बागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने
बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ । शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका हुन् ।
उनले यस वर्षबाट बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए । उनले सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए ।
सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी बन्ने प्रदेशका खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको पनि बताए । उनले बागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर छनोट तालिका र तयारी गरेको, साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरेको पनि बताए । उनले वागमती प्रदेश अन्तर्गतका खेलाडीहरूको प्रदेश छनोट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित लागत ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमान गरेको र सोको लागि बागमती प्रदेश सरकारले प्रदेश छनोटका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए । उनले राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा रकम गइसकेको पनि बताए । उनले बाँकी रकम प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको बताए ।
सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुद २०७९ मा बागमती प्रदेशको तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरु सहभागी हुने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिष्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
-
बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?