बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलिया जानेको स्वास्थ्य परीक्षणमा एकाधिकार, चरम सास्ती खेप्दै विद्यार्थी

बिहीबार, १६ असार २०७९, १४ : ५७
बिहीबार, १६ असार २०७९

इटहरीका रमेश शर्मा (नाम परिवर्तन) मंगलबार दिउँसो  पौने २ बजे नर्भिक अस्पतालमा चिकित्सकसँग भेट्न जान दिनुहोस् भन्दै अस्पतालका सुरक्षागार्डसँग बारम्बार आग्रह गरिरहेका थिए । तर, गार्डले पालोअनुसार स्वास्थ्य परीक्षणका लागि मात्र जान सकिने भन्दै रोकिरहेका थिए ।  

अस्ट्रेलियामा कलेजमा कक्षा सुरु भइसकेकाले अनलाइनबाट कक्षा लिइरहेको शर्माले सुनाए । मेडिकल परीक्षण जुलाइको अन्यतिर  परेकाले अप्ठेरोमा परेको गुनासो गर्दै उनले भने, ‘मेडिकल चाँडो भएन भने बाहिर जाने पालो नोभेम्बरमा मात्रै आउँछ । एक्सटेन्सन डेट लिएर बसेको छु ।’ पासपोर्ट बनाएको ६ महिना कटेपछि भिसामा समस्या आउन सक्ने हुँदा समयमा मेडिकल नभए बैंकको थप ऋण तिर्न गाह्रो हुने उनको भनाइ छ ।

यस्तै, दुई दिनमा दुई घण्टा स्वास्थ्य परीक्षणका लागि मिति सार्न मौका दिएपनि  रिसेड्युल गर्ने धेरै भएकाले पालो पाउन गाह्रो भएको पाल्पाका विशाल राना (नाम परिवर्तन) ले सुनाए, ‘डेढ महिनापछि मेडिकल गराउने पालो परेको छ । गाउँतिर इन्टरनेटले राम्रोसँग काम नगर्दा रिसेड्युल गर्न समस्या हुन्छ, यता सहरकाले मेडिकल अघि गर्ने मिति पाइसक्छन् ।’ 

राना दुःखेसो पोख्छन्, ‘आईओएममा पुगेर समस्या समाधान हुन्छ कि भनेर गएको थिएँ, गेटबाट पनि पस्न दिएनन् । त्यसपछि नर्भिकमा आएको हुँ । डाक्टरलाई मेरो यो यो समस्या छ भनेर डकुमेन्ट देखाएपछि विश्वास गर्नुहुन्छ भनेर यसरी कुरेर बसेको हुँ । त्यही पनि भित्र जान दिँदैनन्, मैले चिनेको कोही पनि छैन ।’  

उनीसँगै मेडिकल गर्ने पालो पाएका उनका एक जना साथी   पहुँचका आधारमा मेडिकल गराइ सकेको सुनाए । उनी भन्छन्, ‘उता कजेलमा पढाइ सुरु भयो, ऋणको भारी बढ्दै छ । त्यसैले भनसुन गरेर स्वास्थ्य परीक्षण गराएँ ।’  

उता भिमसेनगोलाका अनिश मानन्धर (नाम परिवर्तन) पनि खुसी थिए । उनको स्वास्थ्य परीक्षण गराउने पालो पन्ध्र दिनपछि थियो । तर, उनलाई विदेश पठाउन सहयोग गर्ने कन्सल्टेन्सी र अस्पतालमा चिनजानको आधारमा स्वास्थ्य परीक्षण चाँडो गराउन पाएका थिए ।   

अस्टे«लियन एम्वेसीले स्वास्थ्य परीक्षणको जिम्मा आईओएम, नर्भिक अस्पताललाई दिँदा विद्यार्थीले परीक्षणको मिति सहजै पाउन सकेका छैनन् । अस्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण नर्भिक अनि इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को एकाधिकार हुँदा मिति पाउनै विद्यार्थीले सास्ती खेप्दै आएका छन् । 

सरकारी र निजी क्षेत्रमा सुविधासम्पन्न अस्पताल भएपनि अस्ट्रेलियन एम्वेसीले सीमित स्वास्थ्य संस्थालाई परीक्षणको  मान्यता दिएको छ । यी संस्थालाई मात्रै मान्यता दिँदा अस्ट्रेलिया जानेहरुले स्वास्थ्य परीक्षणका लागि आवश्कताको आधारमा मिति नपाउँदा दुःख पाएको विद्यार्थीहरूको गुनासो छ ।  

उता समस्या परेका विद्यार्थी तथा अन्य व्यक्तिको समस्या सम्बोधन गरिरहेको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनको भनाइ छ । ड्यूटी अवधि भन्दा धेरै खटिएर स्वास्थ्य परीक्षण गरिरहेको उनीहरुको भनाइ छ । सातामा सातै दिन कर्मचारी बढाएर सेवा दिएको आईओएमको जिकिर छ । 

के भन्छ स्वास्थ्य मन्त्रालय ?

नेपालबाट विदेश अध्ययन र रोजगारमा जानेहरूको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य संस्थाको छनौट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राका अनुसार अप्रवासी लैजाने राष्ट्रहरुले नै स्वास्थ्य संस्था छान्ने अधिकार हुन्छ । अस्ट्रेलियाले स्वास्थ्य परीक्षणका लागि आइओएम र नर्भिक अस्पताललाई मात्रै अनुमति दिएको छ । जसले गर्दा धेरै विद्यार्थीहरु स्वास्थ्य परीक्षणको मिति ढिला पाउँदा समस्या भएका गुनासो आइरहेको उनले सुनाइन् ।

अस्ट्रेलियाका राजदूतलाई पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाले अन्य स्वास्थ्य संस्थालाई मान्यता दिन आग्रह गरेको उनले सुनाइन् । ‘छलफलका क्रममा नेपालका लागि अस्ट्रेलियन राजदूतले यसबारे सेन्ट्रल अफिसमा कुरा  गर्छु भन्नु भएको थियो,’ प्रवक्ता डा. मिश्रा भन्छिन्, ‘उहाँले मैले तुरुन्तै निर्णय लिन मिल्दैन भन्नु भएको थियो ।’

स्वास्थ्य मन्त्रालयले आग्रह गरेपनि पनि स्वास्थ्य परीक्षण गर्ने अस्पतालको सङ्ख्या नबढाएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तथापि विदेशमा रोजगारी तथा अध्ययनका लागि जानेहरूको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई दिनुपर्ने उनको धारणा छ । स्वास्थ्य  मन्त्रालयसँग दक्ष चिकित्सक, उपकरण, भौतिक पूर्वाधार भएकाले मापदण्डका आधारमा सरकारी अस्पताललाई अनुमति दिएको खण्डमा सहज हुने उनको भनाइ छ ।

पछिल्लो समय अस्ट्रेलिया जाने विद्यार्थीको चाप बढेर पनि स्वास्थ्य परीक्षणका लागि चाँडै पालो पाउन समस्या भएको हुन सक्ने उनको अनुमान छ । यस्तै,  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले आफू मन्त्री हुनुभन्दा अगाडि नै अस्ट्रेलियामा अध्ययन, रोजगार र घुम्नका लागि जाने नेपालीले स्वास्थ्य परीक्षणको सन्दर्भमा समस्या रहेको सुन्दै आएको बताए । राज्यमन्त्री केसीले यस विषयमा सम्बन्धित निकायमा यथाशीघ्र ध्यानाकर्षण गराउने बताए ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन उच्च स्रोतका अनुसार आप्रवासी लैजाने राष्ट्रले मापदण्डको आधारमा  कम सङ्ख्यामा क्लिनिकहरूलाई छान्ने गर्छन् । सोहीअनुसार अस्टे«लियन एम्वेसीले पनि मापदण्डमा आधारित छनौट गर्ने अधिकार उनीहरूलाई नै हुने भएकाले सो छनौटमा इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन परेको हो ।

‘अस्ट्रेलियन सरकारले दुईवटा क्लिनिकले परीक्षणका लागि धान्न सकेन, थप क्लिनिकहरूलाई अनुमति दिनुपर्छ भनेर उसले नै निर्णय गर्ने हो, हामीले जतिसक्दो धेरै र राम्रो सेवा दिने हो ।’ उनले भने, ‘नर्भिक र आइओएमले काम गर्न भ्याएनन् भने अर्को स्वास्थ्य संस्था थप्ने वा नथप्ने उहाँहरुले थाहा पाउने कुरा हो ।’  अस्टे«लियन सरकार र नेपाल सरकारबाट अनुमति लिएर स्वास्थ्य परीक्षण सेवालाई अगाडि बढाएको उनले बताए । स्वास्थ्य परीक्षणको तत्काल मिति नपाउने समस्या सरकार– सरकार बिचको कुरा हो, उच्च स्रोतले भन्यो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप