शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ–तिहार विशेष सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्ने

खाद्य कम्पनीले इन्डक्सन चुलो बेच्ने
शुक्रबार, १० भदौ २०७९, १६ : १२
शुक्रबार, १० भदौ २०७९

दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल सञ्चालन गर्नेछ ।

काठमाडौं उपत्यकाभित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्यविनायकबाटै खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । साल्ट्र ट्रेडिङले कालिमाटी, सतुङ्गल, जाउलाखेल, जडिबुटी र भक्तपुरबाट सुपथ पसलको सुविधा प्रदान गर्नेछ ।

तर, आवश्यकता परेको खण्डमा थप एक स्थान कलंकीमा सुपथ पसल सञ्चालन हुन सक्ने साल्ट ट्रेडिङका विभागीय प्रवन्धक बृजेश कुमार झाले रातोपाटीलाई बताए । ‘अहिले पनि साल्ट ट्रेडिङले उपत्यकाभित्रका आफ्ना ६ वटा विक्री केन्द्रबाट नियमित खाद्यान्न दाल, चामल, नुन, तेल, गेडागुडी, ग्यास बिक्री वितरण गरिरहेकैछ,’ झाले भने, ‘दसैँ–तिहार चाडपर्व विशेष सुपथ पसल पनि यिनै केन्द्रहरुबाट प्रदान गरिनेछ । केमा कति छुट दिने वा कति सहुलियत दिने भन्ने कुराचाहिँ अहिले नै यकिन भइसकेको छैन, यो सरकारी निर्णयबाटै तोकिन्छ ।’

खाद्य कम्पनीले पनि आफ्नै चार वटा नियमित पसलबाटै सुपथ सेवा प्रवाह गर्ने निर्देशक श्रमणी खनालको भनाइ छ । ‘दसैँ–तिहार विशेष सुपथ पसलका लागि थप नयाँ स्थान खोज्ने हाम्रो योजना छैन । उपत्यकाभित्रका चार स्थान छँदैछन्, उपत्यका बाहिर पनि खाद्यकै डिपार्टमेन्ट स्टोरहरुबाट सुपल मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछन्,’ खनालले भने ।

यस्तो डिपार्टमेन्ट स्टोर खाद्य कम्पनीको उपत्यका बाहिर ७५ र साल्ट ट्रेडिङको ४२ स्थानमा रहेको छ ।

खाद्यले इन्डक्सन चुलो बेच्ने

यस वर्ष दसैँ–तिहार सुपथ पसलमा खाद्य कम्पनीले इन्डक्सन चुलो पनि बेच्ने भएको छ । अन्य नियमित खाद्यान्न दाल, चामल, नुन, तेल, ग्यास लगायतको बिक्री वितरण त छँदैछ, यसको अलावा यस वर्ष इन्डक्सन (विद्युतीय चुलो) समेत बिक्री वितरण गर्ने खाद्य कम्पनीका निर्देशक श्रीमणी खनालले रातोपाटीलाई बताए ।

‘खाद्य कम्पनीले धेरै अघिदेखि नै इन्डक्सन चुलो बेचिरहेको छ । यद्यपि, यस वर्षको दसैँ–तिहार विशेष व्यापारमा यो पनि पर्नेछ’ खनालले भने, ‘तर, इन्डक्सन चुलो चाहनेले दसैँ–तिहार पर्खिरहनु पर्दैन, अहिले नै सुपथ मूल्यमा पाइन्छ ।’

कम्पनीले अहिले ३ हजार ५ सय रुपैयाँ, ४ हजार रुपैयाँका र ४ हजार ५ सय रुपैयाँ गरी तीन किसिमका इन्डक्सन चुलो बेचिरहेको छ । स्थानीय बजारबाटै खरिद गरेर खाद्यले सुपथ मूल्यमा बेचिरहेको खनालले बताए । यसअघि खाद्य कम्पनीले चिनियाँ सरकारबाट अनुदानमा पाएको ११ हजार थान इन्डक्सन सुपथ मूल्यमा बिक्री वितरण गरेको थियो ।

चिनीको अभाव हुने देखियो

विशेषतः यस वर्षको दसैँ–तिहारमा चिनीको अभाव हुने देखिएको छ । मुख्य खपतको सिजनमै बजारमा चिनी छैन । अन्य, खाद्यान्नसँगै चिनी र मलको समेत व्यापार गर्ने साल्ट ट्रेडिङसँग चिनीको कत्तिपनि मौज्दात छैन । साल्ट ट्रेडिङसँग नै नभएपछि खाद्यले पनि चिनी पाउने कुरै भएन । कम्पनीले साल्ट ट्रेडिङसँगै चिनी लिएर व्यापार गर्ने हो ।

बजारमा पनि चिनी नभएको समाचार आएको छ । चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल स्वदेशी उद्योगहरुमा चिनी नभएको बताउँछन् ।

‘हामीले तीन महिना अघि नै सरकारलाई सुझाव दिएका हौं । चिनीको उत्पादन छैन, के–कति आवश्यक हो र कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो त सरकारले सोच्ने कुरा हो नि,’ अग्रवालले भने ।

अध्यक्ष अग्रवालका अनुसार अहिले बजारमा जति पनि चिनी उपलब्ध भइरहेका छन्, दुई नम्बरी चिनीको बिक्री वितरण भइरहेको छ । सरकारले चिनीको आयातमा प्रतिवन्ध लगाएपछि बजारमा अभाव देखिएको हो ।

अग्रवालका अनुसार यस वर्ष स्वदेशी चिनी उद्योगहरुले जम्मा १ लाख ३० हजार मेट्रिकटन मात्र चिनी उत्पादन गरेका छन् । तर, बजारको माग नै वार्षिक २ लाख ६० हजार मेट्रिकटन छ ।

यसबारेमा बुझ्न खोज्दा मन्त्रालयले चित्तबुझ्दो जवाफ दिएन । चाडपर्वको मुखमा बजारमा चिनीको अभाव देखियो, मन्त्रालयले आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न के–कस्तो पहल गर्दैछ ? भन्ने हाम्रो प्रश्नमा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले त्यस्तो अभावको जानकारी आफूहरुलाई नभएको बताइन् ।

‘बजारमा चिनीको अभाव भएको भन्ने सूचना कहीँकतैबाट आएको छैन । बजार अनुगमनमा जाने विभागमा समेत त्यस्तो कुनै घटना फेला परेको भन्ने जानकारी छैन । उजुरी प¥यो भने हामीलाई थाहा हुने हो, तर अहिलेसम्म उजुरी परेको छैन,’ केसीले रातोपाटीसँग भनिन् ।

तर, अग्रवाल भने दुई नम्बरी आयातको चिनीले जसोतसो माग धानिरहेको बताउँछन् । यस्तो चिनीको परिमाण कति छ भन्ने यकिन नभए पनि प्रशस्त आयात भइरहेको उनको दाबी छ । यसले दसैँ–तिहारको छेकोमा व्यापारीहरुले चिनीको मूल्य बढाउन सक्ने खतरा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप