शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङको चार पालिकामा सहमतिमा नेतृत्व चयन, ६ पालिकामा सहमति जुटेन

आइतबार, १० असोज २०७८, १३ : ३७
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङका १० वटा पालिकामध्ये चार वटामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सुरु भएको अधिवेशनमा बागलुङका निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । जिल्लाका अन्य ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढाएको बागलुङ काँग्रेसले जनाएको छ । नेतृत्व चयनका लागि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकामा निर्वाचन हुने भएको हो ।

सर्वसम्मत रूपमा नेतृत्व चयन नभएपछि ढोरपाटन नगरपालिकामा शनिबार निर्वाचनबाट नेतृत्व चयन गरिएको छ । ढोरपाटन नगरपालिकाको सभापतिमा धनबहादुर कायत ‘कल्याण’ निर्वाचित भएका छन् । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन भएको चयन गरिएको निर्वाचन अधिकृत हिरालाल पौडेलले बताए । 

सभापतिमा कायतले ८६ र प्रत्याशी दीपक कुमार अदैले ५२ मत प्राप्त गरेका थिए । उपसभापतिमा कृष्ण केसी, रमेश गौतम (गणेश), सचिवमा टीकाराम पाण्डे र दीपेन्द्र विक निर्वाचित भएका छन् । सह–सचिवमा अजित कुँवर क्षत्री र वीरेन्द्र बुढाथोकी सर्वसम्मतिमा चयन भएका छन् ।

शनिबार भएको महाधिवेशनमा निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्तीको नेतृत्वमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । उपसभापतिमा लिलबहादुर कुँवर र धनबहादुर रोका, सचिवमा राजमन बुढा, धनबहादुर खत्री,सह–सचिव मिलन कामी र केरबहादुर विक चयन भएका छन् ।

त्यसैगरी तमानखोला गाउँपालिकामा लिला कुमार छन्त्यालको नेतृत्वमा सर्वसम्मत चयन भएको छ । उपसभापति खिमबहादुर छन्त्याल, गोर्खबहादुर घर्ती, सचिव तेजेन्द्र कुमार पुन, अनिस सिर्पाली सहसचिवमा लिला छन्त्याल र प्रेमबहादुर पुन मगर चयन भएका छन् । 

त्यस्तै ताराखोला गाउँपालिकाको सभापतिमा कमलापति पाठक सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन अधिकृत बमबहादुर घर्तीका अनुसार उप–सभापतिमा शशिकला घर्ती मगर, श्यामभक्त कँडेल, सचिवमा खेमराज गैरे, नवराज सुवेदी, सह–सचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा चयन भएका छन् ।  

त्यस्तै काठेखोला गाउँपालिकामा यामदत्त कँडेलको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उपसभापतिमा खडकबहादुर कार्की, गौरीशंकर शर्मा, सचिव चन्द्रकुमार पुन, देवेन्द्रबहादुर क्षेत्री, सह–सचिव महेन्द्र पुन र हरिकला थापा चयन भएका छन् । 

बडिगाड गाउँपालिकामा पदाधिकारीको टुङ्गो लागेको छैन । अन्य पदमा टुङ्गो लगाए पनि पदाधिकारी टुङ्गो लाग्न नसकेपछि निर्वाचन हुने भएको छ । त्यसैगरी बरेङ गाउँपालिकामा सर्वसम्मतिको प्रयास असफल भएको छ । सभापतिमा धेरैको आकाङ्क्षी धेरै रहेको बताइएको छ । 

बागलुङ नगरपालिकामा सर्वसम्मति हुन नसकेपछि बिहान ८ बजे देखि निर्वाचन भइरहेको छ । यस्तै जैमिनी नगरपालिकामा पनि पदाधिकारी टुङ्ग्याउन नसकेपछि निर्वाचन भइरहेको छ । सभापतिमा काशीराम आचार्य, प्रेम सापकोटा, उपसभापतिमा ओमबहादुर केसी, किरण शर्मा र विमल श्रीस, सचिवमा बोमबहादुर क्षेत्री, नारायण अधिकारी, शिवकुमार श्रीस, सह–सचिवमा ईश्वरीप्रसाद चापागाइँ, डिल्लीराज पौडेल, दीपक सुवेदी र विमल आचार्यले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी गलकोट नगरपालिकामा पनि आज निर्वाचन भइरहेको छ । सचिव र सभापतिमा धेरैको उम्मेदवारी दिएकाले सर्वसम्मतिको प्रयास असफल भएको हो । सभापतिमा ३ जना, उपसभापतिमा २, सचिवमा ७ जना र सह–सचिवमा २ जनाले मनोनयन दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप