शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : मुख्यमन्त्री राउतले अचानक किन हेरफेर गरे दुई मन्त्रीको जिम्मेवारी ?

आइतबार, १३ भदौ २०७८, १७ : २१
आइतबार, १३ भदौ २०७८

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार अचानक विजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । जिम्मेवारी हेरफेर गरिएका दुवै मन्त्री मुख्यमन्त्रीकै दल जसपा नेपालका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री राउत र विजय यादवबीच राम्रो तालमेल थिएन । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर पनि यादवको भूमिका मुख्यमन्त्री राउतलाई असफल तुल्याउने र मुख्यमन्त्रीकै अग्रसरतमा भएका कतिपय योजनामा समेत समयमा बजेट निकासा नगर्ने जस्ता गतिविधिमा केन्द्रित रहेको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य तथा अर्थ विभाग प्रमुखसमेत रहेका यादव प्रदेश २ मा मुख्यमन्त्रीका दाबेदार थिए । प्रदेशसभा निर्वाचनलगत्तै तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच सत्ता सहकार्य हुने भएपछि पार्टी नेतृत्वले लालबाबु राउतलाई संसदीय दलको नेता बनायो । तत्कालीन समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नै राउतलाई दुई वर्षका लागि भन्दै मुख्यमन्त्री बनाउन भूमिका निर्वाह गरेपछि विजय यादव मुख्यमन्त्रीको दाबी छाडेर मन्त्रीका रुपमा सरकारमा सामेल भए । तर दुई वर्ष बित्दासमेत आफू मुख्यमन्त्री हुन नपाएपछि अर्थ मन्त्रालयबाट यादवले प्रदेश सरकारलाई ठुलो असहयोग गर्दै आएको स्रोत बताउँछ ।

‘दुई वर्षसम्म राम्रैसँग सरकार चल्यो । दुई वर्षपछि विजय यादवलाई मुख्यमन्त्री नबनाएपछि विवाद सुरु भएको थियो,’ मुख्यमन्त्री निकट स्रोत भन्छ, ‘विजय यादवले मुख्यमन्त्री राउतलाई असहयोग गर्न थाले । अर्थमन्त्रीको नाताले मुख्यमन्त्री राउतलाई जस्तो सहयोग हुनुपर्ने हो, त्यस्तो सहयोग प्राप्त भइरहेको थिएन ।’

जसपा निकट स्रोतका अनुसार यो विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँग धेरैपटक विजय यादवले ध्यानाकर्षण गराएका थिए । तर, विजय यादवले पार्टी अध्यक्ष यादवबाट आश्वासनमात्र पाउँदै आएको बताइन्छ । आश्वासनमै तीन वर्ष बितिसकेको अवस्थामा उनी अध्यक्ष यादवको आश्वासनप्रति पनि विश्वस्त हुन नसकेर मुख्यमन्त्री राउतलाई सरकार चलाउन असहयोग गर्दै आएको स्रोतको भनाइ छ ।

पछिल्लो समय मुख्यमन्त्री राउत र मन्त्री विजय यादवबीच बोलचालसमेत बन्द थियो । प्रदेश २ सरकारका एकजना मन्त्रीले भने, ‘मुख्यमन्त्री राउत र अर्थमन्त्रीबीचको विवादले सरकार राम्रोसँग सञ्चालन हुन सकिरहेको थिएन, मुख्यमन्त्री राउतले केही राम्रो गर्न खोज्दा अर्थ मन्त्रालयबाट अवरोध हुने गर्थ्यो, यसले गर्दा सरकार नै कमजोर भइरहेको थियो भने हामीलाई पनि असर पर्न थालेको थियो ।’

पार्टी एकतापछि मुख्यमन्त्री हुन विजय यादवको जोडबल

गत वर्ष वैशाखमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राजपा नेपालबीच एकता भएर जसपा नेपाल गठन भएपछि विजय यादवले सरकारको नेतृत्व परिवर्तनका लागि निकै जोडबल गरेका थिए । तर समाजवादी पार्टीको धारबाट विजय यादवले साथ पाएनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले फेरि पनि विजय यादवलाई थामथुम पारेर लालबाबु राउतकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने प्रवन्ध मिलाए ।

जसपामा आन्तरिक विवाद सुरु हुँदा पार्टीका प्रदेशसभा सदस्यको बहुमतबाट लालबाबु राउतलाई पुनः संसदीय दलको नेता बनाएर उनकै नेतृत्वको सरकारलाई निरन्तरता दिइयो । त्यो बेलासमेत उपेन्द्र यादवले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग नगरेको भन्दै विजय यादव थप असन्तुष्ट भएका थिए ।

त्यसपछि मुख्यमन्त्री राउत र विजय यादवबीच झन् दुरी बढ्यो । मुख्यमन्त्री राउतले बजेटका लागि दिएका थुप्रै शीर्षकलाई विजय यादवले कटौती गरेका थिए । यहाँसम्म कि, सातवटै प्रदेशमध्ये अहिले प्रदेश २ सरकारको बेरुजु डरलाग्दो अवस्थामा पुगेको छ । जसले गर्दा प्रदेश सरकार नै बदनाम हुन थालेको छ । बेथिति बढ्दै गएपछि बाध्य भएर मुख्यमन्त्री राउतले अर्थमन्त्री परिवर्तन गरेको स्रोतको दाबी छ ।

भदौ ११ गते जसपाले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सामेल हुन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए । मुख्यमन्त्री राउतले त्यही दिन आफ्नो निवासमा अध्यक्ष यादवलाई खाना खानेगरी बोलाएर प्रदेश सरकारमा बढेको बेथिति र विजय यादवको भूमिकाबारे विस्तृतमा आफ्ना कुरा राखेका थिए । स्रोतका अनुसार प्रदेश सरकार असफल हुनुमा अर्थमन्त्री मुख्य जिम्मेवार रहेको उनको भनाइ थियो ।

स्रोतका अनुसार मुख्यमन्त्री राउतले या त आफूलाई मुख्यमन्त्री पदबाट हटाउन, या विजय यादवलाई अर्थमन्त्री पदबाट हटाउन पार्टी अध्यक्ष यादवसमक्ष प्रस्ताव गरेका थिए । अध्यक्ष यादवले भर्खरै पार्टी विभाजन भएकाले पनि मुख्यमन्त्री फेरबदल गर्दा राम्रो सन्देश नजाने भन्दै अर्थमन्त्री परिवर्तनका लागि सकारात्मक संकेत दिएपछि नै मुख्यमन्त्रीले दुई मन्त्रीको विभाग परिवर्तन गराएको स्रोतले जानकारी दियो ।

अर्थमन्त्रीको जिम्मेवारीबाट हटाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएकोमा विजय यादव असन्तुष्ट देखिएका छन् । उनले नयाँ भूमिका स्वीकार गर्ने कि नगर्ने भन्नेबारे आफूले सोचिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप