बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा देउवा र पौडेल पक्षबीच रस्साकस्सी, कहाँ को विजयी ?

आइतबार, १० असोज २०७८, १७ : ०९
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोटको सबै पालिकाहरुमा गाउँ तथा  नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले नुवाकोटको २ नगरपालिका र १० वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।  काँग्रेसले ४ वटा स्थानीय तहहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ भने ८ वटा स्थानीय तहहरुमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरेको हो ।

जिल्लाको सूर्यगढी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र लिखु गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । नुवाकोटको ६ वटा स्थानीय तहमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता अर्जुन नरसिंह केसी पक्षले विजयी हासिल गरेको छ भने अन्य ६ स्थानीय तहमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । नुवाकोट नेता अर्जुन नरसिंह केसीको गृह जिल्लासमेत हो ।

किस्पाङमा लामा सर्वसम्मत चयन

काँग्रेस किस्पाङ गाउँपालिकाको सभापतिमा रणबहादुर लामा सर्वसम्मत रुपमा चयन भए शनिवार भएको काँग्रेसको १४ औ अधिवेशनबाट सर्व सहमत रुपमा सहमतिमा चयन भएका हुन् । उनी किस्पाङ गाउँपालिकाका पुर्व सभापति समेत हुन् ।

सुर्यगढीमा प्याकुरेल सर्वसम्मत

यसैगरी काँग्रेस सुर्यगढी गाउँपालिकाको सभापतिमा शंकर प्याकुरेल सर्वसम्मत चयन भए ।  सभापतिका लागि अन्य दुई जनाले पनि दावेदारी प्रस्तुत गरेको भएपनि आन्तरिक छलफलबाट प्याकुरेलको पक्षमा सहमती जुटेको थियो ।

लिखुमा पाठक सर्वसम्मत

नुवाकोटको लिखु गाउँपालिकाको काँग्रेसको गाउँ सभापतिमा विनोद पाठक निर्विरोध सर्वसम्मत चयन भए ।  शनिवार भएको गाउँ अधिवेशनमा आन्तरिक सहमती गर्दै सभापतिमा पाठक सर्वसम्मत चयन भएका हुन् । उनी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी निकट मानिन्छन् ।

दुप्चेश्वमा तामाङ सर्वसम्मत

काँग्रेस दुप्चेश्वर गाउँपालिकाको सभापतिमा रोजलाल तामाङ सर्वसम्मत चयन भए । आन्तरिक सहमतिबाट तामाङलाई काँग्रेसको आगामी नेतृत्व प्रदान गरेको हो ।

ककनीमा भाग्यश्री निर्वाचित

नेपाली काँग्रेस ककनी गाउँपालिकाको सभापतिमा भाग्यश्री लामा निर्वाचित भए । अधिवेशनमा भाग्यश्रीले निकटतम प्रतिद्वन्द्वी अशोक लामालाई २३ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

भाग्यश्रीले ८० मत प्राप्त गरेका थिए भने अशोकले ५७ पाएका छन् । भाग्यश्री केसी समूहका हुन् ।

शिवपुरीमा गुरुङ निर्वाचित

नेपाली काँग्रेस शिवपुरी गाउँपालिकाको सभापतिमा कविराज गुरुङ निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको गाउँ नगर अधिवेशनमा गुरुङले निकटतम प्रतिद्वन्द्वी माधव प्रसाद भेटुवाललाई २० मत अन्तरले पराजित गरेका हुन् ।

सभापति गुरुङले ८८ मत प्राप्त गर्दा भेटुवालले ६५ मत पाएका थिए । गुरुङ देउवा पक्षका नेता मानिन्छन् ।

पन्चकन्यामा खनाल निर्वाचित

काँग्रेसको पन्चकन्या गाउँपालिकाको सभापतिमा माधव खनाल निर्वाचित भए ।अधिवेशनमा खनालले निकटतम प्रतिद्वन्द्वी यमबहादुर थापालाई ११ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

खनालले ८१ म प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी थापाले ६९ मत प्राप्त गरेका थिए । खनाल देउवा निकटका नेता हुन् ।

विदुरमा १ मतले श्रेष्ठ निर्वाचित

नेपाली काँग्रेसको विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ निर्वाचित भए । अधिवेशनमा श्रेष्ठले निकटम प्रतिद्धन्दी बद्री रिमाललाई एक मतले पराजित गरेका हुन् । श्रेष्ठले १३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी रिमालले १३५ मत प्राप्त गरेका थिए । उनी अर्जुन नरसिंह केसी पक्षधर मानिन्छन् ।

तार्केश्वरमा अर्याल निर्वाचित

नेपाली काँग्रेस तार्केश्वर गाउँपालिकाको सभापतिमा केशव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको गाउँ अधिवेशनबाट नेपाली काँग्रेसको नेता अर्जुन नरसिंह केसी पक्षधर मानिने अर्याल विजयी भएका हुन् ।

बेलकोटगढीमा मुडभरी निर्वाचित

नेपाली काँग्रेस बेलकोटगढी नगरपालिकाको सभापतिमा लेखनाथ मुडभरी निर्वाचित भए । अधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका हुन् ।  उनी नेपाली काँग्रेसको नेता अर्जुन नरसिंह केसी पक्षधर मानिन्छन् ।

म्यागङमा तामाङ निर्वाचित

म्यागङ गाउँपालिकाको काँग्रेस सभापतिमा सिंहराज तामाङ निर्वाचित भए । शनिबार भएको गाउँ अधिवेशनबाट तामाङ सभापतिमा निर्वाचित भएका हुन् ।  उनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

तादीमा पाण्डे निर्वाचित 

नुवाकोटको तादी गाउँपालिकाको काँग्रेस सभापतिमा नारायण पाण्डे निर्वाचित भएका छन् । अधिवेशनबाट पाण्डे सभापतिमा निर्वाचित भएका हुन् । उनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

नुवाकोटमा देउवा पक्षबाट सहमहामन्त्री प्रकाशशरण महतले सक्रियता बढाएका थिए भने पौडेल पक्षबाट केसीले सक्रियता बढाएका थिए । यस्तै पौडेल समूहमै अर्का प्रभावशाली नेता रामशरण महत पनि रहेका छन् । नुवाकोटमा केसी र महत परिवारको राजनीतिक लडाइँ समेत हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप