शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

शनिबार, २४ भदौ २०७४, ११ : ३१
शनिबार, २४ भदौ २०७४

नेत्र पन्थी/ एसके यादव 

जलेश्वर (महोत्तरी)– गृहमन्त्रालयका अनुसार यस बर्षको बाढीले तराईका आठ जिल्ला मध्ये सर्लाहीमा १३, रौतहटमा १८, महोत्तरीमा ९, धनुषामा ३, बारामा तीन, पर्सामा ६ र सप्तरीमा ४ जनाको  ज्यान लियो । सिरहामा मानविय क्षति भएन, अन्य क्षतिबाट भने जोगिएन । 

चुनावको मुखमा बाढी–डुवानबाट भएको क्षति, उद्दार र राहतमा पनि दलहरुले भोेटको राजनीतिक गरिरहेका छन् । तर, बाढी–डुवानबाट पीडित परिवार भने दल र नेताहरुप्रति आक्रोशित छन् । राहत नपाएकोमा कसैले यसपाली ‘नो भोट’ को कुरा गरेका छन् भने कसैले ‘जसले घर बनाइदिन्छ उसैलाई भोट दिने’ बताइरहेका छन् । सरकारले तत्काल उद्दार, राहत र क्षतिपूर्तिमा कुनै कमी नराखेको दाबी गरेको छ । विपक्षीलाई चाहीँ यो कुरा मान्न तयार छैनन् । अर्थात बाढी–डुवानमा सत्तारुढ दल होस् वा विपक्षी सवैले राजनीतिक गर्न खोजिरहेका छन् । 

भाषणमा दलका नेताहरुले बाढीपीडितमाथि न्यान दिन खोजेजस्तो गर्छन । तर, असोज २ मा हुन लागेको स्थानीय तहको चुनावमा चाहीँ बाढीपीडितको मुद्दा ओझेलमा छ । अझ दीर्घकालीन रुपमा यो समस्या हल गर्ने सोच त न उम्मेद्वारमा छन् न त चुनाव लडेका पार्टीका जिल्ला तहका नेतासँग नै यसवारे कुनै योजना छ । केन्द्रबाट धेरै नेता तराई मधेश झरेका छन् । कतिपयको भनाईमा उनीहरुले दवावको राजनीति गरिरहेका छन् । राहत पनि भोटसँग साट्ने गरी बाँडेका छन् । 

उनीहरुको परिवारलाई राज्यले न्यूनतम राहत दियो । पीडितले चिउराबाहेक अरु केही राहत नपाएको पनि बताइरहेका छन् । पीडित परिवारलाई राजनीतिक दलहरुले पनि अलि–अलि सहयोग गरे । तर, चुनावको मुखमा बाँडिएको यो राहत भोटसँग सरोकार थियो । यसको उदारण जलेश्वर नगरपालिकाको ३ नम्वर वडाको मुसहरवस्ती र जनकपुर उपमहानगरपालिकाको वडा नम्वर १ को धर्मवानटोलमा पनि देखियो ।

जब रातोपाटीको टिमले बाढीबाट प्रभावित ती ठाँउको ‘रियालिटी चेक’ गर्यो, अनौंठा विषयबस्तुहरु बाहिर आए । राजनीतिक दलहरु जो चुनावी दौडमा छन्, उनीहरु बाढीपीडितका दुखसँग कति टाढा रहेछन् भन्ने पनि देखियो । 

जलेश्वर नगरपालिकाको ३ नम्वर वडामा रहेको खैरा गाउँ नेपाल–भारत सीमा क्षेत्र हो । सीमा स्तम्भ ३००÷३ ले खैरा र भारतको सीतामढी जिल्लाको सानो भिठ्ठा गाउँलाई छुट्याएको छ । यो सीमा स्तम्भबाट भारतीय क्षेत्रमा जोडिएर खैरा गाउँभन्दा करिब पाँच फिट उचाईको सडक बनाइएको छ । करिव पाँच वर्ष अगाडि बनेको यो सडक अहिले खैरा गाउँको डुबानको मुख्य समस्या बनेर आएको छ ।

खैरामा पुग्दा के महसुस भयो भने प्रदेश २ को दक्षिणी भेगको स्थानीय चुनावी नतिजा बाढी डुवानकै कारण प्रभावित हुने सम्भावना छ । बर्षेनी बाढी र डुवानको चपेटामा पर्ने २ नम्वर प्रदेशका दक्षिणी गाउँमा बाढी र डुवानले जति ताण्डव मच्चाएको थियो, यो दुःखमा दलहरुले जनताको साथ दिएको पाइएन । दलहरुलाई बाढी र डुवान भन्दा चुनावमा टिकट वितरण र जित नै ठूलो लाग्यो । 

चुनावी रिर्पोटिङ्गको शिलशिलामा रातोपाटी टीम मधेशमा छ ।  अरु ठाउँको भन्दा तराई मधेशको चुनाव पेचिलो र रणनीतिक ढंगले फरक हुने हुँदा  हामीले चुनावको गतिविधिलाई सुक्ष्म ढंगबाट अध्ययन गर्दैछौं ।
बाढीसँगै आएको चुनावमा राजनीतिक दलको एजेण्डा र बाढी पीडित मतदाताको मनोवैज्ञानिक बुझ्न हामी बाढी ग्रस्त क्षेत्र जनकपुर उपमहानगरपालि–१ को  मुसहर वस्ती पुग्दा थाहा भयो–  जलाद नदीले बस्तीलाई तहस नहस गरेको रहेछ । मुसहर, मेस्तर, पासवानहरुको वस्ती रहेको सो ठाउँमा हामी पुग्ने वित्तिकै चारैतिरबाट ह्वारह्वारत्ति मान्छे जम्मा भए । 
उनीहरुलाई लाग्यो, राहत वितरणका लागि आएका छन् । जब हामीले राहत वितरणका लागि होइन, अवस्था  बुझ्नका लागि मात्र आएका हौं भन्दा उनीहरु निरास भए ।


उनीहरुले भने, ‘यसरी नाम लेखेर फोटो खिचेर धेरैले धेरै पटक लगि सके तर आजसम्म राहत दिन भने केही पनि आएको छैन ।’
 नदी किनारमा घर बनाएर बसेका विनोद मेसतरले आफ्नो भत्केको घर देखाउँदै भने, ‘हाम्रा लागि सरकार छैन जस्तो लाग्यो, अहिलेसम्म केहि पनि  सोधपुछ गर्न समेत आएका छैनन्, बाढी आएको बेलामा एकदुई जनाले च्युरा र चाउचाउ दिएर गएका थिए त्यसपछि कोही आएको छैन, तपाईहरु जस्तै नाम टिप्न र फोटो खिच्न धेरै आएर गए ।’
‘चुनाव आइसक्यो, नेताहरु पनि आउँछन् र नाम टिपेर जान्छन् तर फर्केर आउँदैनन्, ३५ वर्षीय महेश महराले भने, ‘हामी मतदाता मात्रै हौं, हाम्रो मत लिएर थुप्रै मन्त्री भए, सांसद भए, ठूला ठूला व्यक्ति भए तर मत लिएर गएपछि आजसम्म फर्केर आएका छैनन् ।’ 
यसपाली आफूहरुबाट यस्तो गल्ती नहुने बताउँदै महराले भने, ‘यसपाली हाम्रो वासको व्यवस्था जसले गर्छ त्यसलाई नै मत जान्छ ।’
बाढी पीडितहरु नदी किनारको एलानी जग्गामा जोखिमका साथ बसेका छन् । उनीहरुको वस्ती नसारिएसम्म बाढीको जोखिम  ज्यूकोत्यूँ रहन्छ । विनोद मेसतरले भने, ‘जमिन दिएर अर्कै ठाउँमा वस्ती सारे मात्र हामीले यसपाली कसैलाई मत दिन्छौ ।’ मुसहरको ४२ र मेसतरको ३० घर रहेको सो वस्तीबाट शम्भु पासवानले पनि एक नम्बर वडाको सदस्यमा एमालेबाट उम्मेदवारी दिएका छन् । 


‘ वस्तीको मत शम्भुलाई जाने निश्चित छ, २८ वर्षीय विरेन्द्रकुमार सदा भन्छन्, ‘शम्भुले हाम्रो दुःखसुखमा साथ दिन्छन्, यो बाढीमा पनि हामीले जेजति पाएका छौं उहाँकै मार्फत पाएका छौं, त्यसैले हाम्रो मत उहाँलाई नै जान्छ त्यसबाहेक जसले हाम्रो बस्ती ठडाई दिन्छ, उसैलाई  मत दिन्छौ ।’
महोत्तरीको खैरा वार्ड नम्बर ३ मा रहेको मुसहर बस्ती पनि अझै ठडिएको छैन । घर जसरी लडेको थियो, अहिले जस्ताको त्यस्तै छ । ती बस्तीमा बस्ने मुसहर समुदायका व्यक्तिहरु अझै घर फर्किन सकेका छैनन् । गाउँमा जहाँ बाढीले क्षति गरेको छैन, सोहि आफन्तको घरमा बस्दै आएको उनीहरु बताउँछन् । 


माटोहरु पन्छाउँदै, भत्केका घरहरु लिपपोच गर्दै गरेको अवस्थामा भेटिएका मुसहरहरु नेताहरुको नाम नै सुन्न चाहदैनन् । पटक पटक यहाँबाट हात जोड्दै मत लगेको तर एकपटक पनि फर्केर नआएको गुनासो गर्दै ४४ वर्षीया राजेन्द्र मुखियाले बाढीबाट आफूहरु पीडामा रहेको तर वितगमा आफूहरुको मत लिएर जितेकाहरुले हालसम्म हालचाल पनि सोध्न नआएको गुनासो गरे । 
संविधानसभा चुनावको समयमा मत माग्न आउँदा सडक बनाई दिने, विजुली ल्याइदिने जस्ता आश्वासन दिएर गएकाहरु आजसम्म नफर्किएको अर्का स्थानीय  जोगिन्द्र मुखियाले बताए । 

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

 

मतदाताको रुपमा प्रयोग मात्र गरेको तर दुःखको बेलामा एकपटक पनि नेताहरु नआएको दुखेसको पोख्दै अर्का स्थानीय ६५ वर्षीया मरन मुखियाले भने, ‘घर खसेको महिना वित्न लाग्यो, तर कहाँ बसेका छौ, के खाइरहेका छौं, के अवस्था छ त्यसको बारेमा कसैले सोधखोज गरेको छैन ।’
उनीहरुले मधेशी नेता भन्दा पहाडी नेता ठिक रहेको घतलाग्दो कुरा पनि सुनाए  । मधेशी नेताले  आफूहरुको कुनै पनि काम नगरेको गुनासो गर्दै सुनिल मुखियाले भने, ‘पहाडी नेताहरुलाई जे भन्यो त्यो काम गर्नुहुन्छ, बेलाबेलामा भेट्न र हालचाल सोध्न पनि आउनु हुन्थ्यो, माया गर्नुहुन्थ्यो तर मधेशी नेताहरु भोट लिने दिन मात्र आउनुहुन्छ त्यसपछि कहाँ हराउनु हुन्छ थाह छैन ।’


महोत्तरी क्षेत्र नं. ३ का रामदयाल मण्डललाई आफूहरुले दुःख गरेर जिताएको र जितेपछि पनि धेरै आश्वासन दिएर गएको तर आजसम्म नफर्केको गुनासो गर्दै भोगी मुखियाले भने, ‘यदि त्यही पहाडीले जितेको भए पक्कै पनि आउनु हुन्थ्यो । त्यसैले यसपटकको चुनावमा हामीले यतिकै मत दिँदैनौ, जसले हाम्रो घर बनाई दिन्छ, बाटोघाटो बनाई दिन्न, त्यसलाई मात्र मत दिन्छौ ।’


जलेश्वर नगरपालिकाभित्र पर्ने खैरा गाउँमा न त्यहाँ बाटो छ, न बुजुली छ न विद्यालय नै छ । त्यहाँका युवा तथा केटाकेटीहरु तास खेलेर समय बिताउँछन् । अलि जान्ने बुझ्नेहरु भने भारतको पन्जाव कमाउन गएका छन्, नभए घरमै बसेर समय विताउँछन् ।

बाढी आउँदा पनि यो विषय बनेन एजेन्डा 
बर्षेनी तराई मधेशमा बाढीको कहर आउँछ । यसमा नेपालको राज्य संयन्त्रको पूर्व तयारीको अभाव त रहन्छ नै त्यत्तिकै जिम्मेवार छन् सीमा क्षेत्रमा भारतीय पक्षबाट बनाइएका एकतर्फी बाँध तथा तटबन्धहरु । तर, यो विषय स्थानीय चुनावमा कतै उठेको छैन् । 

रौतहट जिल्ला जहाँ यो बर्षको बाढीमा १८ जनाको ज्यान गयो र अर्वौको अन्य क्षति भयो, यहाँ मात्र भारतीय पक्षले सीमा क्षेत्रमा तीन वटा बाँध बाँधेको छ र त्यसमा नेपालको सहमति छैन् । 

अहिले जुन जुन जिल्लामा चुनाव हुँदैछ, त्यहाँ भारतीय पक्षबाट बनाइएका बाँध तथा तटबन्धको कुरा हेरौँ । 

रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा लालबकैया तटबन्ध बनेको छ । ८ किलोमिटर लामो तटबन्ध भारतले एकतर्फी रुपमा निर्माण गरेको थियो । यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएका छन् । यसपालीको बाँढीमा पनि यो बाँध जिम्मेवार देखियो । 

रौतहटमा अर्को बैरगनिया तटबन्ध छ । यो गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा छ । नेपालको सहमति विना तटबन्ध बनाइएको थियो यहाँ । १५ किलोमिटर लामो यस तटबन्धले सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ । स्थानीयवासीहरुका अनुसार यो बर्षको बाढीमा बैरगनिया तटबन्ध पनि जिम्मेवार छ । यो तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक वहावलाई नै मोडिदिएको छ । 

रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ बागमती तटबन्ध । करिव १६ किलोमिटर तटबन्धले डुवानको समस्या निम्ताउँदै आएको छ । 

धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदीको दुवै किनारामा निर्मित तटबन्ध हो, कमला तटबन्ध । तटबन्धका कारण हरेक वर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ । धनुषा र सिराहामा यसबर्षको बाढीले पुर्राइको क्षतिमा यो तटबन्ध जिम्मेवार छ । 

सिराहा तटबन्ध पनि उस्तै समस्या छ । सिराह बाँध जिल्ला सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमामा छ । हरकट्टिमा भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको तटबन्ध ३ किलोमिटर लामो छ । नेपालका गाउँ डुवानमा यो पनि उत्तिकै जिम्मेवार छ । 

सप्तरीको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदिमा गरिएको खाँडो बाँध बनाएको छ भारतले । भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको बाँध हो यो ।

यसबाहेक सप्तरीको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ कुनौली तटबन्ध । सीमा क्षेत्रमै भारतले निर्माण गरेको तटबन्धले सप्तरी जिल्लाका दक्षिणी भेगका ११ गाउँ डुबानमा पार्दै आएको छ ।

हुन त भारतले नेपालको पूवदेखि पश्चिमसम्म सीमा क्षेत्रमा ठाँउ ठाँउमा बाँध बनाएको छ । जसको असर नेपालले भोगिरहेको छ । तर, माथिका दुई नम्वर प्रदेशमा रहेका जिल्लाहरुमा भारतले बनाएको बाँध तथा तटबन्धको प्रसंग यहाँ किन उठाइएको भने अहिले यहाँ स्थानीय तहको चुनाव हुँदैछ ।

समस्या देखिने गरी छ । तर, दुई नम्वर प्रदेशको बाढीको समस्यालाई यहाँ चुनाव लडिरहेका दलहरुले कहि पनि गंभीरताका साथ लिएको पाइएन् । यष बर्ष आएको बाढीले तराई मधेशका आठ जिल्लामा ५६ जनाको ज्यान लियो । कैयौ घर डुवानको चपेटामा परे । पीडितहरु अहिले पनि यात त्रिपाल मुनि बसेका छन्, यात आफन्तकोमा । बाढी र डुवानबाट ओभाई नसकेको तराई मधेशमा अहिले स्थानीय तहको पारो चढेको छ । २० बर्षपछि आफ्नै प्रतिनीधि चुन्ने यो सुखद मौकामा पनि बाढीपीडित दल र नेताहरुसँग निकै असन्तुष्ट छन् । 

बाढी र डुवानबाट प्रभावित ३५ जिल्ला मध्ये भारतले तटबन्ध वा सडक बनाएको ठाँउमा ठूलो क्षति भएको छ । गत बर्ष सप्तरीको तिलाठीवासीले भारतीयपक्षबाट तटबन्ध बनाउन खोज्दा प्रतिकार नै गरेका थिए । 

पाँच बर्ष अघि भारतले गगन नदीमा तटबन्ध बनाउन खोज्दा सिरहावासीले रोकेका थिए । जनता यस्ता तटबन्धबाट आइलाग्ने खतराप्रति सचेत छन् र नेता चाहीँ मौन । भारतीय भौतिक संरचनाको विरोध नेपालमा तराई मधेशका स्थानीयवासीले जति गर्छन, अरुले त्यसको तुलनामा कम । अबस्था यस्तो सम्म अहिलेको बाढी र डुवानलाई स्थानीय प्राकृति प्रकोप भनेर चिक्त बुझाउँदैन् । तटबन्ध तथा सडक यसमा जिम्मेवार ठान्छन् । 

तराई मधेशको डुवान भारतीयपक्षले एकतर्फी रुपमा बनाएका बाँधसँग जोडिएको विषय हो । तर, चुनावमा यो मुद्दा कसैले बोल्न चाहदैनन् । मधेश केन्द्रित दल त स्थानीय चुनावमा पनि संविधान संसोधनकै मुद्दामा बढी केन्द्रित देखिन्छन् ।

जनकपुरमा रहेको काँग्रेसको मिडिया सेन्टरमा काँग्रेसका धनुषा जिल्ला सभापति रामसरोज यादव भेटिएका थिए । उनले स्थानीय तहमा हुन लागेको चुनावमा काँग्रेसको अबस्थावारे राम्रै विफ्रिङ गरे । तर, बाढीपीडितका समस्यावारे बोल्दै बोलेनन् । समस्याको जड के हो र कसरी हल गर्ने भन्ने कुरा त टाढाको विषय भैहाल्यो । 

महोत्तरीको जलेश्वर नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका उम्मेद्वार हुन अशोक कुमार साह । उनीसँगै भेटिएका थिए, काँग्रेस महोत्तरीका सचिव शम्भु पाठक । उनले शुरुमा काँग्रेसले महोत्तरीमा जहाँत्यहीँ जित निकाल्ने सुनाए । अनि हामीले सोध्यौँ, बाढीपीडितका लागि के छन् योजना, अहिलेसम्म के गर्नुभयो र दीर्घकालीन रुपमा यो समस्या हल गर्ने केही सूत्र छ ? 

उनको जवाफ थियो, ‘बाढी आएको समयमा पुरै पार्टी उद्दार र राहतमा खट्न सकेन । चुनावको टिकट बाँडने समय भएकाले धेरै नेता काठमाडौंमा थियौँ । तर, समाचारमा आएजस्तो यहाँ क्षति भएको छैन् । पार्टीका नेताहरु सवै ठाँउमा पुग्न सकेका छैनन् । राज्यसंयन्त्रका वैठकहरुमा सहभागी भएर राहत वितरणमा सहयोग गरेका छन् ।’ दीर्घकालीन समस्या हल गर्ने सूत्रका वारेमा बोलेनन् उनी । 

जलेश्वरमै भेटिएका थिए, माओवादीका नेता रामकुमार शर्मा । जब उनलाई बाढीपीडितका लागि तपाईहरुका योजना के छन भनेर प्रश्न गरियो । उनको जवाफ थियो, ‘तत्काल राहत वितरण गर्यौँ । स्वास्थ्य मन्त्री आएर २६ ठाँउमा शिविर चलाउनु भयो । सामान्य खाद्यान्न पनि वितरण गर्यौँ । अहिले क्षतिपूर्ति र पुननिर्माणको कुरा उठाएका छौँ । भूकम्प पूननिर्माण प्राधिकरणजस्तै बाढीपीडित पुननिर्माण प्राधिकरण बनाउनुपर्छ भन्ने हाम्रो माग छ ।’ शर्माले पनि सीमा क्षेत्रमा बनाइएका बाँधको विषयमा दीर्धकालीन हल खोज्ने कुरा गरेनन् ।  

बाँधले तराईको जिल्लालाई प्रभावित गर्छ तर मुद्दा राष्ट्रिय नै हो । नेपाल माथिल्लो तटीय क्षेत्रमा रहेको देश हो । पानीमा सधैँ माथिल्लो तटीय क्षेत्रका जनताको पहिलो हक हुन्छ । तर, भारतले यो कुरा कहिल्यै सुन्न चाहेको छैन । यसको उदारण के हो भने भारतले नेपाली सीमामा एकतर्फी रुपमा १५ बाँध बनाएको छ । यस्ता बाँधमा लक्ष्मणपुर बाँध, कलकलुवा तटबन्ध, धौलीगंगा बाँध, कोइलाबास तटबन्ध, महलीसागर बाँध, रसियावाल–खुर्दलोटन बाँध र डन्डाफरेना बाँधको नाम आउँछ । 

त्यसबाहेक नेपाल तीन मुख्य नदीका विषयमा भएका सन्धिबाट पनि पीडित छ । वैशाख १२ गते ०११ मा नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँधबाट पनि नेपाल पीडित छ । २०० बर्ष भारतले संचालन गर्ने गरी कोसी ब्यारेज बनेको थियो । अबस्था यतिसम्म हुन्छ कि नेपालका परराष्ट्रमन्त्रीले बाँधका ढोका खोल्न आग्रह गर्दा पनि दिल्ली कानमा तेल हालेर बसेको हुन्छ ।

यसबाहेक ०१६ को मंसिर १९ मा नेपाल र भारतबीच गन्डक सम्झौता भएको थियो । यो यति ठूलो समस्या छ कि, नवलपरासीका दर्जनौ गाउँ यसबाट पीडित छन् । 

टनकपुर बाँध पनि नेपालको टाउको दुखाई बनेको छ । सन् १९२० मा महाकाली नदीमा बाँध बनाउने गरी शारदा सन्धि भएको थियो । ०४८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए । ०५२ मा शेरबहादुर देउवाले टनकपुरलाई समेटेर महाकाली सन्धि गरेका थिए । यहाँबाट पनि नेपाल पीडित छ ।

यस्ता बाँधको विषयमा विज्ञहरुका आफ्नै सुझाव छन् । कसैले नेपालसँग नसोधी बनाएका बाँध तुरुन्त भत्काउन लगाउनुपर्ने बताउँछन् भने यस्ता बाँधले नेपालको हैसियत घटाउने काम भएको बताउँछन् । भारतले नेपालका दक्षिणी भागमा अन्तराष्ट्रिय अभ्यासविपरित बाँध निर्माण गरेको चाहीँ आम कुरा हो । तर, तराई मधेशको चुनावी प्रचारमा पुगेका कुनै पनि ठूला दलका नेताले यो समस्या हल गर्ने विषयमा बोल्दैनन् । यो चाहीँ अनौठो छ । 

मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप