शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

संसद सचिवालयले भन्यो–  माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन

आइतबार, १३ भदौ २०७८, १७ : ५४
आइतबार, १३ भदौ २०७८

नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ ।

संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा  एमालेले पठाएको पत्रबमोजिम कारवाही गर्नुपर्ने अवस्था रहेन ।’

माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।

यही क्रम संसद सचिवालयले उनीहरु एमालेकै सांसद रहेको र एमालेले पठाएको पत्र विचाराधीन अवस्थामा रहेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेपछि त्यही आधारमा आयोगले सनाखत गरेर माधव नेपाल पक्षलाई नयाँ दलको मान्यता दिएको थियो ।

नेकपा एमालेले माधवकुमार नेपालसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, कलिला खातुन, सरला यादव,  कृष्णलाल महर्जन, मेटमणि चौधरी र भवानी खापुङलाई कारवाही गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो  । तर, नेपाल समूहले दलको मान्यता पाइसकेकाे भन्दै संसद सचिवालयले १४ सांसदमाथि अब कारवाही गर्नुपर्ने अवस्था नआएको निर्णय गरेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप