ वर्षीय सीता अधिकारी उनकोमा बिहान काम गर्थिन् । मकवानपुरकी २३ वर्षीय रुकु बस्नेत साँझ पारिकलाई खाना पकाएर सानेपास्थित डेरामा आउँथिन् । मकवानपुर जिल्लाको नामटार घर भएकी रुकु पारिक कहाँ काम गर्न थालेको १ महिना भएका थियो ।

हरेक दिनझैँ साउन २० मा बिहान घर सफा गर्न र खाना पकाउन अधिकारी पुग्दा ढोका खुलेन । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । नुवाकोट जिल्लाको मदनपुर घर भएकी अधिकारी डल्लु बस्छिन् । विगत ९ वर्षदेखि उनी सो घरमा काम गरिरहेकी थिइन् ।

पारिक इलेकट्रोनिक्स सप्लायर्स कम्पनी ‘एटलान्टीक’मा कमिसन बेसमा काम गर्थे । सो कम्पनीले फ्रिज, भ्याक्युम क्लिनर जस्ता ‘होम एप्लाइन्स’ होलसेल मूल्यमा बेच्छ । पारिकले त्यसअघि टोसिबा, किन्साकेन्ट, हिमालय मार्ट र स्मार्ट एप्लाइनसमा आबद्ध भएर काम गरेका थिए ।

सामान्य स्कुटर चढेर हिँड्ने सत्यनारायण ‘पैसावाल’ भने होइनन् । तर, उनको हत्या किन भयो ? महानगरीय अपराध महाशाखा र प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकारी हत्याको कारण खोज्दै छन् । पोस्टमार्टम रिपोर्ट अनुसार भारी बस्तुले टाउकोमा हिर्काएर हत्या गरेको देखिएको छ ।

चार आशङ्का

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले सो घटनामा चारवटा आशङ्का गरेका छन् । अपराध महाशाखाले अनुसन्धानमा लागि ३ साताअघि दुईजनालाई पक्राउ गरेको थियो । उनीहरूले पारिकलाई हत्या गरेर गौलोचन र एकमुखे रुद्रक्ष चोरेको प्रहरीको आशङ्का थियो । तर, सो आशङ्का पुष्टि नभएपछि पक्राउ परेकाहरू छुटेका छन् । धार्मिक स्वभावका पारिकको ह्वाट्स एपमा नागमणि, गौलोचन र रुद्राक्षको फोटो भेटिएपछि प्रहरीले त्यो कोणबाट अनुसन्धान अघि बढाएको थियो ।

‘धेरै कोणबाट अनुसन्धान गरिरहेका छौँ’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीसँग भने–‘तर, कुनै प्रगति हुन सकेको छैन ।’

नागमणि जोगाउन माताकहाँ गएका र पारिकसँग ‘गौलोचन छ’ भनेर थाहा पाउने व्यक्तिहरूलाई प्रहरीले अनुसन्धान घेरामा ल्याएर सोधपुछ गरेको थियो । पारिक कहाँ दुर्लभ बस्नु चाेर्न गएकाहरूले हत्या गरेका हुनसक्ने बारेमा कुनै तथ्य खुल्न सकेको छैन ।

बिहान बेलुका काम गर्न आउने–जाने सीता अधिकारी र रुकु बस्नेतलाई अनुसन्धान अधिकृतहरूले निगरानीमा राखेर अनुसन्धान गरिरहेका छन् । सीता र रुकुबाट पनि कुनै तथ्य खुलेको छैन ।

पारिकले काम गरेको कम्पनीसँगको आर्थिक कारोबारमा पनि प्रहरीले आफ्नो अनुसन्धान केन्द्रित गरेको छ । त्यस्तै, घटना भएको रातमा सो क्षेत्रमा चारजना युवाको उपस्थिति देखिएको छ । सिसिटिभी फुटेजमा देखा परेका चारजना युवाहरूमाथि पनि अपराध महाशाखा र ललितपुर प्रहरीले आफ्नो अनुसन्धान केन्द्रित गरेका छन् ।

फरक–फरक कोणबाट अनुसन्धान जारी राखिएको तर देखिने गरी नतिजा नआएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले भनिन्, ‘छिट्टो नतिजा आउने गरी अनुसन्धान गरिरहेका छौँ ।’

१०० जनासँग सोधपुछ

सत्यनारायण पारिक २७ वर्षदेखि नेपालमा बस्दै आएका थिए । गुर्सिङ्गालस्थित उनी बसिरहेको घरको दोस्रो तलामा दुईवटा कोठा उनले घाडामा लिएका थिए । सो घरमा अन्य मानिस बसेका थिएनन् ।

हत्या अनुसन्धानको क्रममा प्रहरीले १ सयजना भन्दा बढीसँग सोधपुछ गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप