मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

गठबन्धनबारे ओलीको दृष्टिकोण– बाँडीचुँडी खाने सत्ता स्वार्थ

शुक्रबार, १० भदौ २०७९, १४ : ०५
शुक्रबार, १० भदौ २०७९

नेकपा एमालेले वर्तमान सरकारको जग नै असंवैधानिक रहेको भन्दै सत्तारुढ गठबन्धनसमेत दिशाहीन, सिद्धान्तहीन र अवसरवादी जमातमात्र रहेको जनाएको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रतिवेदनमा लोकतन्त्रमा दलहरू निश्चित वर्ग आधारमा खडा हुने र निश्चित दर्शन, सिद्धान्त र उद्देश्यमा सङ्गठित हुने जनाएका छन् । आफ्ना निश्चित पहिचान र मान्यतासहित क्रियाशील दलहरूलाई निर्वाचनमा सार्वभौम जनताले उनीहरूका उद्देश्य, कार्यक्रम र घोषणा हेरेर जनादेश दिने ओलीको भनाइ छ ।

तर, सिद्धान्तहीन गठबन्धन निर्माण हुँदा र त्यही गठबन्धन निर्वाचनमा जाँदा जनताको स्वतन्त्र छनोटको अधिकार कुण्ठित हुने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । संघीयताको खारेजी र प्रदेशहरुको वर्तमान सीमा परिवर्तन र संख्या वृद्धिजस्तो दुईविपरीत धारमा उभिएका दलहरु यो गठबन्धनको आधार बन्नु अवसरवादबाहेक केही नभएको ओलीको तर्क छ ।

कतिपय मुलुकमा निर्वाचन पूर्वका गठबन्धनको अभ्यास प्रचलनमा रहेको र त्यहाँ निर्वाचन पूर्व नै केही साझा प्रतिवद्धता जनसमक्ष प्रस्तुत गर्ने, सोही आधारमा निर्धारित कार्यकाल संयुक्त सरकार सञ्चालन गर्ने अभ्यास गरिएको उनको भनाइ छ ।

‘तर यो गठबन्धनले पाँच वर्ष राजनीतिक स्थायित्व दिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छ ?’ ओलीको प्रश्न छ । यथार्थमा, यो कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन भएको उनले जनाएका छन् ।

‘भागबण्डा नमिल्नासाथ भोलि कुनै पनि बेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यो गठबन्धन खासमा राजनीतिक अस्थिरताका लागि माध्यम बनिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप