शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावमा विद्युतीय मेसिन प्रयोगबारे निर्णयका लागि आयोगले पठायो फाइल

बिहीबार, १६ असार २०७९, १८ : २१
बिहीबार, १६ असार २०७९

निर्वाचन आयोगले चुनावमा विद्युतीय मेसिन प्रयोगका सन्दर्भमा आवश्यक निर्णयका लागि फाइल मन्त्रिपरिषद्मा पठाएको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएसँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषद्मा पठाएको हो । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन सम्वन्धी कानूनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै त्यसलाई आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद्‍मा पठाइएको बताए । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था नभए श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन पनि आयोगले आग्रह गरेको छ । 

विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति बनाइएको थियो । प्रतिवेदनमा ‘अविलम्ब विश्वविद्यालयका प्राध्यापकहरू, राष्ट्रसेवक सरकारी कर्मचारी एवम् स्वतन्त्र विज्ञ सम्मिलित प्राविधिक समिति गठन गरी सो समितिको सिफारिसको आधारमा विद्युतीय मतदान मेसिनको स्पेशिफिकेशन, मेसिनको गुणस्तर चेकजाँच, विश्वसनीयता परीक्षण गर्ने तथा मेसिन उपर सार्वजनिक रुपमा उठान हुन सक्ने जिज्ञासाहरूको समाधान, भविष्यमा बृहत्तर रुपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्नुपर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरुको अनुभवबाट सिकेर उन्नत एवम् विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन व्यवस्थापनमा गर्ने जस्ता’ विषयहरु समावेश भएको अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आयोगले संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा मेसिनको  प्रयोग गरेको थियो । साथै ०७१ सालको संविधानसभा उपनिर्वाचनमा बर्दिया,  बागलुङ,  काठमाडौं,  कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा पनि मेसिनको सफलतापूर्वक प्रयोग गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप