शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिमै आ–आफ्नो बाटो लाग्न उपेन्द्र–बाबुरामबीच सहमति !

बिहीबार, १६ असार २०७९, १८ : २३
बिहीबार, १६ असार २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै बेला दुई नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् ।  बुधबार सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति बनेको हो । 

छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए ।  त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बतायो । 

भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर जसरी संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए, त्यसरी नै अलग हुने धारणा यादव समक्ष राखेका थिए । अध्यक्ष भट्टराईसँग कोको जाने भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।  त्यो कुरा बाबुरामले पनि यादवसँगको भेटमा विस्तृतमा खुलाएका छैनन् ।  

जसपाका कार्यकारिणी सदस्य गज्जाधर यादवले भट्टराईले सौहार्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहेको बताए । ‘बाबुरामजीले सौहर्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहनु भएको छ, यो कुरा उहाँले उपेन्द्र यादवजीसँग पनि राखि सक्नु भएको छ’, उनले भने, ‘उपेन्द्र यादवले पनि हुन्छ भनिसक्नु भएको छ, सायद बाबुरामजी त्यसको तयारीमा लाग्नु भएको छ ।’

भट्टराई पक्षका एक नेताले पनि भट्टराई उपेन्द्र यादवसँगै मिलेर पार्टीमा नबस्ने निश्चित भइसकेको बताए । ‘जसपामा उपेन्द्र यादवसँग नबस्ने लगभग निश्चित नै भइसकेको छ, त्यहाँबाट कसरी निस्किने भन्ने बारेमा छलफलहरु भइरहेको छ,’ ती नेताको भनाइ छ । 

बाबुराम भट्टराईले जसपाको राष्ट्रिय भेला बोलाएर अलग हुने सोच बनाएको बुझिएको छ ।  ती नेताले भने, ‘बाबुरामजीले पार्टीमा सबैलाई यथार्थ जानकारी गराएर अलग हुने सोच बनाउनु भएको छ हेरौं उहाँको तयारी कहाँसम्म जान्छ ।’ यद्यपि यादवसँग सहमति बनेपनि उनलाई सहजरुपमा बाहिरन भने गाह्रो छ । त्यसका लागि भट्टराईसँगको भेटमा जे भनेपनि पछि उपेन्द्र यादवले अवरोध खडा गर्न पनि सक्छन् ।  

हाल अध्यक्ष भट्टराईलाई कार्यकारिणी सदस्य महिन्द्रराय यादव, राजकिशोर यादवले पनि साथ दिइरहेका छन् । आ–आफ्नो बाटो लागेमा भट्टराईलाई साथ दिइरहेका महिन्द्रा, राजकिशोरलगायतले के गर्लान् भन्ने चासो पछि छ । 
यहीबीच यादवले मन्त्री हेरफेरबारे गर्ने निर्णयलाई पनि असन्तुष्ट पक्षले पर्खिएका छन् । मन्त्री हेरफेर भएमा असन्तुष्ट नेताहरुले बाबुरामलाई साथ दिने अवस्था बन्न सक्ने कतिपयको भनाइ छ । यही रणनीतिका साथ यादवको निर्णयको पर्खाइमा बाबुराम छन् । 

यता, यादवले बाबुराम अलग भएर गएपछि मात्र मन्त्री हेरफेर गर्ने सोच बनाएर बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप