बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अल्पमतमा बाबुराम : क–कसले छाडे साथ ?

बिहीबार, १६ असार २०७९, १३ : ३७
बिहीबार, १६ असार २०७९

जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पार्टीमा अल्पमतमा परेका छन् । स्थानीय चुनावअघि र पछिसम्म पनि पार्टीभित्र बहुमतमा रहेका अध्यक्ष भट्टराई अहिले आएर अल्पमतमा परेका हुन् । 

भट्टराईलाई सुरुदेखि साथ दिएका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसदहरू रुही नाज, प्रज्ञा ढकाललगायत अहिले उनलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् । 

यीमध्ये कतिपय नेताहरूले अध्यक्ष भट्टराई पक्षमा हस्ताक्षर नगरे पनि आवश्यक परे साथ दिने आश्वासन दिनुका साथै गुटको बैठकहरूमा पनि सहभागी हुँदै आएका थिए । 

तर पछिल्लो समय उपेन्द्र यादवले बोलाएको कार्यकारिणीको अनौपचारिक बैठकमा उनीहरूलगायत अध्यक्ष भट्टराई पक्षका अन्य नेताहरू पनि सहभागी भएका थिए । सोही बैठकपछि अध्यक्ष यादवको पक्षमा बहुमत जुटेको कतिपय नेताहरूको भनाइ छ ।

भट्टराईले स्थानीय चुनावअघि बहुमत सदस्यहरूको हस्ताक्षर गराएर नै बसेका थिए । विभाजनको संघारमा पार्टी पुगिसके पनि चुनावसम्मका लागि त्यसलाई थाँती राखिएको थियो । चुनाव सकिने बित्तिकै अध्यक्ष भट्टराईले पुनः त्यही कुरा उठाएर हस्ताक्षर अभियानलाई जारी राखे । 

​आफूसँग बहुमत भए पनि उनले त्यसलाई प्रयोगमा ल्याएनन् । अध्यक्ष यादव पक्षबाट अझै केही नेता तानौँ भन्ने सोच अध्यक्ष भट्टराईको थियो । बहुमत सदस्यको हस्ताक्षर लिएर उनले के गर्ने नगर्ने गन्थनमै समय बिताए । 

पार्टीमा ४० प्रतिशत पुर्‍याएर भए पनि पार्टीबाट अलग हुने अध्यक्ष भट्टराईले सोच नबनाएका होइनन् । तर राजनीतिक दल दर्तासम्बन्धी ऐन निष्क्रिय भएको कारण उनले सोचे जस्तो गर्न सकेनन् । उनले राजनीतिक दल दर्ता सम्बन्धी ऐनलाई सक्रिय बनाउन विधेयक ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै आग्रह समेत गरेका हुन् । तर प्रधानमन्त्री देउवा तत्काल सहयोग गर्न तयार भएनन् । त्यसपछि उनी बहुमत सदस्यको बैठकबाट नै अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्ने सोच निष्कर्षमा पुगेका थिए । 

तर आफूले एक्सन लिनुभन्दा अघि अध्यक्ष यादवले के–के कदम चाल्दैछन् भन्ने प्रतीक्षामा भट्टराई बसे । यसै बीचमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरू हेरफेर भयो । नेकपा (एस) मा मन्त्री फेरिएसँगै जसपामा पनि चहलपहल सुरु भयो । त्यसपछि अध्यक्ष यादवले तत्कालै कार्यकारिणी समितिको बैठक बोलाएर आवश्यकता अनुसार मन्त्री फेरिने निर्णय गरे । 

मन्त्री हेरफेरको निर्णय गरेसँगै अध्यक्ष भट्टराई पक्षमा रहेका नेता तथा सांसदहरू तितरबितर भएका छन् । अध्यक्ष भट्टराईको पक्षमा रहेका नेता तथा सांसदहरू उपेन्द्र पक्षतिर लाग्न थाले । त्यसपछि अध्यक्ष भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले आफ्नो ट्वीटरमा लेखे, –‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ नेपाली राजनीतिको विकृति ।’

यद्यपि अध्यक्ष भट्टराई अझै पनि बहुमत पुर्‍याउने प्रयासमा रहेको उनी निकट सांसदहरू बताउँछन् । अध्यक्ष भट्टराई पक्षका नेताहरूले अन्य नेताहरूसँग सम्पर्क जारी राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप