शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : गठबन्धनमा कुरा नमिल्दा रोकियो मन्त्रिपरिषद् विस्तार

शुक्रबार, २२ असोज २०७८, १५ : १८
शुक्रबार, २२ असोज २०७८

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको रातोपाटीलाई बताए ।

नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा नेपाली काँग्रेसमा देखिएको खटपटका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको उनको भनाइ छ । काँग्रेसका प्रमुख सचेतक फुखरुदिन खानले काँग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको रातोपाटीलाई बताए ।

सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने लगभग निश्चित भइसकेको छ । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनी केही अघि एमाले र माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी हुन् ।

काँग्रेसले पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको  थियो । तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ भने काँग्रेसको भागमा परेको राज्य मन्त्रीमा पनि धेरै आकांक्षी भएका कारणले मन्त्रिपरिषद विस्तार रोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप