शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व भाषा क्याम्पसमा नेपाली सिक्ने आवरणमा तान्जानियन युवतीको ‘कोकिन तस्करी’ धन्दा

दुई वर्षदेखि नेपालमा बसेर कोकिन कारोबार, भारत भाग्न लाग्दा पक्राउ
आइतबार, १३ भदौ २०७८, १७ : ४१
आइतबार, १३ भदौ २०७८

लागु औषध नियन्त्रण ब्यूरोले २ किलो ९६६ ग्राम कोकिनसहित ३ जना विदेशीलाई पक्रेर सार्वजनिक गरेको छ । ब्यूरोले सार्वजनिक गरेका ३ मध्ये एक हुन्, तान्जानिया घर भएकी २६ वर्षीया गेच्र्युड लियोनार्द किमारो । अरु दुईजना छन्, भारत कर्नाटक घर भएका ३३ वर्षीय विजय सिंह र दक्षिण अफ्रिकाकी ३० वर्षीया सिर्ले गामा ।

भदौ ३ मा सिर्ले गामा केपटाउनबाट कतारको दोहा हुँदै काठमाडौं आइन् । त्यहाँबाट उनले २ किलो ९६६ ग्राम कोकिन लिएर आएकी थिइन्  । त्रिभुवन विमानस्थलबाट उनी कमलादीस्थित एउटा होटलमा पुगिन् । प्रहरीले उनलाई त्यही साँझ पक्रियो ।

सिर्लेको सम्पर्कमा थिइन्, गेच्र्युड लियोनार्द किमारो । गेच्र्युड दुई वर्षदेखि काठमाडौं बस्दै आएकी छिन् । पक्राउ परेपछि प्रहरीको निर्देशनमा सिर्लेले किमारोलाई कोकिन लिन बोलाइन् तर, उनले ‘अर्को मान्छे आउँछ’ भनिन् । यहीबीच कारोबारको जालो तोड्न लागु औषध नियन्त्रण ब्यूरोले ‘अपरेशन कोक–२’ नामक अन्डर कभर अपरेशन चलायो ।

गेच्र्युड पहिला कोकिनको पछाडि प्रहरी लागेको छकि छैन विश्वस्त हुन चाहन्थिन् । ब्यूरोकै योजनामा सिर्लेले किमारोलाई काठमाडौंको एउटा रेष्टुरेण्टमा भेट गराइयो जतिबेलासम्म सिर्ले पक्राउ परेको किमारोलाई पत्तो थिएन ।   ‘हामीले अन्डर कभर बसेर भेट गरायौँ’ लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले रातोपाटीसँग भने, ‘प्रहरी पछि लागेको छैन भन्नेमा विश्वस्त भएपछि  लियोनार्द किमारोले बल्ल भारतीय नागरिकलाई कोकिन लिन काठमाडौंमा बोलाइन् ।’

​भारतबाट कोकिन लिन आएका विजय सिंह भदौ ८ मा पक्राउ परेपछि भने किमारो भागिन् । ब्यूरोले उनलाई  भदौ ९ गते सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

गेच्र्युड लियोनार्द किमारो विद्यार्थी भिसामा दुई वर्षदेखि काठमाडौं छिन् । प्रहरीका अनुसार प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिक्ने आवरणमा बसेकी किमारो कोकिन कारोबारको ‘-याकेट’ चलाउने मुख्य आरोपी हुन् । उनी असनमा फ्ल्याटमा बस्छिन् ।

दुई वर्षदेखि कोकिनको काम गरेर उनी नेपाल बसिरहेको अनुसन्धानबाट देखिएको छ’ एसएसपी थापाले रातोपाटीसँग भने, ‘किमारोले नेपाललाई ट्रान्जिट बनाएर भारतमा कोकिन पैठारी गर्ने गरेको देखिन्छ, थप अनुसन्धान गर्दैछौं ।’

सिर्ले गामाको भूमिका कतारबाट नेपालसम्म कोकिन ल्याउने मात्रै देखिएको छ । नेपालमा बसेर भारतको सम्पर्क स्थापित गर्ने र त्यहाँसम्म पठाउने काम गेच्र्युडले गर्दै आएकी थिइन् । पक्राउ गरिएका ३ जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । कोकिन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप