बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने काँग्रेसमा होडबाजी

विमलेन्द्र निधिको यूटर्न, गगन– विश्व धार्मिक लुक्समा
आइतबार, १३ भदौ २०७८, १६ : ५६
आइतबार, १३ भदौ २०७८

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको रौनकसँगै ‘धार्मास्त्र’ले स्थान पाउन थालेको छ । आगामी मंसिर ९–१३ मा हुने महाधिवेशनको तयारीमा जुटेका नेताहरुमा ‘हिन्दु सेन्टिमेन्ट’लाई ‘क्यास’ गर्ने होडबाजी शुरु भएको छ । सभापति तथा पदाधिकारीका दाबेदारहरुले पूजापाठ र महन्थ–पुजारीसँग फोटो सेसन गराउन थालेका छन् ।

काँग्रेसमा धर्मनिरपेक्षताको पक्षपाती मानिएका नेताहरु पनि ‘धार्मिक लुक्स’मा सार्वजनिक हुन थालेका छन् । यसमा पछिल्लो समय सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि अग्रपंक्तिमा देखिएका छन् ।

देउवाका लागि आरजुको सक्रियता

पछिल्लो समय देउवा दम्पतीले धार्मिक गतिविधि बढाएका छन् । देउवापत्नी आरजु राणाले असार दोस्रो साता जापानबाट फर्किँदा धार्मिक सन्देशसहित फोटो सर्वाजनिक गरेकी थिइन् । जसमा शेरबहादुर देउवा, आरजु राणा र छोरा जयवीरसिंह देउवा धार्मिक लुक्समा देखिएका थिए ।

साउन ५ गते  हरिशयनी एकादशीको अवसरमा आरजूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसी रोपेको फोटो सार्वजनिक भयो ।

साउन ६ गते भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)लाई बालुवाटार बोलाइएको थियो । त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रथम महिला आर्जू राणा देउवालगायले फोटोसेसन समेत गरेका थिए । भारतीय जनता पार्टीसँग निकट रहेका गिरीजीसँगको गरिएको फोटोसेन चर्चाको विषय बनेको थियो ।

त्यस्तै, भदौ ४ गते प्रधानमन्त्री र पत्नी आरजुले जीर्णोद्धार गरिएको कुम्भेश्वर मन्दिरमा पूजाअर्चना गरेको फोटो पनि भाइरल भएको थियो ।

नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई आरजुले भदौ ६ गते बालुवाटारमा रक्षाबन्धन बाधिँदिएकी थिइन् । हिन्दु धर्मअनुसार आरजुले चौथाइवालेलाई राखी बाँधिदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

काँग्रेस सभापतिमा दोहोरिने तयारीमा रहेका देउवाका लागि हिन्दुवादी माहोल बनाउन आरजु सक्रिय छिन् । हिन्दुवादमा देउवा भन्दा आरजुको रुची बढी देखिन्छ । देउवा टिममा पदाधिकारी दाबेदारमध्ये अधिकांश हिन्दुवादी छन् ।

उपसभापतिका दाबेदार विजय गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीका दाबेदार प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउदहरु धर्मनिरपेक्षता खारेजीको पक्षमा रहेका छन् । उनीहरुले केही समय पहिला केन्द्रीय कमिटी बैठकमै धर्मनिरपेक्षताका विरोध गरेका थिए ।

विमलेन्द्र निधिको यूटर्न

सभापतिका दाबेदबार विमलेन्द्र निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दा दायाँ–बायाँ पुजारी–महन्थ राखेका थिए । भदौ ११ गते पण्डित नरेन्द्र दाहालबाट पूजापाठ गराएर उनले सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा जानकी मन्दिरका महन्थ तपेश्वर दास पनि सहभागी थिए । यस्तै पञ्चायक निर्णायक समितिका कृष्ण अधिकारी, ज्योतिषी डा. सन्तोष वशिष्ठजीलगायत धार्मिक आध्यात्मिक व्यक्ति आएर पूजामा सहभागी भएका थिए । बौद्ध धर्मका लामाले पनि २१ ताराको पूजा गरेका थिए ।

धार्मिक तामझामका साथ निधिले सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । काँग्रेसभित्र धर्म निरपेक्षताको ‘इमान्दार’ वकालतकर्ता निधिको हिन्दु धर्म अनुसारको धार्मिक लुक्सलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हिजोका दिनमा काँग्रेसका फोरमहरुमा उठ्ने हिन्दु राष्ट्रको विषयलाई निधिले ठाडै अस्वीकार गरेको पाइन्छ । उनी धर्मनिरपेक्षता खारेजीको कुरा गर्नेलाई प्रतिगामीको संज्ञा दिन्थे ।

हिन्दु राष्ट्रको बहसमाथि निषेधको नीति दिएका निधि यतिबेला यूटर्न भएको देखिन्छ । ७६ मंसिर–पुसमा सम्पन्न महासमिति बैठकमा करिब ५० प्रतिशत महासमिति सदस्यले हिन्दु राज्यको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसको सम्बोधन गर्ने आवज उठाउने नेता निधिको तारो बन्ने गरेको देखिन्थ्यो ।

काँग्रेसको केन्द्रीय समिति बैठकमा हिन्दुवादी नेता शंकर भण्डारी र निधिबीच पटक–पटक नोकझोक चल्ने गरेको थियो ।

०७६ मा काँग्रेसले गरेको प्रदेशस्तरीय प्रशिक्षण अन्तर्गत भक्तपुरमा भएको कार्यक्रम हिन्दु राष्ट्रका समर्थक कार्यकर्ताहरु निधिमाथि खनिएका थिए । तर, काँग्रेसको नेतृत्वमा पुग्ने उत्कट आकांक्षा बोकेका निधि यतिबेला भने फेरिएको संकेत देखिएको छ । महाधिवेशनमा सबै पक्षको भावना समेट्न निधिले बाध्यात्मकरुपमा धार्मास्त्र अगाडि सारेको कतिपयको बुझाइ छ ।

महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहसँग भेटघाटपछि निधिमा युटर्न आएको काँग्रेसमा चर्चा हुने गरेको छ । कोइरालाले धर्मनिरपेक्षता खारेजीको विषयलाई मुद्दा बनाएको देखिन्छ । उनी हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह गर्नुपर्ने पक्षमा छन् । महाधिवेशनमा नेतात्रयबीच समीकरणको प्रयास भइरहेको छ ।

काँग्रेसका एक नेताका अनुसार हिन्दु राष्ट्रको एजेण्डाप्रतिको उदारताले शशांकसँगको सहकार्यमा सहजता आउने निधिको बुझाइ छ । भारतको संस्थापन पक्षले आफूप्रति हेर्ने दृष्टिकोणमा बदलावका ल्याउनका लागि पनि निधिले धार्मास्त्रलाई आगाडि सारेको हुन सक्ने ती नेताको विश्लेषण छ । पछिल्लो समय भारतको बाक्लो आउजाउपछि निधिमा बदलाव आएको नेताहरु बताउँछन् ।

गगन– विश्वप्रकाशको धार्मिक लुक्स

नेपाली काँग्रेसमा महामन्त्रीका दाबेदार गगन थापा र विश्वप्रकाश शर्मा पछिल्लो समय धार्मिक लुक्समा देखिएका छन् ।

भदौ ४ मा गगन थापा नन्दिकेसरी मन्दिरमा गएर पूजा गरिरहेको भिडियो उनका सहयोगी सविन मुडभरीले टिकटकमा राखेका छन् । थापाले थाली लिएर पूजा गरेको देखिन्छ भने दुई जनाले घण्टी बजाइरहेको देख्न सकिन्छ ।

थापाले भिडियो अपलोड गरेको दुई दिनपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पशुपतिनाथको मन्दिर पुगेर पूजाआजा गरेको अर्को भिडियो सोसल मिडियामा आयो ।

भदौ ६ गते पशुपतिमा पुगेर पुजापाठसहित रक्षाबन्धन बाँधिरहेको भिडियो शर्माले आफ्नो ट्वीटर ह्यान्डलमार्फत सार्वजनिक गरे । भिडियोमा शर्मालाई ब्राह्मणले राखी बाँधिदिएको, जनै फेरेको र नरिवल फोडेको देखिन्छ । शर्मा सपरिवार धार्मिक लुक्समा देखिएका छन् ।

काँग्रेसको आगामी महाधिवेशनमा हिन्दु ‘फ्याक्टर’ ले बलियो प्रभाव पार्ने बुझेका नेताहरुले आफ्नो भाषणमा खुलेर हिन्दु राष्ट्र हुनुपर्छ भन्न नसके पनि हिन्दुवादी व्यवहार भने खुलेरै प्रकट गर्न थालेका छन् ।

बाध्यताका हिन्दुवादी !

आफूलाई धार्मिक स्वरुपमा देखाउनु काँग्रेस नेताहरुको राजनीतिक बाध्यता भएको राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट बताउँछन् । बाध्यताको कसीमा निधिले हिन्दु राष्ट्रको एजेण्डामा जान सकिने संकेत देखाएको उनको भनाइ छ । ‘वर्तमान व्यवस्थाप्रति विमलेन्द्र निधि प्रतिवद्ध हुनुहुन्थ्यो । तर, उम्मेदवारी शंखनाद गर्दै म पनि यतातिर ‘हिन्दु राष्ट्र’ जान सक्छु है भनेर संकेत दिनुभएको छ । अब यसले काँग्रेसभित्रका अरुलाई पनि यसले अपिल गर्छ होला ।’

यद्यपि निधिले सम्पर्क कार्यालय उद्घाटन समारोहमा धर्मबारे केही बोलेका छैनन् । तथापि उनको पछिल्लो गतिविधि हिन्दुवादी नेताका रुपमा प्रकट भएको देखिन्छ । ‘यसले शेरबहादुर देउवासँग असन्तुष्ट भएका र  हिन्दु एजेण्डा भएकाहरुलाई विमलेन्द्र निधिसँग जान सजिलो भयो,’ भट्ट भन्छन्, ‘पार्टीभित्र हिन्दुवादी महाधिवेशन प्रतिनिधिलाई ‘क्यास’ गर्न उनले हिन्दुवादी गतिविधि बढाएको देखिन्छ ।’

यो मुद्दा सभापतिका उम्मेदवारका लागि मात्र नभई काँग्रेसका लागि बाध्यता भएको उनको बुझाइ छ । ‘राजनीतिक एजेण्डा माओवादी वा अन्य पार्टीले हाइज्याक गरे । अहिले आएर केपी ओली सबै एजेण्डा हाइज्याक गर्न खोज्दैछन्,’ भट्टले भने, ‘तर धर्मनिरपेक्षता खारेजीका लागि होइन, राजनीतिक एजेण्डामा लागि मात्र यो कुरा अगाडि आउँछ । खारेज गरिए सदाका लागि सकियो । त्यसैले यसलाई एजेण्डा बनाएर राजनीति गर्ने प्रयास भइरहेको छ ।’

नेपालका  अधिकांश राजनीतिक दलले हिन्दुको मुद्दा उठाएकाले काँग्रेस नेताहरुले पनि यसतर्फ गतिविधि बढाएको उनको बुझाइ छ । ‘क्षणिक फाइदाका लागि हिन्दुत्वको विषय सबै राजनीतिक दलले उठाइरहेको अवस्था छ । विशेष गरी केपी ओलीले हिन्दुत्वको कुरा उठाउन खोजेपछि काँग्रेसमा हामीले पनि उठाउनुपर्छ भन्ने लागेको छ,’ भट्ट भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप