शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्ले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

शुक्रबार, २२ असोज २०७८, २१ : ४४
शुक्रबार, २२ असोज २०७८

आज मिति २०७८ साल असोज महिनाको २२ गते शुक्रबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ–

आजका मुख्यमुख्य समाचारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको, आजै शपथ र पदभार सम्पन्न भएको, गैरसांसद मन्त्री बनेको, मन्त्रिपरिषद् बैठक, कोरोनाको नियमित अपडेट, –संघीय निजामति सेवा विधेयक फिर्ता भएकोलगायत रहेका छन् ।

१. मन्त्रिपरिषद्ले पायो पूर्णता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाले तीन महिनापछि आज मन्त्रिमण्डलले पूर्णता पाएको हो । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गरे ।

२. गैरसांसद बने मन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन् । गैरसांसदसमेत रहेका उनलाई मन्त्री बनाएपछि धेरैको ध्यान उनीतर्फ मोडिएको छ ।  तर सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने उनलाई काँग्रेसको कोटामा मन्त्री बनाएको दावी गरे ।

​३. देउवाद्वारा मन्त्रीलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमानदारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

​४. यी हुन् देउवा सरकारका मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेससहित माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् बनाएका हुन्  ।

माओवादीबाट आज शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादव मन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाइएको छ ।

​यसैगरी जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्रप्रसाद श्रेष्ठ, रेणुकुमारी यादव, रामसहाय प्रसाद यादव र महिन्द्र राय यादव मन्त्री बनेका छन् । काँग्रेसबाट भने मीनेन्द्र रिजाल, उमाकान्त चौधरीलगायत मन्त्री बने ।

५. निजामति सेवा विधेयक

सरकारले संघीय निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ ।  मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने निर्णय गरेको थियो । सरकारको सोही निर्णय अनुसार प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राखेको संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको हो । 

​६. पार्टी एकीकरण

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ । नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् ।

७. खोपबारे निर्णय

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ ।  काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी दिए ।

​८. कोरोना संक्रमित कति ?

यसैगरी, आज देशभर थप ७६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ६८८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १० जनाले ज्यान गुमाएका छन् भने १ हजार ३३ जना निको भएका छन् ।

​९. राप्रपा महाधिवेशन सर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ ।  पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले २६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको बताए । उनले बाँकी जिल्लाको अधिवेशन गर्न छिट्टै अध्यक्षत्रयको बैठक बसेर निर्णय लिने बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप