मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी  ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, १० भदौ २०७९, २२ : ३०
शुक्रबार, १० भदौ २०७९

आज मिति २०७९ साल भदौ महिनाको १० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. गठबन्धन बैठकमा प्रदेशको सिट बाँडफाँटबारे पनि छलफल

सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल सुरु भएको छ । यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।

२. कांग्रेसको सर्कुलर

नेपाली कांग्रेसले  मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ। कांग्रेस महामन्त्री गगन थापाले एक परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् ।

​३. एमाले बैठक

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा समूह विभाजनमार्फत छलफल हुने जानकारी दिए ।

४. ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?

राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटेका छन् ।

प्रतिवेदनमा भूराजनीतिक बहाव र सिर्जित नयाँ चुनौती, गठबन्धन सरकारको समीक्षा, चुनावी रणनीति लगायतको विषय समेटिएको छ । यस्तै ओलीले आफ्नो प्रतिवेदनमा  बहुमतका लागि आवश्यक वर्ने करिब १६ प्रतिशत मत पार्टीलाई अपुग भएकाले त्यसलाई वृद्धि गर्न ठोस योजनाका साथ अघि बढिने बताएका छन् ।  यस्तै एमाले सरकारले गरेको कामको प्रचार गर्ने, गठबन्धनको भयबाट मुक्त हुने, नयाँ पुस्तामा विशेष ध्यान दिनेजस्ता योजना पनि आफ्नो प्रतिवेदनमा समेटेका छन् ।

​५. समानुपातिक मनोनयन दर्ता सुरु

यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए । शनिवार र आइतबार २ दिनसम्म समानुपातिकतर्फ राजनीतिक दलको मनोनयन दर्ताको क्रम जारी रहनेछ ।

​६.बीमा समितिको निर्णय

बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्ने निर्णयसँगै ३३ आवेदन खारेज भएका छन् । लघुबीमा कम्पनी संचालन गर्नको लागि यसअघि नै आवेदन दिएका ३३ कम्पनीको आवेदन खारेज भएको हो । समितिले जारी गरेको सूचनामा यसअघि दर्ता भएका आवेदन रद्द भएको उल्लेख गरिएको छ । ‘समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ । उक्त प्रस्तावकहरुले प्रस्ताव पेश गर्न चाहेमा यसै सूचना बमोजिम गर्नुपर्नेछ,’ समितिको सूचनामा उल्लेख छ ।

​७. सेयर बजार

सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार  १६.९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो ।

​८. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

​यसैबीच काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएको भन्दै महानगरपालिकाले कुर्सी हटाएको छ ।

विभागले उक्त स्थान सेवाग्राही बस्न प्रयोग गरेको थियो । तर महानगरले सेवाग्राही बस्न योग्य नभएको भन्दै कुर्सी लगायतका सामग्री शुक्रबार हटाएको हो । उक्त स्थानमा भेन्टिलेसन समेत छैन

​सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् ।  कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाएका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

​९. नेपाल पराजित

घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोली विरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो ।

​१०. यो पनि...

कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका घुरहु भनिने रामसमुज पाशीको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समूहको गोली लागि घाइते भएका पाशीको उपचारका क्रममा मृत्यु भएको हो । पाशीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको  प्रहरीले जनाएको छ ।  उनलाई  स्थानीयको एक खाली घरमा अज्ञात समूहले पाशीको बायाँ खुट्टामा गोली  प्रहार गरेको थियो ।

​दुबईबाट डाइपरमा सुन लुकाएर ल्याउने महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भदौ ९ मा भक्तपुरको भक्तपुर नगरपालिका–८ सुकुलढोका घर भएकी ५६ वर्षीय कविता श्रेष्ठलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

बितेको दश दिनमा १५ जनामा हैजा पुष्टि भएको छ । भदौ महिना शुरु भएदेखि १५ जना हैजाका बिरामी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  असार २ गते पहिलो पटक बागबजारमा यो आर्थिक वर्षमा पहिलो केस पुष्टि भएको थियो ।

​बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग गरेको बाचा पूरा गरेका छन् ।

दुई साता अघि काठमाडौं आएका बेला साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए ।  सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । आज धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले सो बाचा पुरा गरेका हुन् ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप