मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

को थियो रञ्जनामाथि धारिलो हतियार प्रहार गर्ने ?

कहाँ गयो धारिलो हतियार ?
आइतबार, ०३ असोज २०७८, १४ : ५३
आइतबार, ०३ असोज २०७८

भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्की परिवारको सामूहिक हत्यामा थप स्थानीयमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीका अनुसार हत्या भइरहेको देखे पनि घटनाबारे जानकारी नदिएको तथा घटना हुनबाट नरोकेको भन्दै केही स्थानीयमाथि अनुसन्धान सुरु भएको प्रहरी स्रोतको दाबी छ । 

स्रोतका अनुसार घटनामा लोकबहादुरको मात्रै संलग्नता नभएर अन्य व्यक्तिको पनि संलग्नता खुल्ने केही तथ्य र प्रमाण भेटिएको दाबी गरिएको छ । भदौ २१ गते भएको घटनामा लोकबहादुरले आफ्नो मात्रै संलग्नता भएको र आफूले चिर्पट प्रहार गरी तेजबहादुरको परिवारकै हत्या गरेका बयान दिएका थिए । तर शवको पोष्टमार्टम रिपोर्टमा भने मृतक रञ्जना र रञ्जनाकी सासु कमलामाथि धारिलो हतियारको प्रयोग भएको रिपोर्ट आएको छ । त्यसो हो भने रञ्जना र कमलामाथि धारिलो हतियार प्रहार गर्ने को थियो त ? 

रञ्जना र कमलाको घाँटी लगायतका भागमा धारिलो हतियारले आक्रमण गरेको पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले यतिबेला त्यही धारिलो हतियारको खोजी गरिरहेको छ । लोकबहादुरले चिर्पटको मात्रै प्रयोग गरेको बताइरहँदा उनीहरूमाथि धारिलो हतियार प्रहार गर्ने को थियो भन्नेबारे प्रहरीलाई नयाँ चुनौती थपिएको छ ।

सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले रञ्जना र कमलाको पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएकोसमेत रिपोर्ट आएको भन्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । सुवेदीले भने, ‘पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएको उल्लेख छ । तर लोकबहादुरले धारिलो हतियारको प्रयोग नभएको बताएका छन् । यसकारण हामीले पनि घटनामा लोकबहादुर मात्रै नभएर अन्य व्यक्तिको पनि संलग्नता छ कि भनेर त्यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । हाम्रो अनुसन्धान टोली ‘क्राइम सिन’ मै छन् । हाम्रो अनुसन्धान अझै सकिएको छैन । अब अहिले नै धारिलो हतियारको प्रयोग भएको हो कि होइन, कसले धारिलो हतियारले आक्रमण ग¥यो भनेर सोध्नुभयो भने त्यो हतार हुन्छ ।’

​भदौ २६ गते लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेसँगै प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा गरेर सार्वजनिक गरेको थियो । घटनाको दिनदेखि हराइरहेको रञ्जनाको मोबाइल फोन भदौ २९ गते अन भएपछि प्रहरीले लोकबहादुरका भाइ नरेश कार्कीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नरेशले भने उक्त मोबाइल घरमै भेटाएर चलाएको बयान दिएका छन् । घटनामा नरेशको संलग्नताबारे प्रहरीले अहिलेसम्म केही बताएको छैन । 

तर प्रहरीले नरेशलाई रिहाइ पनि नगर्नुले घटनामा नरेश पनि मतियारका रूपमा थिए कि भन्ने आशङ्का रहेको एक स्थानीयले रातोपाटीलाई बताए । ती स्थानीयले भने, ‘नरेशलाई पक्रेको ५ दिन भयो, तर अझै पुलिसले छाडेको छैन । केही प्रमाण पाएर पो हो कि ?’

लोकबहादुरमाथि पनि केरकार गरिरहेको प्रहरीले लोकबहादुरकै बयानका आधारमा थप ४ जनामाथि अनुसन्धान गरिरहेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार तेजबहादुरको परिवारकै हत्या हुँदै गर्दा देखेर पनि प्रहरीलाई खबर नगरेको र नबताएको भन्दै उनीहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो । 

तर सङ्खुवासभाका डिएसपी सुवेदी भने हालसम्म करिब ५० जनासँग सोधपुछ भएको र अहिले सोधपुछ गरिएका व्यक्ति पनि उनीहरु मध्येकै रहेको भन्दै सोधपुछ गर्नु सामान्य कुरा रहेको बताए । उनीहरूलाई नियन्त्रणमा भने लिइएको छैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप