शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँको मुखमा खुल्न थाले स्कुल, तस्बिरमा हेर्नुहोस्

आइतबार, १० असोज २०७८, १४ : ५६
आइतबार, १० असोज २०७८

काठमाडौँ महानगरको निर्णयसँगै आइतबारदेखि भौतिकरुपमा विद्यालय खुलेका छन् । विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय गरेको हो । महानगरको शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिएको थियो ।

काठमाडौँको श्री सरस्वती निकेतन माध्यमिक विद्यालय पुग्दा त्यहाँ भौतिक उपस्थितिमा पठनपाठन भइरहेको थियो । विद्यालयका अनुसार अहिले तीनवटा सिफ्टमा कक्षाहरू सञ्चालन भइरहेका छन् । पहिलो सिफ्टमा कक्षा ८ देखि १० सम्म, दोस्रो सिफ्टमा नसरीदेखि कक्षा ३ र तेस्रो सिफ्टमा ४ देखि ७ सम्मका कक्षाहरू पढाइ भइरहेको छ ।

भिडभाड नहोस् भनेर हरेक सिफ्टको बीचमा १ घण्टाको अन्तर राखिएको प्रशासनको भनाइ छ । त्यस्तै, स्वास्थ्य मापदण्डको पालनामा पनि कडाइ गरिएको छ । हरेक घण्टाको अन्तरमा हात धुनुपर्ने, विद्यालय छिर्न अघि सेनिटाइजर प्रयोग गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने जस्ता नियमहरू लागू गरिएको विद्यालयको भनाइ छ ।

दसैँको मुखमा विद्यालयहरू खुलेकोमा अभिभावकहरू चाहिँ अन्योलमा छन् । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दसैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनः सञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारले पनि कम्तीमा पनि दसैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताउँछन् । कोरोना सङ्क्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा सागर राजभण्डारीले पछिल्लो समय फेरि केही मात्रामा कोरोना सङ्क्रमण बढ्दै गएको हुँदा अहिलेकै अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने धारणा राख्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप