आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

७३.२७ प्रतिशतले घटे हवाई यात्रु

आइतबार, १३ भदौ २०७८, १२ : ४०
आइतबार, १३ भदौ २०७८

अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार गत सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ कुल ४१ लाख ३८ हजार ५६३ जनाले हवाई यात्रा गरेकोमा सन् २०२० मा यस्तो संख्या अधिकतम ७३.२७ प्रतिशतले घट्न गई ११ लाख ५ हजार ९२९ मा झरेको हो ।

यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१,८८,४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घट्न गई १२, ९२, ५२१ कायम हुन पुगेको क्यानले जनाएको छ ।  नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष समेत घोषणा गरेकोमा उक्त वर्ष पर्यटन बढ्न गई हवाई यात्रुको चहलपहलमा उल्लेखनीय बृद्धि हुने अपेक्षा गरिएकोमा कोभिड १९ का महामारीको कारण हवाई तथा पर्यटन क्षेत्र प्रभावित हुन पुगेको प्राधिकरणले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टुबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान प्रारम्भ गरेको छ ।

नेपालमा नियमित हवाई सेवामा अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा वायुसेवा, आन्तरिक उडान तर्फ ९ वटा वायुसेवा र १० वटा हेलिकप्टर कम्पनी सञ्चालनरत छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले कोभिड १९ को कारण एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ७४ प्रतिशत र आन्तरिक उडानमा ५० प्रतिशत हवाई यात्रु घटेको जनाएको छ ।  त्यस्तै सन् २०१९ को तुलनामा सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा ६७–७५ प्रतिशतसम्म र आन्तरिक उडानमा २०–३० प्रतिशत सम्म हवाई यात्रु घट्न सक्ने प्रक्षेपण गरेको छ । 

कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत्र ११, २०७६ (मार्च २४, २०२०) देखि लकडाउन गरेको र २०७७ भाद्र १६ (सेप्टेम्बर १, २०२०) देखि सिमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिएको थियो ।

त्यस्तै कोभिड १९ को दोश्रो लहरको कारण निषेधाज्ञा जारी गरेको कारण मे ३, २०२१ देखि नियमित आन्तरिक उडान तथा ६ मे, २०२१ देखि अन्तर्राष्ट्रिय नियमित उडानमा रोक लगाइएको थियो भने स्थितिमा केही सुधार आएपछि १८ जेठ २०७८ (जुन १, २०२१) देखि सिमित अन्तर्राष्ट्रिय उडान र १७ असार २०७८ (जुलाई १, २०२१) देखि सिमित आन्तरिक उडान शुरु गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप