शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा ध्यान केन्द्रित गर्छु : नवनियुक्त मन्त्री खतिवडा

शुक्रबार, २२ असोज २०७८, २० : ५५
शुक्रबार, २२ असोज २०७८

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताएका छन् । नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्ने कामै गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

शुक्रबार साँझ सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताए ।

नवनियुक्त मन्त्री खतिवडाले भने, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबैभन्दा बढी ध्यान केन्द्रित गर्छौं । र यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुपर्ने कामहरु त्यसलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरु नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।’

नवनियुक्त मन्त्री खतिवडाले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्रतामा आफ्नो कामलाई अघि बढाउने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप