बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य संख्या ९.६७ करोड पुग्यो, ५३.६ प्रतिशतसँग कलेज डिग्री

बिहीबार, १६ असार २०७९, १८ : ४१
बिहीबार, १६ असार २०७९

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सदस्य संख्या बढेर ९.६७ करोड पुगेको पार्टीका शीर्ष अधिकारीले बताएका छन् । सन् २०२१ को अन्तिमसम्ममा पार्टीको सदस्य संख्या ९ करोड ६७ लाख पुगेको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सांगठनिक विभागले जनाएको छ । 

शुक्रबार पार्टीको स्थापना दिवसमा विभागका प्रमुखले पार्टी सदस्यसम्बन्धी तथ्यांकहरु सार्वजनिक गरेका थिए । सन् २०१२ मा सी जिनपिङ शक्तिमा आएदेखि पार्टीले आफ्नो विस्तारलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यस यता पार्टीको सदस्यता प्रक्रियामा कडा बनाइएको छ । 

यसै प्रयासका कारण पछिल्लो दस वर्षको अवधिमा पार्टीको सदस्यको संख्या १५.९ प्रतिशतले मात्र बढेको पाइएको छ । पार्टीले सन् १९८० को दशकदेखि युवा तथा शिक्षित सदस्यता वृद्धिमा जोड दिएको परिणाम देखिन थालेको छ । अहिले आधाभन्दा बढि पार्टी सदस्य अर्थात ५३.२ प्रतिशतसँग कलेज डिग्री वा सोभन्दा माथि अध्ययन प्रमाणपत्र रहेको छ । 
त्यस्तै कम्युनिष्ट पार्टीका कुल सदस्यमध्ये ४० वर्ष मुनिका सदस्यको संख्या ३५ प्रतिशत माथि पुगिसकेको छ । 

पार्टीको अनुशासन निगरानी केन्द्रीय आयोगका शिर्ष अधिकारी वाङ जियानसिनले जनताको दैनिक जीवनसँग जोडिएका क्षेत्रमा भ्रष्टाचारविरुद्धको लडाई तिव्र बनाइएको बताए । 
भ्रष्टाचारविरुद्धको संघर्ष अन्तरगत सन् २०१७ को अन्तिमदेखि यो वर्ष अप्रिलसम्म पार्टीले शिक्षा, स्वास्थ्य, पेन्सन, समाजिक सुरक्षा, पर्यावरण संरक्षण, उत्पादन सुरक्षा र खाद्यान्न तथा औषधी सुरक्षा क्षेत्रका ४ लाख ५६ हजार सदस्यलाई दक्षिण गरेको जियानसिङले बताए । 

चिनियाँ कम्युनिष्ट पार्टीले प्रारम्भिक वर्षमा आफ्नो आधार मान्ने गरेको निम्न श्रमिक र कृषि श्रमिक सदस्यको हिस्सेदारी घट्दै गएको देखिएको छ । यो वर्ष कम्युनिष्ट सदस्यमा सो वर्गको हिस्सा घटेर ३३.६ प्रतिशत पुगेको पाइएको छ । यद्यपि पार्टीको सांगठनिक विभागले अझै पनि श्रमिक र कृषि श्रमिक सदस्य पार्टीको प्रमुख हिस्सा भएको भनेको छ । 

चिनियाँ राजनीतिमा महिलाको न्युन उपस्थिति सत्तारुढ दलको सदस्यताको संख्यामा पनि झल्किन्छ । समाजको आधा भाग महिला रहे पनि पार्टी सदस्यको एक तिहाई मात्र महिला रहेको पाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप