शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलबुल’को ब्याज खाँदै गरेका मुकुन : ‘झिँगे दाउ’मा बढ्ला त भाउ ?

शुक्रबार, १० भदौ २०७९, १० : ५०
शुक्रबार, १० भदौ २०७९

भगवान् जब देता है तो छप्पर फाड के देता है, हिन्दीको यो भनाइ धेरैको जीवनमा सार्थक हुँदैन । तर अभिनेता मुकुन भुषालको जीवनमा भने ठ्याक्कै मेल खान्छ । भुषालले फिल्म क्षेत्रमा न त दशक बर्ष बिताएका छन्, न दर्जनौ फिल्म अभिनय नै गरेका छन् । तर चर्चा भने उनको लोभलाग्दो छ ।

दर्जनौ फिल्म खेलेर पनि कतिपय कलाकार छाँयामा छन् । दाम र कामको अभावमा धेरैको छट्पटी देख्न सकिन्छ । मुकुन भने एकै फिल्म ‘बुलबुल’बाट स्टार बनेका छन् । ‘झिँगे दाउ’ हान्दै गरेका उनको हातमा अहिले आधा दर्जन फिल्म छन् । त्यतिकै संख्यामा फिल्मको अफर छ । फिल्मको काम धमाधम हात परेपछि दामको दुःख हुने त कुरै भएन ।

मुकुन चर्चित भएको फिल्म ‘बुलबुल’ को कुरा गर्दा सन् २०१८ फर्किनुपर्ने हुन्छ । जुन वर्ष उनले फिल्ममा हिरो बन्ने अवसर प्राप्त गरे । त्यो बेला उनी भारतबाट अभिनयमा मास्टर गरेर भर्खर गृह जिल्ला अर्घाखाँची फर्किएको केही दिनमात्र भएको थियो । उनलाई फिल्मका निर्देशक विनोद पौडेलको फोन आयो । फोनमा पौडेलले आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा रहेको र अभिनय गर्ने भए भोलि नै काठमाडांै कुलिहाल्न उर्दी शैलीमा आग्रह गरे ।

त्यो फोन अन्यको भए उनी तत्कालै काठमाडौ आउने थिएनन् । पौडेल उनको अभिनय गुरुपनि थिए । त्यसैले, पौडेलसँगको कुराअनुसार मुकुन अर्को विहान काठमाडौं टुपुल्किए । काठमाडौं आएकै दिन पौडेललाई भेटेसँगै एग्रिमेन्ट नै गरे । अर्काे दिन त वर्कसपमा बसिहाले ।

अभिनयमा विशेष अध्ययन गरेको र म पढ्ने कलेजको प्रिन्सिपल भएको हिसावले उहाँ जस्तो तस्तो काममा त पक्कै हात हाल्नु हुन्न भन्ने विश्वास थियो, मुकुनले भने, ‘फिल्मसँग जोडिएको टिम पनि राम्रो थियो । त्यसैले ‘बुलबुल’ मा भित्रिएँ ।’ अभिनयमा उनको डेब्यु फिल्म थियो ‘बुलबुल’, जसको क्रेडिट उनी अहिलेसम्म खाँदैछन् । त्यसो त फिल्मका निर्देशक विनोद पौडेलको पनि निर्देशनमा यो डेब्यु फिल्म नै थियो । लेखनमा भने पौडेलले ‘साँघुरो’ बाट आफूलाई प्रमाणित गरिसकेका थिए ।

अनि पुरै देशले चिन्यो

बुलबुल’ मा मुकुनको ‘चोपेन्द्र’ नामक् पात्रको भूमिकामा समाजका हरेक पात्रको मिश्रण थियो । त्यो पात्रले गर्ने क्रियाकलाप, लगाउने पहिरनदेखि हिँड्ने, बोल्ने शैली सबै बाटोमा भेटिएका एक एक पात्रबाट टिपिएका थिए । त्यो पात्र अनेक पात्रको प्याकेज चरित्र थियो । त्यसैले मानिसलाई छोएको मुकुनले सुनाए ।

मुकुनलाई ‘चोपेन्द्र’ पात्र हिट हुन्छ भन्ने फिल्मको वर्कसपमै लागेको थियो । ‘नेपाली फिल्मको समय समयको कालखण्ड हेर्ने हो शंकर, रातेकाइला, हाकु काले हुँदै भष्मे डनसम्म कुनै कुनै चरित्र हिट भएको छ, मुकुनले अगाडि थपे,‘फिल्म के हुन्छ । त्यो अलग पाटो भयो । तर चोपेन्द्र भन्ने चरित्रले चर्चा पाउछ भन्ने पहिलै लागेको थियो ।’ उनले फिल्म खेल्नुमा चोपेन्द्र चरित्र हिट हुन्छ भन्ने लोभ थियो । र, सोचे जस्तै भयो पनि ।

पहिलो फिल्ममा आफ्नो क्यारेक्टर हिट भएकोमा उनी अहिलेसम्म पनि दंग छन् । युरोपियन फिल्ममा क्यारेक्टर खासै हिट हुँदैन । हलिउड, बलिउड र कलिउडमा भने क्यारेक्टर हिट हुन्छ । त्यसरी क्यारेक्टर हिट भयो भने कलाकारलाई निकै सजिलो हुन्छ ।  चोपेन्द्र क्यारेक्टर हिट भएको फल हो, अहिले मुकुनको अभिनय रहेका ५ फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छ । करिब दर्जन फिल्ममा अभिनय गर्ने कि नगर्ने भनेर छनौटका लागि स्क्रिप्ट पढ्दैछन् उनी ।

घरपरिवारमा सीमित उनलाई ‘बुलबुल’का पुरै देशले चिन्यो । फिल्ममा उनले पहाडतिरको देख्दा सोझो तर भित्री रुपमा बाठो केटाको चरित्र निर्वाह गरेका थिए ।

अनि जोडियो जीवनमा फिल्म

अभिनयमा स्थापित मुकुनको बाल्यकालको सपना फिल्म थियो त ? वा उनको फिल्म अभिनय संजोग मात्र हो ? सानोमा उनी धेरै फिल्म हेर्थे तर सपना केही थिएन । चटपटे, चकचके, गाउँले जिन्दगी थियो उनको ।

घरको आँगनमै जिल्ला अस्पताल भएकाले उनी अस्पताल परिसरमा खेल्थे । डाक्टरले गरेको काम नजिकबाट नियाल्थे । जब स्कुल सकाएर ‘प्लस २’ का लागि काठमाडौं आए, तब उनलाई पाइलट बन्न मनलाग्यो । किनकि त्यसबेला समाजमा इज्जत भनेकै डाक्टर, पाइलट, इन्जिनियरको थियो । त्यसैले पाइलटको लोभ लागेको उनले बताए ।

जव प्लस टु सके, पाइलट सपना हरायो । उनले बीबीएस म्यानेजमेन्ट अध्ययन गर्दै ठमेलको होटल प्राइममा काम गर्न थाले । ‘यतिकै बस्नु भन्दा केही गरौ भन्नेका लागि काम गर्न थालेको थिएँ, होटलपछि नीलकन्ठ ट्राभल एण्ड टुरमा आवद्ध उनले भने, ‘अर्काे उद्देश्य घर परिवारको सधैँ आस गर्नुभन्दा पकेट मनि पनि होला भन्ने थियो ।’

ट्राभलमा काम गर्दै गर्दा उनलाई घुमक्कड बानी लाग्यो । इन्डिया गएर केही गर्छु भन्ने उद्देश्यले भारत पसे । त्यहाँ अभिनयको ६ महिनाको कोर्ष लिए । त्यसपछि घर फर्किए । टिभीएसको सोरुम राखे । करिव तीन बर्ष वर्कसप गरेपछि, यसले हँुदैन केही गर्नुपर्छ भनेर फेरि काठमाडौं छिरे ।

यो पटक काठमाडौं छिरेपछि उनले फेरि पाइलट बन्ने सपना ब्यूँताउन थाले । अमेरिकन प्लस टु बुझ्दै थिए । त्यो समय देशमा एउटा विमान दुर्घटना भयो । त्यो समाचार फैलिएपछि उनका बुबाआमाले अन्य जे पढेपनि पाइलटतिर न जा भनेर सुझाए ।

भारत बसाइँमा अभिनयको अलिअलि नसा उनमा छाइसकेको थियो । त्यसैले, फिल्म कलेज ओस्कारमा स्नातकमा भर्ना भए ।​ रियल जीवनमा नभएपनि रिल जीवनमा डाक्टर, इन्जिनियर, पाइलट र नेता लगायत हरेक जिन्दगी बाँच्न सक्छु भन्ने सोच मेरो थियो, उनले भने, ‘एउटै जिन्दगीमा धेरै कुरा भोग्न सक्छु भनेर फिल्म पढे ।’ अध्ययन गर्दै जाँदा फिल्मका अफर त पाउँथे तर सोचेजस्तो पाउँदैनथे । आफूले अभिनय गरेको पहिलो फिल्म र भूमिका राम्रो हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

तर भनेजस्तो फिल्मको अफर नआएपछि छोरो पढ्दै छ भनेर परिवारलाई खुसी पार्ने मनसायले अभिनयमा मास्टर गर्न फेरि भारत पसे । मास्टर सकाएर फर्किएको लगत्तै उनले ‘बुलबुल’ को अफर पाए ।

‘झिँगे दाउ’ राम्रो छ

पछिल्लो समय मुकुन फिल्म ‘झिँगे दाउ’ को कारण चर्चामा छन् । यो उनले अभिनय गरेको प्रदर्शनमा आउन लागेको दोस्रो फिल्म हो । फिल्म भदौ १७ बाट प्रदर्शनमा आउँदैछ । उनी अहिले यसकै प्रचार प्रसारको दौडमा छन् । उनले ‘झिँगे दाउ’ को आफ्नो चरित्र बुलबुल जस्तो चर्चित नहुने तर फिल्मले भने राम्रो ब्यवसाय गर्ने दावी गरे ।

‘‘झिँगे दाउ’ कमर्सियल फिल्म हो । हलमा मनोरञ्जन नै गर्नुपर्छ भन्ने दर्शकका लागि ‘बुलबुल’ भन्दा उत्तम छ, उनले अगाडि थपे, ‘फिल्मले टार्गेट गरेको दर्शकको जमात ठुलो छ । त्यसैले कर्मसियल ढंगले पनि राम्रो हुने आस छ ।’

फिल्मको कथाबस्तुबारे उनले भने, ‘कथाको केन्द्रबिन्दु आमा हो । आमाको छोरा–बुहारीसँगको रिलेसन, परिवारमा आउने समस्यालगायत हरेक कुराको वरिपरि फिल्म घुमेको छ ।’ फिल्म  कर्मसियल फ्यामिली ड्रामा भएकोले परिवार बसेर हेर्न मिल्छ ।

झिँगे दाउ’ मा मुकुनको जोडी अभिनेत्री केकी अधिकारी छिन् । साथै, आँचल शर्मा र कुशल विष्टको मुख्य भूमिका छ । चारजनै कलाकारको रोल फिल्ममा बराबरजस्तै रहेको उनले जनाए ।                                                    

पिकनिकमा ‘झिँगे दाउ’को अफर

बुलबुल’ रिलिजको दुई महिनापछि उनले ‘झिँगे दाउ’ को अफर पाएका थिए । त्यो दिन ओस्कार कलेजको पिकनिकमा रमाइरहेका बेला नगेन्द्र घिमिरेले फिल्मको लागि अफर गर्दै फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा भएको जनाएका थिए ।

निर्देशक देउजालाई उनले चिनेका थिएनन् । पिकनिकमा धेरै फिल्मकर्मी भएकोले देउजाको बारेमा सोधपुछ गरे । बुझ्दै जाँदा देउजाले त मुनामदन, कुरुक्षेत्र, देवरबाबु लगायत थुप्रै हिट दिएको थाहा पाए ।

त्यसपछि लगत्तै भेटे । साहित्यलाई लिएर हाम्रोमा कमै फिल्म बनेका थिए । त्यही भएर पनि फिल्मको बिषयमा उनलाई पोजेटिभ भाइब्स आयो । ‘मुना मदन’ बनाएको मेकरलाई फिल्मको राम्रो ज्ञान छ र साहित्यमाथि न्याय गर्न सक्नु हुन्छ भनेर फिल्ममा आवद्ध भएँ, मुकुनले भने, ‘कलाकार भएपछि सबै जनरामा काम गर्न मन लाग्ने रहेछ ।’

फिल्म विसं २०२०–०२५ साल तिरको कथामा आधारित छ । अहिले फिल्ममा उहिलेको समय देखाउनु धेरै गाह्रो काम रहेछ । लेखकको कृतिको भाव नमर्ने गरी अभिनय गर्दा आफूलाई फिल्म अभिनयसमेत सहज भएको उनले सुनाए । ‘पुरानो संस्कृतिको एकदमै भ्यालु छ । त्यो हामीले यो फिल्ममा पस्किएका छाैं, उनले जानकारी दिए ।

झिँगे दाउ’ भनेको इतिहासको समयको एक किसिमको जुवा हो । जव तास बजारमा थिएन । त्यो समय हाम्रा पुर्खाहरु यस्तो दाउ खेल्थे, मुकुनले भने, ‘उनीहरुले कसरी जुवा खेल्थे भन्ने फिल्ममा देख्न सकिन्छ । यो अहिलेका पुस्ताका लागि  नौलो एक्सपिरियन्स हुन्छ ।’

त्यो सफल कलाकार

कलाकारलाई एकपछि अर्काे अभिनयको भोक जाग्छ । त्यो हुनु स्वभाविक पनि हो । तर मुकुनमा भने न त्यस्तो भोक छ, न सपना ।

मेरो सातौँ पुस्तासम्म खोज्दा पनि फिल्ममा कोही छैन । अहिले म जहाँ छु, त्यो नै धेरै हो’ उनले खुसी हुँदै भने ‘मेकरहरु जहिलेसम्म नयाँ कुरा लिएर मलाई प्रयोग गर्न खोज्छन्, तवसम्म म साथ दिन्छु ।’

जिन्दगीमा मानिसले एउटा तारिफयोग्य काम गर्ने लक्ष्य लिएको हुन्छ । मुकुनले आफ्नो त्यो लक्ष्य पहिलो फिल्मबाटै पुरा भएको सुनउँछन् । ‘झिँगे दाउ’पछि उनका ‘गणपति’, ‘म राजेश हमाल’, ‘बिच्छेद’ लगायत फिल्म प्रदर्शनको तयारीमा छ ।

मुकुन कलाकार सफल भएको गनिन उसले गरेको फिल्म सफल हुनुपर्ने बताउँछन् ।

हलिउड र बलिउड सोच

कतिपय कलाकार अभिनय दुःखको पेसा मान्छन् ।  कलाकार भएपछि अभिनयको कुनैपनि पाटोमा दुःख मान्नु नहुने तर्क मुकुनको छ ।​ फिल्मका अनेक प्रोसेस छन् । बिना रहर भित्रिनेलाई त्यो प्रोसेस दुःख लाग्न सक्छ, मुकुनले भने, ‘म भने हरेक प्रोसेसमा इन्जोइ गरिरहेको छु ।’ केही दिन क्यामरा अगाडि नपर्दा छटपटी हुने सुनाउने उनी त्यो समय एउटा कविता भएपनि रेकर्ड गर्ने गरेको बताउँछन् ।

फिल्मको अर्काे सुखद पाटो यसको चर्चा पनि हो । उनले भने ‘सबै मानिसलाई आफ्नो कामबाट चिनियोस् भन्ने हुन्छ । त्यो सुबिधा फिल्ममा सजिलै प्राप्त हुन्छ ।’

नेपाली केही कलाकार बलिउडसम्म पुगेका छन् । उनको हलिउड र बलिउड फिल्म खेल्ने सोच छ त ? मुकुन भन्छन्, ‘समय अगाडि र भाग्य भन्दा बढी केही पाइन्न । आगामी दिन कहाँ पुगिन्छ । अहिल्यै भन्न सकिन्न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप