शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति कार्यालय पुग्दापुग्दै कसले काट्यो साहको नाम ?

शुक्रबार, २२ असोज २०७८, १७ : ४६
शुक्रबार, २२ असोज २०७८

जनता समाजवादी पार्टी नेपालले चारजना मन्त्रीको नाम चयन गर्दा त्यसमा प्रमोद साहको नाम थियो । पार्टीका शीर्ष नेताहरुको छलफलले चारजना मन्त्रीमध्ये प्रमोद साहको नाम पनि राखेको थियो । उनलाई कृषि तथा पशुपंछी विकास मन्त्रीमा पठाउने निर्णय भएको थियो । शीर्ष नेताहरुको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरेका थिए ।

उनी आफू मन्त्री हुनेमा ढुक्क थिए । फोन र म्यासेजबाट बधाई तथा शुभकामना आइरहेको थियो । शुक्रबार  दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो ।  त्यसमा प्रमोद साहको ठाउँमा महेन्द्र राय यादवको नाम थियो । सुरुदेखि नै जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने कि अर्का सदस्य महेन्द्र राय यादवले सरकारको नेतृत्व गर्ने भन्ने कुरामा विवाद थियो ।

शीर्ष नेताहरुको छलफलमा राजेन्द्र श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि महेन्द्रराय यादव मन्त्री हुनेबाट ब्याक भएका थिए । बैठकले चारजनाको नामलाई अन्तिम रुप दिएको थियो । तर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीको सूचीमा प्रमोद साहको नाम परेन ।  

मन्त्रीको सूचीमा नाम नपरेपछि साहले भने, ‘मलाई पनि आश्चर्य लागेको छ, पार्टीबाट मेरो नाममा सहमति भएको थियो तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा मेरो नाम काटिएको छ यो कसरी भयो मलाई पनि आश्चर्य लागेको छ ।’
महेन्द्रराय यादव र प्रमोद साह दुवैजना सर्लाहीका हुन् । दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । महेन्द्र राय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए ।

तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्र राय यादव उपेन्द्र यादवको साथमा गएका थिए । पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साह लगायतका सांसदको नाम गएको थिएन ।  त्यसबाट साह असन्तुष्ट थिए ।

त्यसपछि उनीसहित सातजना सांसदहरुले उपेन्द्र यादवलाई साथ दिएका थिए । आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए । प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेका थिए । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर अन्तिममा उनको नाम काटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप