रातोपाटी ब्रिफिङ- एमालेमा विवाद ज्युँका त्युँ, सरकारलाई पूर्णता दिने जिम्मेवारी शीर्ष नेतालाई
आज २०७८ असोज १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा एमालेमा १० बुँदे कार्यान्वयन सम्बन्धी विवाद ज्युँका त्युँ, पालिकाहरुमा काँग्रेसले छान्यो नेतृत्व, सरकारलाई पूर्णता दिने जिम्मेवारी गठबन्धनका शीर्ष नेतालाई, सांसदले नै चलाउँछन् लाइसेन्सबिना गाडी, कपनको ढलमा खसेर हराएका बालकको शव ललितपुरमा भेटियो, चीनसँगको सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन, एनआरएनएमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त लगायत छन् ।
१. एमालेमा १० बुँदे कार्यान्वयन सम्बन्धी विवाद ज्युँका त्युँ
नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी विवादलाई ज्युँका त्युँ छाड्दै केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । सो विवादलाई स्थायी कमिटीमा छलफल गरिने भएको छ । सोही अनुसार सोमबार बस्ने गरी स्थायी कमिटी बैठक आह्वान गरिएको छ । पार्टीभित्र तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् । केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमाथि छलफल भएको थियो ।
यो पनि...
२. पालिकाहरुमा काँग्रेसले छान्यो नेतृत्व
नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ६४ जिल्लामा पालिकामा अधिवेशन गरेको छ । अपवादका केही पालिकाबाहेक सबैमा शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका पालिकाहरुमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा धमाधम आइरहेको छ । पालिकाहरुमा काँग्रेसको देउवा पक्ष र पौडेल पक्षबीच नै मुख्य रुपमा नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो ।
३. सरकारलाई पूर्णता दिने जिम्मेवारी गठबन्धनका शीर्ष नेतालाई
सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको हो ।
अध्यादेश र मन्त्रीबारे छलफल गर्न बालुवाटारमा बैठक |
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा सांसद एवं पूर्वमन्त्री गणेश पहाडीले आफूसँग सवारी लाइसेन्स नभए पनि गाडी चलाउने गरेको खुलासा गरेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवकै सामु उनले आफूले लाइसेन्सबिना नै गाडी चलाइरहेको बताएका हुन् । लाइसेन्स लिने प्रक्रिया झन्झटिलो भएको गुनासोसहित उनले यस्तो रहस्योद्घाटन गरेका हुन् ।
५. कपनको ढलमा खसेर हराएका बालकको शव ललितपुरमा भेटियो
कपनको मिलनचोकस्थित ढलमा खसेर हराएका बालकको शव ललितपुरमा फेला परेको छ । असोज ४ गते ढलमा खसेका उनको शव ६ दिनपछि ललितपुरको दुर्गम क्षेत्र घुसेलस्थित बागमती किनारमा फेला परेको हो ।
६. चीनसँगको सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन
नेपाल र चीनको सीमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिका संयोजक सह–सचिव जयनारायण आचार्यले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।
७. राप्रपा होमियो महाधिवेशनमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको राप्रपाले सोहीअनुसार अहिले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ ।
८. एनआरएनएमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त
कात्तिक ३ (अक्टोबर २०) मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । चुनावका लागि अमेरिका निवासी रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्का प्रत्यासी डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
९. कर्णालीमा पहिलो पटक गैरसरकारी विधेयक दर्ता
कर्णाली प्रदेशसभामा पहिलो पटक ‘गैरसरकारी विधेयक’ दर्ता गरिएको छ । जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुनमन्त्री नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गराएका हुन् ।
कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक ‘इन्ट्री’ : के छ विधेयकमा ? |
१०. पछिल्लो २४ घण्टामा ८३४ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ८३४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।
११. र यो पनि,
स्वास्थ्यमा समस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको प्रदेश प्रमुखको कार्यालय हेटौंडाले जनाएको छ ।
काठमाडौँ महानगरको निर्णयसँगै आइतबारदेखि भौतिक रुपमा विद्यालय खुलेका छन् । विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद