डेंगुबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाऔँ : डा. बास्तोला
नेपालमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै दैनिक ६० जना ज्वरोका बिरामी पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार २१ जना डेंगुका बिरामी भर्ना भएका छन् ।
इडीसीडीका अनुसार काठमाडौं उपत्यकामा २२५ भन्दा धेरै डेंगुका बिरामी पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुस महिना यता १३ सय जना भन्दा बढीमा डेंगु पुष्टि भएको छ । रुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार १० हजारलाई डेंगु संक्रमण हुँदा एक हजार जनामा मात्रै यसका लक्षण देखिने गर्छ । डेंगु संक्रमण भएका सबैलाई लक्षण नदेखिने भएकाले सजक हुनुपर्ने उनले बताए ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष डेंगुका बिरामी संख्या बढेको छ । डेंगुको प्रकोपलाई फैलन नदिन सतर्कता अपनाउनुपर्ने सरुवारोग विशेषज्ञ डा. बास्तोला बताउँछन् । डेंगु रोकथाम र नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान टोलटोलमा सञ्चालन गर्नुपर्ने उनले बताए । स्थानीयवासीले टोलटोलमा साताको एकपटक लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
‘डेंगुका बिरामी देखिएमात्रै लार्भा नष्ट गर्नेतर्फ लाग्ने होइन,’ उनी भन्छन्, ‘प्रत्येक साल डेंगु देखिने भएकाले डेंगु देखिनुभन्दा अगाडि नै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न अतिआवश्यक छ ।’ जनघनत्व बढी भएका क्षेत्र काठमाडौं उपत्यका, पोखरा, बुटवल आदि सहरमा डेंगुका बिरामी बढिरहेको इडीसीडीले जनाएको छ । डेंगु संक्रमण कम गर्न घरघर, टोलटोलमा लामखुट्टेका लार्भा नष्ट गर्न स्थानीय सरकार र वडाले विशेष अभियान सञ्चालन गर्नुपर्ने डा. बास्तोलाले बताए ।
उनी भन्छन्, ‘यो अभियान एक, पटक एक वर्षमात्रै सञ्चालन गरेर हुँदैन, स्थानीय वडाहरूले योजना नै बनाएर बर्सेनि लार्भा नष्ट गर्ने अभियान कम्तीमा शनिबार, साताको एक घण्टा अभियान चलाएमा डेंगु सर्ने लामखुट्टे कम हुन सक्छ ।’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम भने झैं लार्भा नष्ट गर्ने अभियानलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । सरकारले घरघरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न सम्भव नहुने भएकाले हरेक घरले आफ्नो वरपर लामखुट्टेको सम्भावित बासस्थान खोजेर लार्भा नष्ट गर्न तर्फ लाग्नुपर्ने उनले बताए ।
उनका अनुसार लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्न उनको सुझाव छ ।
उनका अनुसार लामखुट्टेको प्रजनन दर कम गर्न घर, विद्यालय, बजार वरिपरि पानी जम्न दिनु हुँदैन । एकै ठाउँ जमेर रहेको सङ्लो पानीमा डेंगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्नाले खुला ठाउँमा धेरैबेर पानी राख्न नहुने उनले बताए ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । त्यसयता बर्सेनि डेंगुको संक्रमण देखिँदै आएको छ । नेपालमा सन् २००६, २०१०, २०१२÷१३, २०१७ र २०१९ मा डेंगुले प्रकोपकै रुप लिएको थियो । तराई–मधेसमा बढी देखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौं जस्ता पहाडी सहरमा पनि देखापरेको थियो ।
डेंगुका लक्षण
उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड करकरी दुख्ने, शरीर दुख्ने, घुँडाका जोर्नी दुख्ने, पिँडुलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । डेंगु ज्वरो सन्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् । डेंगुकै कारण गम्भीर डेंगु (Sever Dengue) को सम्भावना पनि रहन्छ । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगर बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुन्निने जस्ता लक्षणहरु देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने डा. बास्तोलाको भनाइ छ ।
विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने एडिजु प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुुको संक्रमण फैलिने गर्छ । अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो । यस्तै, ०७६ मा डेंगुले प्रकोपको रुप लिँदा १० हजार ८०८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।
इडीसीडीका अनुसार २०७५÷०७६ मा ३ हजार ४२४ केस पुष्टि भएको थियो भने ०७६÷०७७ मा १ हजार ८०८, ०७७÷०७८ मा ४८७ र ०७८÷०७९ मा ५३० केस पुष्टि भएको थियो ।