शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गठबन्धन भत्काउने एमालेको दाउ, नयाँ गठबन्धनको गृहकार्य

जसपा विभाजनतिर, के गर्लान् बाबुराम ?
बिहीबार, १६ असार २०७९, २० : ५८
बिहीबार, १६ असार २०७९

आज मिति २०७९ साल असार महिनाको १६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. गठबन्धन भत्काउने एमालेको दाउ

बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल चलिरहँदा नेकपा एमाले सत्ता गठबन्धन नै भत्काउने रणनीतिमा लागेको छ।  एमालेले गठबन्धन भत्किएर नयाँ सरकार बन्ने अवस्था आए विश्वासको मत दिने बताएको हो । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले रातोपाटीसँग भने ।

२. नयाँ गठबन्धनको तयारी

आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन कायम रहे नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टी मिलेर अर्को गठबन्धन बनाउने तयारी भइरहेको छ । लोसपाले पहिलो प्राथमिकतामा काँग्रेस, जसपासहितको लोकतान्त्रिक गठबन्धनलाई राखेको छ । त्यसका लागि सो पार्टीले आवश्यक प्रयास पनि गरिरहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर सत्तारुढ गठबन्धन नटुट्ने सम्भावना देखेपछि लोसपाले अर्को गठबन्धन बनाउने गृहकार्य थालेको लोसपा सम्बद्ध एक नेताले बताए ।

​३. अमेरिकामा प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । असार १३ देखि अमेरिकाको औपचारिक भ्रमणमा निस्केका शर्माले असार १५ मा वासिङ्गटन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण गरे । लेबनान र सिरियामा नेपाली शान्ति सैनिकले खेलेको भूमिका अवलोकन गरेर शर्मा अमेरिका पुगेका हुन् । उनी अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा अमेरिका भ्रमणमा गएका हुन् । नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणलाई ‘सद्भावना भ्रमण’ भनेको छ ।

​४. जसपा विभाजनतिर

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनतिर अघि बढेको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच आ–आफ्नो बाटोतिर लाग्ने सहमति जुटेको बताइएको छ । यही अनुसार जसपा अघि बढे उपेन्द्र यादवको पार्टी थप क्षयीकरण हुने देखिएको छ भने बाबुरामको आगामी राजनीतिक यात्रा कस्तो होला भन्ने चासो पनि बढेको छ । केही पहिले जसपाबाटै लोसपा पनि फुटेको थियो ।

​५. भोटिङ मेसिनबारे आयोग

निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोगका सन्दर्भमा आवश्यक निर्णयका लागि फाइल मन्त्रिपरिषद्मा पठाएको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएसँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषद्मा पठाएको हो ।

 

​६. रामचन्द्र पौडेलको गम्भीर कुरा

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम पनि व्यापारीको हातमा सुम्पिने तयारी गरिरहेको आरोप लगाएका छन् । उनले यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्न चाहेको पनि बताए ।

६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरुले अघि ल्याउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

७. वामदेवले थाले छलफल

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् । उनले कम्युनिस्ट एकताको पहल स्वरुप उक्त छलफल गरेका हुन् ।

 

​८. नेप्सेमा सुधार

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ७५ अंक माथिको वृद्धि भएको छ । यस दिन परिसूचक ७४.९३ अंकले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको हो । केहीदिन यता निरन्तर उकालो लाग्न थालेको नेप्सेमा अघिल्लो दिन पनि ४१ अंकको सुधार भएको थियो ।

 

​९. भारतीय फोटो पत्रकार गए जेल

खोटा मुद्रा कसुरमा भारतीय फोटोग्राफर दुर्लभरोय चौधरीलाई १ वर्ष कैद सजाय सुनाइएको छ । झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले चौधरीलाई एक वर्ष कैद सजाय सुनाएका हुन् । गत मंसिर महिनादेखि कारागार कार्यालय झापामा बन्दी जीवन बिताइरहेका भारतीय फोटोग्राफर चौधरीलाई झापा जिल्ला अदालतले खोटा मुद्रा बोकेर हिँडेको कसुरमा एक वर्षको कैद सजाय सुनाएको हो । अदालतले एक वर्षको कैद सजायसँगै १५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत गरेको छ ।

 

​१०. यो पनि...

बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्ण पाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो । 

 

​नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवनमा शितल निवासमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  एक समारोहमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 

 

​नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । यसैबीच आज शेखर कोइराला पक्षको रणनीतिक बैठक बसेको छ ।

 

​पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६९८ जनामा गरिएको नमूना परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

​नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाहिरी हस्तक्षेप बढेको बताएका छन् । 

 

अखिल नेपाल फुटबल संघका महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघको कंग्रेसमा सहभागी हुने भएको छ ।

 

​थप समाचार

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप