शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएमा त्रिपक्षीय भिडन्त : कुन उम्मेदवार कस्ता ?

आइतबार, १० असोज २०७८, १० : ००
आइतबार, १० असोज २०७८

कात्तिक ३ (अक्टोबर २०) मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआएनए) को निर्वाचनमा अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । चुनावका लागि अमेरिका निवासी रविना थापाले आफ्नो टीमसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्न लागेका छन् । त्यस्तै अर्का प्रत्यासी डा. बद्री केसीले पनि काठमाडौंबाटै उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्थाका रुपमा परिचित एनआरएनएको चुनाव आउनुअघि नै नेतृत्वका लागि तीव्र लबिङ भइरहेको छ । यस क्रममा आन्तरिक समीकरण मिलाउन, चुनावी रणनीति तय गर्न, एजेण्डाहरु सेटिङ गर्न र अघोषित प्यानल बनाउन एनआरएनएहरु व्यस्त छन् ।

जसरी पनि चुनाव जित्ने लक्ष्यका साथ तीनै उम्मेदवारले आ–आफ्नो पक्षमा माहौल बनाइरहँदा दुई उम्मेदवारले हार्ने निश्चित  छ । तर, कसले हार्छ, अहिले नै भन्न सकिँदैन । चुनाव नजिकिएसँगै राजनीतिक दाउपेच, गुटबन्दी र गठबन्धनको प्रयास पनि भइरहेको देखिन्छ ।

संस्थापन पक्षका निकट उम्मेदवार बद्री केसीलाई एनआरएनएकै केही प्रभावशाली व्यक्तित्व र एमालेको समर्थन रहेको छ भने कुल आचार्यलाई काँग्रेस र माओवादीको समेत समर्थन छ । उनलाई एमालेकै माधव नेपाल निकटस्थ एनआरएनएहरुको पनि भोट झर्ने अनुमान गरिएको छ ।

यसैबीच, काँग्रेस निकट नै मानिने रविनाको समेत उम्मेदवारी परेपछि एनआरएनएको चुनाव रोचक बन्ने निश्चित रहेको एक एनआरएनए अभियन्ताले जानकारी दिए ।

रविना थापा : महिला अध्यक्षको इतिहास रच्ने मौका

वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिकी उपाध्यक्ष हुन् रविना थापा । थापाले एनआरएनएको २०२१–२३ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएकी छन् । थापाको टीमबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।  

अमेरिका निवासी थापा सन् २०१५ देखि २०१७ सम्म अमेरिका राष्ट्रिय समन्वय परिषद (एनसीसी) की उपाध्यक्ष थिइन् । जापानमा रहँदा उनी सामाजिक क्षेत्रमा सक्रिय थिइन् । पछि अमेरिका पुगेर एनआरएनएसँग जोडिएकी हुन् । उनको नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय छ ।

एनआरएनएको इतिहासमा अहिलेसम्म महिला नेतृत्वमा नपुगेको भन्दै थापाले आफूले नेतृत्व पाउनुपर्ने दावी अघि सार्दै आएकी छिन् । एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ ।

‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो, उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं,’ बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा थापाले भनिन् ।

अहिले एनआरएनमा कुल सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफू अध्यक्षमा निर्वाचित भए संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउने थापाले बताएकी छिन् ।   उनले अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा गैरआवासीय नागरिकताको एजेन्डालाई पनि प्रमुखताका साथ उठाउने समेत बताएकी छिन् ।

विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको थापाले बताएकी छिन् ।  विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपबाट नेपालमा धेरैजनालाई सिपयुक्त बनाउन सकिने उनको भनाइ छ ।

रविनालाई काँग्रेसकै एउटा समूहले साथ दिएको छ । जसका कारण काँग्रेस निकटकै कुल आचार्यलाई धक्का लाग्ने देखिन्छ । धक्का यस अर्थमा पनि कि अघिल्लो चुनावमा थापा आचार्यकै टिमबाट सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा विजयी भएकी हुन् ।

थापाले यसपटक चुनाव जितिन् भने उनले एनआएनएको पहिलो महिला अध्यक्षको इतिहास रच्नेछिन् । थापाले महिलाहरुको सहानुभूति भोटलाई आकर्षित गर्ने सम्भावना छ । तर, उनीसँग वामपन्थी र लोकतान्त्रिक मतदातालाई पनि आफूतिर तान्नुपर्ने चुनौती छ । थापाले कुल आचार्य र बद्री केसीको भिडन्तबाट कति फाइदा लिन सक्छिन्, उनको जीत त्यसैमा निर्भर रहनेछ ।   

कुल आचार्य : गठबन्धन बनाएर दोस्रो प्रयास

बेलायतमा मूलतः रेस्टुरेन्ट व्यवसायमा जमेका आचार्यको यो दोस्रो प्रयास हुनेछ । अघिल्लो कार्यकालमा उनी कुमार पन्तसँग अध्यक्षमा पराजित भएका थिए ।

पर्वतको जलजलामा जन्मिएका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् । उनी सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आवद्ध छन् ।

आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । यस्तै सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

आचार्यले आइतबार उम्मेदवारी घोषणा गर्नुअघि गृहजिल्ला पर्वत पुगेर आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका थिए । जसअनुसार उनले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीको भावनाअनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए ।

प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था गर्ने, दोहोरो श्रम स्वीकृति सहज बनाउने र एनआरएनएको लगानीलाई पारदर्शी एवं मुनाफामुलक बनाउने मुद्दालाई अघि सारेको आचार्यको भनाइ छ ।

यसबाहेक नेपालबाट पुँजी पलायन रोक्ने र बाहिरबाट पुँजी भित्र्याउने विषयमा बहस गर्नुपर्ने आचार्यको भनाइ छ । नेपालबाट विदेशिने कामदारको क्षमता र दक्षता बढाउन सरकारी निकायसँग समन्वय गरेर  प्रयास गर्ने पनि आचार्यको प्रतिवद्धता छ ।

प्रजातान्त्रिक खेमाकै एउटा समूहको साथ नपाए पनि कुल आचार्यले नेपाली काँग्रेसबाट संस्थागत साथ पाएका छन् । काँग्रेसले आचार्यलाई सघाउने घोषणा गरिसकेको छ । साथै नेपालमा बनेको काँग्रेस–वाम गठबन्धनको प्रभाव एनआएनमा पनि पर्ने र आफूले आफूले माओवादी र माधव नेपाल पक्षसँग निकट रहेका नेपालीहरुको पनि भोट पाउने आचार्यको अपेक्षा देखिन्छ । तर, यसका लागि उम्मेदवारी घोषणा गर्दाखेरि नै सबैलाई चित्तबुझ्ने गरी गठबन्धन बनाउनुपर्ने आचार्य सामु चुनौती छ ।

अर्कोतर्फ काँग्रेस पृष्ठभूमिबाट रविना थापा आचार्यका लागि अर्को चुनौती बन्न सक्छिन् । अर्कातिर, बद्री केसीले पनि काँग्रेस समर्थकका केही भोट काट्ने सम्भावना छ ।

डा. बद्री केसी : एमालेको साथ

काठमाडौंको फर्पिङमा जन्मिएका केसी एनआरएनएभित्र बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी भएका उनले एनआरएनएलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइनुपर्नेमा जोड दिँदै आएका छन् । यद्यपि उनी आफैंपनि एमालेको समर्थनमा एनआरएनएको अध्यक्ष बन्न लागेका छन् ।

केसीले एनआरएनएको संस्थागत सुद्धीकरण, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् । यस्तै, उनले संस्थामा दोस्रो पुस्ताको सहभागितामा पनि जोड दिँदै आएका छन् ।

संस्थामा केसी सन् २००३ देखि निरन्तर छन् । डा. केसी २००७ सम्म आइसीसी रुसको सदस्य थिए । २००७ देखि ००९ सम्म आइसीसी रुसको महासचिव भएर काम गरे । २००९ देखि दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य भए । २०१३ –२०१५ मा कोषाध्यक्ष चयन भए । त्यसपछिका दुई कार्यकाल महासचिव र हाल कुमार पन्तको कार्यसमितिमा उपाध्यक्ष छन् । केसीले बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पीएचडी गरेका छन् ।

वौद्धिक व्यक्तित्वका परिचित केसीलाई यसपटक केपी ओली नेतृत्वको एमालेले बलियो साथ दिने संकेत देखिए पनि एमाले फुटेका कारण केसीलाई एमाले समर्थकहरुको सबै भोट नझर्न सक्छ । यो अवस्थामा केसीले गठबन्धनका भोट र रविना थापालाई झर्ने स्वतन्त्र भोट कति आफूतिर खिच्न सक्छन्, त्यसैमा उनको जीत निर्भर रहनेछ । तर, गठबन्धनलाई चिर्नु केसीका सामु उत्पन्न चुनौती हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप