शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् जसपाका मन्त्री : तीन मधेसी, एक जनजाति

शुक्रबार, २२ असोज २०७८, १६ : २५
शुक्रबार, २२ असोज २०७८

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री पठाएको छ । काठमाडौंका सांसद राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा रेणुकुमारी यादव, रामसहाय प्रसाद यादव र महिन्द्र राय यादवलाई जसपाले सरकारमा पठाइएको छ । राजेन्द्र, महिन्द्र र रेणुकुमारी यसअघि पनि मन्त्री भएका थिए भने रामसहाय प्रसाद पहिलोपटक मन्त्री बनेका हुन् । मन्त्री छान्नका लागि निकै लामो सकसमा परेको जसपाले अन्तत  एकजना आदिवासी जनजाति र तीनजना मधेसी समुदायका नेताहरुलाई प्राथमिकता दिएको छ, जसमा एक महिलासमेत छिन् ।

जसपाले सरकारमा सहभागी हुँदा बराबर मन्त्रालय पाउनुपर्ने मागदाबी गरेको थियो । सुरुमा उसले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै सरकारमा जाने बताएको थियो । जसपाकै कारणले सरकार गठनमा ढिलाइ भएको काँग्रेस नेताहरुले बताउँदै आएको थियो । सरकारमा जाने र जान नपाउनेबीच मनमुटाब बढ्ने र यही कारणले जसपा फेरि फुट्ने कतिपयले अनुमान गरिरहेका बेला जसपाले असन्तुष्ट पक्षकी नेतृ रेणु यादवलाई समेत मन्त्रीमा समेटेर पार्टीभित्रको समीकरण मिलाउने प्रयास गरेको छ ।     

यस्तो छ, जसपाबाट मन्त्री बनेका ४ जनाको ब्यक्तिगत विवरण :

राजेन्द्रप्रसाद श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

कम्युनिष्ट पार्टीबाट राजनीति सुरु गरेका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ हाल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य छन् । काठमाडौं महानगरपालिका वडा नंबर १७, क्षेत्रपाटी स्थायी ठेगाना रहेका श्रेष्ठ २०१६ साल चैत १७ गते सिन्धुपाल्चोकमा जन्मिएका थिए ।

श्रेष्ठको परिवारमा श्रीमती र दुई छोरी छन् । एमबीए सम्मको अध्ययन गरेका उनी २०३४ सालदेखि नेकपा चौमबाट सक्रिय राजनीतिमा अघि बढेका हुन् । २०३९ सालमा नेकपा मालेमा भूमिगत रूपमा सक्रिय भएका उनी मालेबाटै काठमाडौं नगर समितिको विशेष जिम्मेवारीमा रहेका थिए । जिल्ला कमिटी र उपत्यका विशेष समन्वय समितिमा सक्रिय रहेका श्रेष्ठ २०४९ सालमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य भएका थिए ।

एमाले परित्याग गरी संघीय समाजवादी पार्टीको संस्थापक महासचिव, समाजवादी पार्टीको सहअध्यक्ष हुँदै हाल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य रहेका छन् ।

मन्त्री श्रेष्ठ मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ विजयी भएका थिए । यस्तै प्रतिनिधिसभा निर्वाचन २०७४ मा समाजवादी पार्टीको तर्फबाट समानुपातिक प्रणालीबाट सांसद भएका हुन् ।  २०५५ सालमा आवास तथा भौतिक योजनामन्त्री रहेका उनको विशेष रुचिको क्षेत्र अर्थ व्यवस्थाको अध्ययन, लेखन रहेको छ ।

राजनीति अघिको व्यापार व्यवसायमा संलग्न रहेका उनी विभिन्न राजनीतिक आन्दोलनका क्रममा  पटक–पटक प्रहरी हिरासतमा बसेका थिए । लामो समयसम्म नेकपा एमालेमा रहेका मन्त्री श्रेष्ठले २०६९ सालमा एमाले परित्याग गरेका थिए ।  श्रेष्ठका विश्वका संघीय राज्यहरू, संविधानसभा र नेपालको बाटो नामक पुस्तक २०६६ सालमा प्रकाशन भएको छ ।

रेणुकुमारी यादव, भौतिक पूर्वाधार मन्त्री

भारतमा जन्मिएर नेपालको राजनीतिमा सक्रिय रहेकी मन्त्री रेणुकुमारी यादव विगतमा पटक–पटक सांसद र मन्त्री भएकी थिइन् । २०२० असार ६ गते भारतमा जन्मिएकी मन्त्री रेणुकुमारी यादवको स्थायी ठेगाना खड्गपुर, सप्तरी हो । उनको परिवारमा श्रीमान अशोककुमार यादवको मृत्यु भएको छ भने सन्तानका रुपमा एक छोरा छन् ।

स्नातक तहसम्मको अध्ययन गरेकी मन्त्री यादव २०४७ सालदेखि राजनीतिमा आबद्ध भएकी हुन् । उनी २०४७ सालमा नेपाली कांग्रेसको महिला संघको अध्यक्ष भएकी थिइन् । कांग्रेस परित्याग गरेर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सहायक महामन्त्रीको जिम्मेवारी हासिल गरेकी थिइन् ।

​मधेस आन्दोलनपछि राप्रपा परित्याग गरी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेकी उनी फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरणपछि संघीय समाजवादी फोरम नेपालमा केन्द्रीय उपाध्यक्ष  भएकी थिइन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सप्तरीबाट राप्रपाका तर्फबाट निर्वाचित सांसद रहेकी उनी संविधानसभा सदस्य निर्वाचन २०६४ मा सप्तरी ४ बाट फोरम नेपालबाट निर्वाचित भएकी थिइन् ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा संघीय समाजवादी पार्टीबाट उनी समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् । विगतमा उनी २०६५ सालमा शिक्षामन्त्री र २०६० सालमा महिला बालबालिका तथा समाज कल्याण र विज्ञान तथा वातावरण राज्यमन्त्री भएकी थिइन् । राजनीति अघि उनी कृषि पेशा र समाजसेवामा आवद्ध थिइन् ।

रामसहाय प्रसाद यादव, वन तथा वातावरण मन्त्री

राजनीति अघि शिक्षण पेशमा रहेका मन्त्री रामसहाय प्रसाद यादवको स्थायी ठेगाना सिम्रौनगढ नगरपालिका ३, बारा हो । २०२७ साउन ९ गते जन्मिएका यादवको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । बीएस्सी, बिएडसम्म अध्ययन गरेका यादव २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध रहेर राजनीति सुरु गरेका थिए ।

२०६० सालमा संघीय समाजवादी फोरमको संस्थापक बारा जिल्ला अध्यक्ष रहेका उनी नेपाल शिक्षक मञ्चको केन्द्रीय पदाधिकारी रहेका थिए । २०६५ सालदेखि २०७५ सालसम्म संघीय समाजवादी पार्टीका महासचिव रहेका छन् ।

२०६४ मा संविधानसभा सदस्यमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरेका यादव प्रतिनिधिसभाको निर्वाचन २०७४ मा बारा २ बाट निर्वाचित भएका थिए ।  राजनीति अघि उनी १७ बर्ष शिक्षण पेशामा रहेका थिए ।

महिन्द्र राय यादव, कृषिमन्त्री

कम्युनिष्ट पार्टीको सदस्यता लिई राजनीतिक यात्रा सुरु गरेका मन्त्री महिन्द्र राय यादव हाल जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रहेका छन् ।

हरिपूर्वा नगरपालिका ९, सर्लाही स्थायी ठेगाना भएका यादव २०११ असार १५ गते जन्मिएका थिए ।  उनको परिवारमा श्रीमती, तीन छोरा र तीन छोरी छन् । एसएलसी सम्म अध्ययन गरेका यादवको राजनीतिक यात्रा २०३७ सालबाट कम्युनिष्ट पार्टीको सदस्यता लिई सुरु भएको थियो ।  उनी विगतमा नेकपा एमालेका केन्द्रीय सदस्य र पार्षद समेत रहेका थिए ।

२०६२/६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी उनले तराई मधेस लोकतान्त्रिक पार्टी  स्थापना गरेर त्यसको महासचिव बनेका थिए । तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र नेतृत्व, राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य हुँदै हाल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारीणी सदस्य रहेका छन् ।

मन्त्री यादवले ५ वटा संसदीय निर्वाचनमा विजयी हासिल गरेका छन् ।  २०५१ सालमा भएको मध्यावधि निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा एमालेको तर्फबाट उनी सर्लाहीबाट निर्वाचित भएका थिए ।

यस्तै २०६४ सालको संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित भएको उनी  दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० सालमा सर्लाही ४ बाट विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा उनी सर्लाही २ बाट निर्वाचित भएका थिए ।

२०५४ सालमा राज्यमन्त्रीको जिम्मेवारी पाएका यादवले २०६४ मा सिंचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए । राजनीतिक आन्दोलनका क्रममा उनी पटक पटक प्रहरी हिरासत तथा थुनामा समेत परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप