केन्द्रीय संस्करण

मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन् : ‘भोटको कुरा गर्दै नगर्नुस्’

person access_timeभदौ २६, २०७४ chat_bubble_outline0

नेत्र पन्थी र एसके यादव

रौतहट । सर्लाहीको मलङ्गवा नगरपालिकाको वडा नम्बर ४ मा रहेको मिकरानी टोलमा मेयरमा तीन उम्मेद्वार छन् भने एक उपमेयरका उम्मेद्वार छन् । यही कारण यो टोलमा चुनावको निकै ठूलो तामझाम छ । उम्मेद्वारका घरमा भीडभाड छ । गाडीको लावालस्कर देखिन्छ । जहाँत्यहीँ झण्डैझण्डा टाँगिएका छन् । तर, यही टोलमा एउटा यस्तो परिवार छ, जसलाई स्थानीय तहको चुनावसँग कुनै सरोकार छैन । यो परिवार चुनाव नजिकै आउँदा पनि असोज २ गते भोट हाल्ने वा नहाल्ने भन्नेमा अहिलेसम्म द्विविधामै छ ।

हो, हामी त्यस्तो परिवारको कुरा गरिरहेका छौँ, जसले मधेश आन्दोलनमा परिवारको सदस्य गुमायो । २०६४ को पहिलो मधेश आन्दोलनमा आफ्नो छोरा गुमाएका अब्दुल वहाब मिकरानीको परिवारलाई चुनावले छोएकै छैन । अब्दुलका छोरा आशिक अली मिकरानी मधेश आन्दोलनमा मारिँदा मात्र १६ वर्षका थिए । हामी शहीद आशिकको घरपुगेर परिचय गर्दागर्दै उनकी आमा रौशन आराको आँखाबाट आँसु रसाउन थालेका थिए । छोरा गुमाएको ११ बर्ष भयो । तर, आमा बुवाले हरेक दिन आशिकलाई सम्झेका छन् । 

मधेश आन्दोलनसँग जोडिएको परिवार भएकाले अब्दुलको परिवार तराई–मधेशमा हुने राजनतिक घटनाक्रम र चुनावसँग टाढा हुने कुरा भएन । त्यही कारण यो परिवारले स्थानीय तहको चुनावमा कुनै न कुनै पदमा उम्मेद्वारी दिने मन बनाएको थियो । तर, कुनै पनि दल उनको घरमा पुगेन । शहीद परिवारको चुनावबारे इच्छा जान्ने मन कसैले गरेन ।

शहीद आशिकका बुवा अब्दुलले भने, ‘पार्टीले सोधेको भए, मलङ्गवामा मेयरको उम्मेद्वारी दिने मन थियो । परिवारका सदस्य मध्ये केही न केही पदमा लड्न चाहेका थियौँ । तर, सोध्न कोही आएन ।’

यही कुरा आशिककी आमा रौशनले पनि गुनासो गरिन् । ‘चुनावको टिकटवारे कसैले केही सोधेनन् । सोधेको भए चुनाव लड्थौँ ।’

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

अब्दुलको परिवार उपेन्द्र यादवको संघीय समाजवादी फोरम, नेपालसँग सरोकार राख्दो रहेछ । अचम्म यस्तो देखियो कि मङ्लगवा नगरपालिकामा फोरम नेपालले मेयरमा उम्मेद्वारी दिएको छैन् । तर, उम्मेद्वार हुन चाहेको परिवार इच्छा भएर पनि लड्न पाएको छैन । तर, यो परिवार अहिले सक्रिय राजनीतिमा छैन ।

अब्दुल र रौशनका अनुसार उनको छोराले ज्यान गुमाएको वर्ष फोरमका नेताहरु घरमा आएका थिए । त्यसपछि ती नेताहरु घरमा एक पटक पनि आएका छैनन् । दुःख सुखवारे केही सोधेका पनि छैनन् । नेताहरुको यस्तो रवैयाप्रति यो परिवार निकै दुःखी रहेछ । अब्दुलले भने, ‘चित्त दुखेपछि पार्टीको काम छाडेर बसेको छु ।’

चुनावनजिकै आएकाले उम्मेद्वारहरु घरदैलो कार्यक्रममा आफ्नो घर आउन सक्ने अब्दुल र रौशनको भनाई छ । तर, भोट माग्ने नेताहरुलाई के जवाफ दिने भन्ने उनीहरुसँग उत्तर तयार छ । ‘तपाईंहरुको राजनीति देखेर मलाई दुःख लाग्यो । हाम्रो परिवार यसप्रति धेरै दुखी छ । तपाईं आउनु भयो यहाँलाई स्वागत गरेँ । तर, हाम्रो घरमा भोटको कुरा गर्दै नगर्नुहोस् ।’ शहीदका बुबा अब्दुलले भोट माग्न आउने नेतालाई दिन तयार पारेको जवाफ हो यो ।
आमको भनाई थियो, ‘भोट हाल्ने मनै छैन ।’

उनको घर चारैतिर करिब एक सय मिटरको आसपास मेयरका तीन र उपमेयरका एक उम्मेद्वार छन् । तर, उनीहरु पनि यो शहीद परिवारको घरमा पुगेका छैनन् । उनको घरको नजिकै राजपाका मेयर र उपमेयरका उम्मेद्वार छन् । एमालेका मेयर र उपमेयर पनि उनको घरबाट बिल्कुलै नजिक छन् । हामीले शहीदको घर नजिकै रहेका एमालेका मेयरका उम्मेद्वार भेट्यौँ, उनले मधेश आन्दोलनको कुरा पनि गरेनन् । शहीदको कुरा त टाढाको विषय भयो । राजपाका मेयरका उम्मेद्वारले पनि शहीदका विषय केही शब्द खर्चेनन् ।

शहीदकी आमा रौशनले आफ्नो छोराको रगतसँग नेताहरु पद र सुविधा साटेको आरोप लगाइन् । ‘छोराको रगत बगेर नेताहरुले अधिकार पाए । पद पाए । अवसर पाए । हामीलाई भुले,’ उनले भनिन्, ‘मेरो छोराल जे गर्यो ठीक गर्यो ।’ उनले पहिलो मधेश आन्दोलनपछि भएका अरु आन्दोलनको औचित्यमाथि भने प्रश्न उठाइन् ।

मधेश आन्दोलनका शहीदलाई सरकारले १० लाख रुपैयाँ राहत दिएको थियो । यो परिवारले पनि राहत पाएको छ । जब हामीले यो रकम कहाँ खर्च गर्नुभयो भनेर प्रश्न गर्यौँ, आशिकका बुवा र आमाले पालैपालो जवाफ दिए । बुवाको जवाफ थियो, ‘जग्गा किन्यौँ । घर बनायौँ ।’

बुवाले सिधा जवाफ दिएपनि आमाले भावनात्मक कुरा गरिन् । ‘मेरो छोरा मरेको ११ बर्ष भयो । उ जिउँदो भएको भए दश लाख होइन धेरै पैसा कमाउँथ्यो । पैसासँग छोराको तुलना हुनै सक्दैन ।’

यो शिक्षित परिवार रहेछ । छोरा, छोरी वा बुहारीको नोकरीका लागि परिवारले धेरे पहल गरेको रहेछ । तर, नेताहरुले यसमा ध्यानै नदिएको उनीहरुको गुनासो छ । ‘पचासौँ पटक काठमाडौं गएर नेता भेटेँ, तर काम दिएनन्, आश्वसन मात्र दिए,’ अब्दुलले गुनासो गरे, ‘अब त थाकियो नै ।’ आमा रौशनले नामै लिएर भनिन्, ‘उपेन्द्रले हामीप्रति ध्यानै दिएनन् ।’

अहिले यो परिवारको आर्थिक अवस्था राम्रो भएको छ । अब्दुलका दुई छोरा वैदेशिक रोजगारी गरेर फर्केका छन् । एक  छोरा चाही बोल्न सक्दैनन् । बुवा आमासँगै घरमा बस्छन् ।
सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६ सय मतदाता छन् । यो मतदाताको सूचीमा शहीद आशिकको परिवारका सदस्यको पनि नाम छ ।

अब्दुलले अहिले चलाउने मोबाइल नम्वर यस्तो छ जसले शहीद आशिकको विरासत बोकेको छ । आशिकले रातभर लाइन बसेर ऊ नम्बर ल्याएका रहेछन् । नम्बर ल्याएको केही समयपछि उनको मृत्यु भएको रहेछ । त्यहीँ नम्वर शहीद आशिकका बुवाले चलाइरहेका छन् । आन्दोलनका क्रममा छातीमा गोली लागेपछि आशिकको घटनास्थलमै मृत्यु भएको थियो ।

शहीद आशिकको परिवारमा जस्तै रौतहटमा हामीले अर्को शहीद परिवार भेट्यौँ, जसलाई चुनावसँग कुनै सरोकार थिएन । रौतहटको राजपुर नगरपालिका–७ बलुवामा भेटिए, शहीद शेख महीरुद्दिन ओस्ता । तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तर्गत असोज २ गतेको मतदान हुन एक साता पनि बाँकी छैन । तर, शहीद शेख महीरुद्दिन ओस्ताका ४५ बर्षीया पत्नी समिना खातुन अभैm चुनावमा भोट हाल्ने वा नहाल्ने भन्ने निश्कर्षमा पुगेकी छैनन् ।

हालैको बाढीमा डुवान भोगेको बलुवा पुग्न हामीलाई निकै गाह्रो भयो । बाढीले डुबाएको घरको बाहिर बसेकी समिनाको अनुहार मलिनो थियो । उनी मैथली भाषा मात्र बुझ्न सक्थिन् । ‘चुनाव लागेको छ भोट माग्न आउनेलाई के भन्नुहुन्छ ?’ हामीले प्रश्न गर्यौँ । समिनाले भनिन्, ‘हाम्रो मान्छे मरेको छ । दुःख पाएका छौँ । दुःखमा आउनु भएन । अहिले भोट माग्न आउनुभएको छ । यही जवाफ दिन्छु ।’ उनले भोट हाल्ने विषयमा केही मन नबनाएको पनि खुलाइन् । ‘म भोट हाल्न जाने वा नजाने अहिले केही सोचेकी छैन । भोट हाल्ने दिन हेरौँला । मन लागे जान्छु, नलागे जान्न ।’ समिनाले असोज २ गतेको चुनावबारे आफ्नो कुरा राखिन् ।


 
तर, उनको घरमा राजपाका एक उम्मेदवार आएर आफै चुनावी पोस्टर टाँगेर हिँडेका छन् । यो परिवारले हटाउन सकेको छैन । यसमा पनि शहीद शेख महीरुद्दिनकी ७० बर्षकी आमाआरवुन खातुनले कारण खोलाइन् । ‘गाउँको मुखिया चुन्न भोट हाल्ने हो । दुःख पर्दा सहयोग गर्छन् भन्ने आशा छ ।’
 
आमा आरबुन एकपछि अर्को प्रश्नको जवाफ दिन अगाडि सरेकी हुन्थिन् तर पत्नी समिना चाहीँ बोल्न धेरै कठिन मानिरहेकी थिइन् । समिनाका अनुसार घरमा दुःख–सुखका कुरा गर्न र भोट माग्न कोही उम्मेदवार आएका छैनन् । शेख महीरुद्दिन ओस्ताको घर जहाँ छ, त्यसकै नजिकै राजपा र नयाँ शक्तिका उपमेयरका उम्मेदवारको घर छ । काँग्रेस, एमाले, माओवादी र फोरमका मेयरका उम्मेदवार पनि शहीद शेख महीरुद्दिन ओस्ताको घरबाट नजिकै छ । 


यो परिवार आर्थिक अवस्थामा निकै कमजोर रहेछ । शहीद शेख महीरुद्दिन ओस्ताका चार भाई रहेछन् । अब तीन भाई बाँकी छन् । सबै यही घरमा सानो सानो कोठामा अलग अलग बसेका छन् । यो वर्ष तराईमा आएको डुवानले उनीहरुको घर पनि डुब्यो । एक महिना बाहिरै बसे ।  
 
शेख महीरुद्दिन ओस्ताका ६ सन्तान छन् । जेठी छोरीको विवाह भएको छ । कान्छी छोरी अहिले ६ बर्षकी भएकी छिन् । आमाको काखमा बस्दा बेला बेला बाबा खोज्छिन्, तर आमासँग जवाफ हुँदैन । यसबाहेक शेख महीरुद्दिन ओस्ताका दुई छोरा १८ वर्षका जावेद र १६ बर्षका अवेद पढाई छाडेर मुम्बई गएका थिए । बुवाको ४० दिनको काम सकेर मुम्बई गएका उनीहरु बकरइद मनाउन आएका थिए । मुम्बई जानुको पनि कारण छ । साहुसँग यो परिवारले एक लाख ३० हजार ऋण लिएको थियो । त्यहीँ ऋण चुक्ता गर्न साहुले शेख महीरुद्दिन ओस्ताका दुई छोरा मुम्बई लगेर काममा लगाएका थिए । ऋण अझै बाँकी रहेकाले जावेद र अवेद केही दिनपछि फेरि मुम्बई जाँदैछन् । मुम्बईबाट घर फर्केका जावेद र अवेदलाई पनि चुनावसँग कुनै सरोकार छैन । यसबाहेक १० बर्षका साहिद र १३ बर्षका जहिद आमासँगै बस्छन् । उनीहरु पढ्न जान पाएका छैनन् । यसमा शहीद परिवारले गरिवीको कारण देखाएको छ ।
 
शेख महीरुद्दिन ओस्ताकालाई आन्दोलनका क्रममा गोली लागेको थियो । पाँच महिना उपचारमा बित्यो । अन्त्यिमा उनको मृत्यु भयो । शेख महीरुद्दिन ओस्ताका तेस्रो मधेश आन्दोलनका शहीद हुन् ।
 
राज्यले शेख महीरुद्दिन ओस्ताकालाई शहीद घोषणा गरेपछि परिवारले दश लाख पाएको थियो । त्यसमध्ये दश धुर जग्गा खरिद रघरायसी काममा ८ लाख सकियो । २ लाख कान्छी छोरीको विवाहका लागि आमा समिना खातुनले बैंकमा राखेकी छिन् । अहिले दैनिक खर्चको पनि जोहो गर्न कठिन छ । जग्गा नभएकाले कमाएर खाने मेसो पनि छैन ।
 
मधेशी दल आन्दोलनका मृतकलाई शहीद घोषणा गर्न माग गर्दै आएका छन् । र, धेरै जसो शहीद घोषणा भएर राहत पनि पाएका छन् । तत्कालीन मधेशी मोर्चाले सप्तरीको २०७२ भदौ ७ को वैठकबाट मधेश आन्दोलनमा शहादत गर्नेलाई ५० लाख दिने घोषणा गरेको थियो । यो घोषणा पनि शहीदको संख्या बढाउन जिम्मेवार देखियो । मोर्चाको यहीँ निर्णयको दुई सातापछि शेख महीरुद्दिन ओस्तालाई गोली लागेको थियो । त्यसको पाँच महिना पछि उनको मृत्यु भएको थियोे ।
 
मधेश आन्दोलनमा मारिएका सबैलाई राज्यले विभिन्न चरणमा शहीद घोषणा गरेको छ । यहीँ निर्णयपछि मोर्चा चुनावमा जान तयार भएको हो । नेता चुनावका लागि तयार भएपनि शहीद परिवार चाहीँ टाढै बसेका छन् ।
 
मधेशका तीन आन्दोलनमा एक सय भन्दा बढी शहीद भएका छन् । मधेशवादी दलहरुले काठमाडौंमा यी शहीदका विषयमा खुबै कुरा गर्छन् । तर, शहीद घरमा पुग्दा नेताले आफ्नो स्वार्थका लागि यस्तो गरेका हुन् कि भन्ने प्रश्न उठाउन सकिने रहेछ ।

मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ