बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माधव नेपालसहित १४ सांसदको पद जोगियो

मन्त्रिपरिषद् विस्तारबारे शीर्ष नेताबीच छलफल
आइतबार, १३ भदौ २०७८, २० : ३६
आइतबार, १३ भदौ २०७८

आज २०७८ भदौ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन, करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी पक्राउ, बाढीपहिरोको कहर कायमै, काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी, प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर, लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी, मन्त्रिपरिषद् विस्तारबारे शीर्ष नेताबीच छलफल लगायत छन् ।
 १. माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, कारवाही गरिरहन नपर्ने संसद सचिवालयको प्रष्टोक्ति
एमालेले कारवाही गरेको माधवकुमार नेपालसहित ११ सांसद माथिको अन्योल समाप्त भएको छ । आइतबार संसद सचिवालयले उनीहरुलाई कारवाही गरिरहन नपर्ने प्रस्ट पारेको हो । निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेका कारण उनीहरुमाथि कारवाही गरिरहन नपर्ने संसद सचिवालयको भनाइ छ । यसैबीच निर्वाचन आयोगले नेकपा एमाले र जसपा नेपालका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहेमा यही भदौ २२ गते अपराह्न ५ बजेसम्म निर्वाचन कार्यालयमा सनाखत गरिसक्न म्याद दिएको छ । 

२. माधवकुमार नेपाल बने नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता 
नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार सो पार्टीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा नरहेको प्रस्ट पारे । उनले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल हुनका साथै अहिले पार्टी विभाजन गर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।

३. करिब ९ करोड रुपैयाँ बराबरको कोकिन सहित तीन विदेशी पक्राउ
प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिक छन् ।

४. काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरुमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी देखिएको छ । सभापति शेरबहादुर देउवादेखि लिएर सभापति पदमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि तथा युवा नेता गगन थापा, विश्वप्रकाश शर्मासम्मले हिन्दु सेन्टिमेन्ट बटुल्न खोजेको देखिन्छ । 

५. बाढीपहिरोको कहर कायमै
देशका विभिन्न भागमा बाढीपहिरोले जनजीवन प्रभावित बनेको छ । आइतबार पनि देशका विभिन्न भागमा बाढी र पहिरोको कहर कायमै रहेको हो । पहिरोले विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बाढी प्रभावित पश्चिम नवलपरासीको विभिन्न क्षेत्र अवलोकन गरेका छन् ।

६. प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार अचानक विजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । जिम्मेवारी हेरफेर गरिएका दुवै मन्त्री मुख्यमन्त्रीकै दल जसपा नेपालका हुन् ।

७. लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी
लुम्बिनी प्रदेश मन्त्रालयको संख्या थप्ने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपालसहितका दलहरूको गठबन्धन सरकार बनेपछि भागवण्डा मिलाउन मन्त्रालयको संख्या थप्न थालिएको हो ।

८. मन्त्रिपरिषद विस्तारबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालबीच छलफल भएको हो । मन्त्रिपरिषद् विस्तारबारे सोमबार टुंगो लगाउने सहमति जुटेको बताइएको छ ।

९. आफ्नै नेतृत्वमा क्रान्तिकारी शक्ति निर्माण गर्ने माओवादीको यस्तो छ खाका
नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा क्रान्तिकारी शक्ति निर्माण गर्नेगरी खाका तयार पारेको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक र संगठनात्मक प्रस्तावमा पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारे खाका प्रस्तुत गरिएको छ । 

१०. कोरोना भाइरसबाट थप एक हजार ३८८ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप एक हजार ३८८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप