शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिको पाँचौँ घुम्तीमा बाबुराम

बिहीबार, १६ असार २०७९, १० : ३९
बिहीबार, १६ असार २०७९

२०७० साल फागुन २५ गते । तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लेख नेपाल साप्ताहिकमा प्रकाशित गरे । उनको लेखलाई लिएर बौद्धिक तप्कामा निक्कै ठुलो बहस र तरङ्ग सिर्जना भयो । तर, संविधान निर्माणको रस्साकस्सीमा यो बहस त्यतिकै ओझेलमा पर्‍यो ।

लामो विवादपछि २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भयो । यसबारे असन्तुष्ट रहेका बाबुरामले केही दिनपछि असोज ९ गते नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरे । संविधानमा आफ्ना असन्तुष्टिबारे उनले सो पत्रकार सम्मेलन आयोजना गरेको धेरैको अनुमान थियो । तर, त्यहाँ पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेर उनले सबैलाई सर्प्राइज दिए । 

माओवादी पार्टीसँगै कम्युनिस्ट विचार नै त्यागेको घोषणा गरेपछि कुनै बेला सेलाइसकेको नयाँ शक्ति निर्माणको बहस फेरि ब्युँतियो । झण्डै वर्ष दिनको बहसपछि बाबुरामले २०७३ साल जेठ ३० गते काठमाडौँको दशरथ रंगाशालामा भव्य कार्यक्रम आयोजना गरेर ‘नयाँ शक्ति’ को घोषणा गरे । नयाँ शक्ति पार्टी घोषणा गरेपछि भने भट्टराईको यात्रा सोचे अनुरूप अघि बढ्न सकेन । फैलँदै जानुपर्ने पार्टी उल्टो खुम्चिँदै गयो । उनलाई साथ दिएका पूर्व माओवादी नेताहरू समेत पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किए । पार्टी निर्माणमा भट्टराई दिनरात नखटिएका पनि होइनन् तर २०७४ सालको स्थानीय तहको चुनावमा निराशाजनक नतिजा हात लाग्यो । आफूले सोचे जस्तो पार्टी निर्माण नभएपछि र स्थानीय चुनावमा निराशाजनक नतिजा आएपछि भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर २०७६ साल वैशाख २३ गते समाजवादी पार्टी निर्माण गरे । पार्टीको केन्द्रीय भूमिका उपेन्द्र यादवलाई राखेर आफू दोस्रो तहको नेतृत्व बस्न तयार भए । 

समाजवादी पार्टी बनाएको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेस केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी(जसपा) नेपाल निर्माण गरियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर मधेस केन्द्रित दल फुटाउन खोजेको भन्दै समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)ले रातारात एकता गरेर जसपा बनाए । तर यो एकता पनि लामो समय टिक्न सकेन । अहिले यो दलबाट पूर्व राजपा छुट्टिएर लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) नेपाल गठन भएको छ । बाबुराम जसपामा नै संघीय परिषद् अध्यक्षको हैसियतमा रहेका छन् ।

०००

बाबुरामले माओवादी छोडेपछि नयाँ शक्ति नेपाल पार्टीबाट समाजवादी पार्टी नेपाल हुँदै जसपासम्म पुग्दा चार घुम्ती पार गरिसकेका छन् । अब पाँचौ घुम्तीको रूपमा बाबुराम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा जाने गृहकार्य सुरु गरिसकेको लोसपाकै प्रभावशाली नेताहरू बताउँछन् । 

‘अब बाबुराम जी हाम्रो नेता हुनुहुन्छ । पार्टीमा दुई अध्यक्ष भएर के फरक पर्छ ? मिलेर चलाउनुहुन्छ । बहुमत पुग्न उहाँलाई अब जम्मा दुई सांसद अपुग छ । त्यो पनि बिस्तारै पुग्छ ।  ढिलो चाँडो जसपा छोड्नु हुन्छ,’ लोसपाका ती प्रभावशाली नेताले रातोपाटीसँग खुलाए । 

जसपामा बढ्दै गएको तिक्तताले विस्फोटको रूप नलिँदै ती नेताले आत्मविश्वासका साथ बाबुराम आफ्नो पार्टीमा आउने विश्वास व्यक्त गरे । उनको भाव बाबुराम लोसपा आउनेमा भन्दा बढी खुसी जसपा अध्यक्ष उपेन्द्र यादव कमजोर हुने भएकोमा बढी झल्किन्थ्यो । तत्कालीन जसपामा हुँदा उपेन्द्रबाट निकालिएका ती नेताले बाबुरामलाई आफ्नो पार्टीमा ल्याए उपेन्द्र थप कमजोर हुने आशय व्यक्त गरे । देशको पूर्व प्रधानमन्त्री भइसकेका बाबुरामलाई लोसपामा ल्याउँदा राष्ट्रिय पार्टीको आकार दिन सकिन्छ कि भन्नेमा आशावादी देखिएका छन् । 

तर, बाबुराम निकट एक नेताले भने पार्टी विभाजन गरेर लोसपामा नजाने दाबी गरे । ‘बाबुराम जी जसपामा नबस्ने सङ्केत देखियो । तर उहाँ लोसपा पनि जानुहुन्न,’ ती नेताले भने, ‘आफ्नै नेतृत्वमा पार्टी बनाउने तयारी गर्नुभएको छ ।  मङ्सिरमा चुनाव हुँदैछ कति ठुलो पार्टी बन्छ थाहा छैन ।’  

स्थानीय तह चुनावअघि एमालेसँग एकताका विषयमा छलफल समेत चलाएको एक एमाले नेताले बताए । बाबुरामलाई एमालेसँग नजिक्याउने अवस्था गत वैशाख ३० गतेको स्थानीय चुनावले पुर्‍याएको आँकलन गरिएको छ । पाँच दलीय गठबन्धन बनाएर स्थानीय चुनावमा गए पनि बाबुरामको गृह पालिका पालुङ्टारमा काँग्रेस र माओवादी केन्द्रले साथ नदिएपछि एमालेसँग सहकार्य गर्न पुगेका थिए । अन्त्यमा माओवादीले जितेपछि बाबुराम एमालेसँग दीर्घकालिन रूपमा सहकार्य गर्न पुगेको बताइएको छ । तर एमालेमा बाबुरामको पोजिसन र भूमिका स्पष्ट नभएपछि सो कुरा रोकिएको ती नेताको दाबी छ । एमालेसँग कुरा नमिलेपछि नै बाबुराम लोसपासँग सहकार्य गर्ने अवस्थामा पुगेको बताइएको छ । तर, लोसपामा गए पनि आफ्नो जनाधारमा खासै प्रभाव नपर्ने भएकाले उनीबाट लोसपाले खास्सै लाभ लिने अवस्था छैन । पार्टीमा पूर्व प्रधानमन्त्रीसमेत भएका व्यक्ति छन् भन्ने सन्देश पार्टी बाहिर दिन सक्ने अवस्था भने रहन्छ ।

उपेन्द्र–बाबुरामबीच पानी बाराबार 

यतिबेला जसपामा उपेन्द्र यादवसँग बाबुरामको पानी बारारबारको अवस्था छ । त्यही भएर जसपामा बाबुरामलाई बस्न सक्ने अवस्था छैन । पार्टीका हरेक निर्णयमा उपेन्द्रले बाबुरामलाई क्रस गर्ने गरेका छन् ।  मन्त्री बनाउँदा होस् वा स्थानीय तहको टिकट दिँदा सबै निर्णयमा उपेन्द्र नै हाबी छन् । ‘जसपामा नियमित बैठक बस्न छोड्यो । पार्टीमा छलफल र  बहस हुन छोड्यो । सबै निर्णय उपेन्द्रजीले गर्नुहुन्छ । बाबुरामजी साक्षी मात्रै बस्ने अवस्था छ,’ बाबुरामनिकट एक नेताले भने, ‘बाबुराम र उपेन्द्रजीबीच राम्रोसँग कुराकानी समेत हुँदैन । पार्टी कसरी चल्छ ?’ 

पार्टीको निर्णयमा उपेन्द्रले एकलौटी गर्न थालेपछि स्थानीय तह निर्वाचनअघि उनी अल्पमतमा परेका थिए । यदि बाबुरामले अशोक राईको साथ लिएको भए उपेन्द्र पार्टी अध्यक्षबाट नै हट्ने अवस्थामा पुगेका थिए । त्यतिबेला उपेन्द्र कमजोर भएको मौका छोपेर बाबुरामले पार्टीमा समूहिक निर्णय हुनुपर्ने भन्दै तीन सदस्यीय सचिवालयमा छलफल गरेर सहमतिमा पुग्नु पर्ने भन्दै निर्णय मात्रै गराए । पार्टीको निर्णय भएको मसी सुक्न नपाउँदै स्थानीय तहको चुनावमा उपेन्द्रले आफू अनुकूलका व्यक्तिलाई टिकट दिएपछि विवाद चुलिँदै गएको छ । 

जसपा विवाद उत्कर्षमा पुगेपछि उपेन्द्र र बाबुराम एउटै पार्टीमा बस्ने अवस्था घर्किँदै गएको छ । तर बाबुरामले पार्टी नै विभाजन गर्ने भएपछि अशोक राईसहित मोहम्मद ईस्तयाक राई पक्षले समेत बाबुरामको साथ छोडेका छन् । जसले गर्दा उपेन्द्र पक्ष अहिले बहुमतमा छ । उता दल विभाजन सम्बन्धी ऐन निष्क्रिय भएकाले बाबुरामलाई पार्टी विभाजन गर्न पनि त्यति सजिलो छैन । त्यसैले बाबुरामले प्रधानमन्त्रीसँग दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सहज बनाउन आग्रह गर्ने गरेका छन् । 

‘बाबुराम र उपेन्द्रजी एउटै पार्टीमा बस्ने अवस्था छैन । प्रधानमन्त्रीज्यूलाई दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर खुकुलो बनाइ दिनुपर्‍यो भनेर आग्रह गरी राख्नुभएको छ,’ गठबन्धनमा सहभागी माओवादीका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले हुन्छ–हुन्छ भन्दै टारिरहनु भएको छ । यस्तै अवस्थामा बाबुराम जी पार्टी फुटाएर जाने अवस्था छैन ।’ जसपामा बाबुरामका लागि अहिले निल्नु न ओकल्नु जस्तै भएको छ । 

समाजवादी केन्द्रको नाम बाबुरामलाई प्रचण्डको रोक्ने योजना 

जसपाबाट बाबुराम निस्कने निश्चित भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समाजवादी केन्द्र बनाउने नाममा रोक्ने योजनामा छन् । बाबुराम अहिलेकै माओवादी केन्द्रमा नफर्किने देखेपछि प्रचण्ड समाजवादी केन्द्रबाट उनलाई जोड्ने प्रयासमा लागेका छन् । यही विषयमा प्रचण्डले बाबुरामसँग उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा निरन्तर भेट्दै आएका छन् ।

बाबुराम आफैले लामो समयदेखि समाजवादी केन्द्र बनाउनु पर्ने बहस र छलफल गरिरहेकाले त्यही नाममा जसपा र एकीकृत समाजवादीसहित कम्युनिस्ट घटकलाई जोड्न सकिन्छ कि भनेर प्रचण्ड निरन्तर लागिरहेका छन् । यो गर्न सकिए काँग्रेस र एमालेको विकल्पमा अर्को बलियो शक्ति बनाउन सकिन्छ कि भन्ने उनलाई लागेको छ । तर, प्रचण्ड र बाबुरामले एकले अर्कालाई राम्रोसँग बुझेकाले समाजवादी केन्द्र अहिले नै बन्न सक्ने अवस्था छैन । दुई नेताबीचको ‘इगो’ ले उनीहरुलाई एक ठाउँमा ल्याउने अवस्था नभएको माओवादी केन्द्रका नेताहरू नै बताउँछन् । ।

बाबुरामको राजनीतिक उतारचढाव

– राजु नेपालीबाट बाबुरामले २०३९ सालमा कम्युनिस्टको सदस्यता लिए । मोहनविक्रम सिंह नेतृत्वको पार्टीमा धेरै समय राजनीति गरे । 

– २०४८ सालमा मोहनविक्रम सिंह नेतृत्वको मशाल छोडेर एकता केन्द्र मशालमा जोडिए । 

– फागुन १ गते २०५२ सालमा जनयुद्धमा होमिए । 

– २०५५ सालमा माओवादी पार्टीको चौथो महाधिवेशनमा प्रचण्डसँग अन्तर्विरोध सुरु । 

– २०६२ सालमा रुकुमको लाभाङमा बसेको जेठमा बैठकले बाबुराम माथि कठोर कारबाही ।

– २०६२ असोजमा बसेको चुनाव बैठकले बाबुराम माथिको कारबाही फुकुवा लगतै १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रिया सुरु 

– २०६४ साल पहिलो संविधान सभा निर्वाचनमा अत्यधिक मत ल्याई गोरखाबाट निर्वाचित सांसद

– २०६५ साल प्रचण्ड नेतृत्वको सरकारमा सफल अर्थ मन्त्रीको रूपमा नेतृत्वमा 

– २०६७ सालमा माओवादीको पालुङटार बैठकमा बाबुरामद्वारा शान्ति र संविधान लाइनमा अडान

– ११ भदौ २०६८ साल प्रधानमन्त्री निर्वाचित भई कार्यभार सम्हाले 

– २०६९ सालमा माओवादीको हेटौडा महाधिवेशनमा उपाध्यक्ष पद त्याग गर्दै केन्द्रीय सदस्यमा मात्र बस्ने उद्घोष  

– फागुन २५ गते , ०७० मा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लामो लेख लेखेर बहस प्रारम्भ गरे 

– ३ असोज ०७२ मा संविधान जारी भए लगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पद त्याग ।

– ६ र ७ असोज, ०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्वमाओवादीको राष्ट्रिय भेला आह्वान 

– ३० जेठ ०७३ मा काठमाडौँको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा ।

– १७ असोज २०७४ सालमा तत्कालीन एमाले माओवादी सहित नयाँ शक्तिका बाबुराम भट्टराई तालमेल सहित एकता घोषणा कार्यक्रममा सहभागी लगत्तै प्रदेश प्रतिनिधि सभा निर्वाचनमा तालमेलमा भागवण्डा नमिले पछि काँग्रेससँग तालमेल गरी निर्वाचनमा सहभागी ।

– २३ वैशाख २०७६ साल संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता भई समाजवादी पार्टी नेपाल गठन ।

– १० वैशाख २०७७ साल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी पार्टी गठन ।

– २२ असार २०७८ साल जसपा विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप