शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

मङ्गलबार, २० भदौ २०७४, ०९ : ४४
मङ्गलबार, २० भदौ २०७४

एसके यादव
 

काठमाडौं–संघीय समाजवादी फोरम नेपाल एक समयको चर्चित मधेशी जनअधिकार फोरम नेपालको रुपान्तरित नाम हो ।

पहिलो मधेश आन्दोलनबाट स्थापित मधेशी जनअधिकार फोरम नेपाल मधेशका मात्र होइन, देशकै वैकल्पिक शक्तिको रुपमा आएको थियो । तर, पहिलो मधेश आन्दोलनपछि सत्तारोहण तथा टुटफुटका कारण देशमा मात्र होइन, मधेशमा पनि विभिन्न कारणले त्यसको प्रभाव कम भएको विश्लेषण हुने गरेको छ ।

पहिलो संविधानसभामा प्रत्यक्षतर्फ ३० सिट ल्याएर चौथो शक्तिका रुपमा उदाएका फोरम नेपाल दोस्रो संविधानसभा चुनावमा दुईटा सिट ल्याएर छैठो स्थानमा झरेको छ । पहिलो संविधानसभा चुनावमा दुई दुई ठाउँबाट चुनावमा जितेका उपेन्द्र यादव दोस्रो संविधानसभा चुनावमा पनि दुई ठाउँबाट चुनाव लडेका थिए । तर, मोरङमा पराजित भए भने सुनसरीमा पनि बल्ल–बल्ल जिते । अर्को कपिलस्तुबाट अभिषेक प्रताप साहले जितेका थिए ।

पहिलो संविधानसभा चुनावमा देशैभरिबाट फोरम नेपालले छलाख ३४ हजार एकसय ५४ मत हासिल गरेको थियो भने दुई नम्बर प्रदेशको आठ जिल्लाबाट मात्र तीन लाख ४५ हजार १८८ मत आएको थियो ।

तर, दोस्रो संविधानसभा चुनावमा त्यो सँख्या स्वाट्टै तल झरेको छ । देशभरिबाट फोरम नेपालले दुई लाख छ हजार ११० मत ल्याएको थियो । त्यसमध्ये दुई नम्बर प्रदेशको आठवटा जिल्लाबाट ९७ हजार आठ ९६ मत ल्याएको थियो ।

पहिलो संविधानसभा चुनावमा फोरम नेपाल तीन कारणले शक्ति हासिल गरेको थियो । पहिलो–मधेश आन्दोलनको रापताप, दोस्रो–फोरम नेपाल एकीकृत र तेस्रो–मधेशवादी दलको रुपमा फोरम नेपाल, सद्भावना पार्टी र तमलोपा मात्र । तर, दोस्रो संविधानसभा चुनावमा यी तीनै कारण भत्केको थियो ।

यो पनि पढ्नुहोस्​

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

दोस्रो संविधानसभा चुनावताका आन्दोलन पनि समाप्त भइसकेको थियो भने फोरम नेपाल पनि टुक्रा–टुक्रामा विभाजित भएको थियो । फोरम नेपालबाट अलग भएका चारवटा दल चुनावमा सहभागि थिए । अरु सद्भावना पार्टी र तमलोपाबाट फुटेका दलहरु पनि चुनावमा थिए । पहिलो संविधानसभा चुनावमा तीनवटा दलले मधेशमा चुनाव लडेका थिए, भने दोस्रो संविधानसभा चुनावमा त्यहीँ तीन दलबाट फुटेर दशवटा दल चुनाव लडेका थिए । यी कारणले गर्दा मत बाँडियो र फोरम नेपाल कमजोर भएर आयो ।

यसअघि दुई चरणमा भएको चुनावमा भाग लिएका फोरम नेपालले आठ तह जितेर चौथो दलको रुपमा स्थापित भएको छ । यता तेस्रो चरणमा हुन गइरहेको चुनावमा मधेशबाट जन्मेको पार्टी भएका हुनाले पहिलो पार्टी हुने दावी कोषाध्यक्ष विजय यादवले गरेका छन् ।

दोस्रो सधिवानसभा चुनावपछि फोरम नेपालले संघीय समाजवादी पाटीसँग एकीकरण गर्यो । संघीय समाजवादी फोरम नेपालले देशैभरिबाट एकलाख आठ हजार ६८३ मत ल्याएको थियो भने दुई नम्बर प्रदेशको आठवटा जिल्लाबाट ११ हजार नौसय मत मात्र ल्याएको थियो । यसरी अशोक रायका पार्टीको मत जोडदा दुई नम्बर प्रदेशमा फोरम नेपालको एकलाख नौहजार सातसय ९६ मत हुन्छ, जुन स्थानीय तहको चुनावमा पहिलो शक्ति हुनका लागि प्रयाप्त होइन । दुई नम्बर प्रदेशको हाल मतदातासँख्या २६ लाख ६४ हजार ४९० रहेका छन् । एक नम्बर पार्टी बन्नका लागि फोरम नेपालले कम्तीमा दुईदेखि तीनलाख भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ ।

दोस्रो संविधानसभा चुनावमा दुई नम्बर प्रदेशमा काँग्रेसले प्रत्यक्षमा २१ वटा सिट जितेर पहिलो पार्टी बनेको छ । उसले तीनलाख ८९ हजार १८२ मत ल्याएको थियो जब कि जम्मा १८ लाख ४९ हजार ४१९ मत खसेको थियो ।

विभिन्न दलहरुसँग एकीकरण गरि देशैभरि आफ्नो संगठन विस्तार गरेका फोरम नेपाल मधेशमा पहिलो पार्टी हुने दावी गरेको छ । मधेशको आधिकारिक पार्टी र आन्दोलनको नेतृत्व गर्दै आएको फोरम नेपाल रहेकाले मधेशमा पहिलो पार्टी हुने दावी सो दलका नेताहरुले गर्दै आएका छन् ।

यसअघि दुई चरणमा भएको चुनावमा भाग लिएका फोरम नेपालले आठ तह जितेर चौथो दलको रुपमा स्थापित भएको छ । यता तेस्रो चरणमा हुन गइरहेको चुनावमा मधेशबाट जन्मेको पार्टी भएका हुनाले पहिलो पार्टी हुने दावी कोषाध्यक्ष विजय यादवले गरेका छन् ।

त्यहीँ अनुसारको तयारीमा फोरम नेपाल शुरुदेखि लागेको देखिन्छ । स्थानीय तहको चुनावका लागि सबभन्दा पहिले उम्मेदवारको घोषणा गरेको छ । राजपा नेपाल चुनावमा भाग नलिएको अवस्थामा फोरम नेपाल चुनावमा भाग लिएपछि मधेशमा सो दलको व्यापक आलोचना भएको थियो । त्यसले दोस्रो चरणमा भएको चुनावमा केही क्षति भएको विश्लेषण गरिएको छ ।

तेस्रो चरणको चुनावमा पनि फोरम नेपाललाई क्षति गर्ने सम्भावना थियो तर राजपा नेपाल चुनावमा भाग लिएपछि फोरम नेपाललाई सजिलो भएको छ । पहिलाका जस्तो अहिले आलोचना छैन । निर्वाध रुपमा मधेशमा चुनावको तयारीमा लागेको छ । मधेशमा पहिलो पार्टी बनाउनका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै खटिरहेका छन् ।

अध्यक्ष यादवले मधेशमा गएर मधेशका मुक्तिका लागि लड्ने फोरम नेपालले नै मुक्ति दिलाउने आश्वासन बाँड्दै हिडेका छन् । राजपा नेपालले फोरम नेपालमाथि लगाइएको आरोपको खण्डन पनि गर्दै हिडेका छन् ।

फोरम नेपाललाई चुनौति
यद्यपी फोरम नेपालका लागि राजपा नेपाल नै चुनाती बनेको छ । फोरम नेपालका नेताहरुले आफ्नो प्रतिस्पर्धा ठूला दलसँग रहेको दावी गरेपनि विगतको मत परिणाम र मतदाताको उपस्थिति हेर्दा फोरम नेपाल र राजपा नेपालबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । फोरम नेपाल र राजपा नेपालको मतदाता एउटै हुन् ।

उनीहरुको भूगोल र क्षेत्र पनि एउटै भएका कारणले यी दुई दलको बीचमा मधेशमा व्यापक प्रतिस्पर्धा हुने देखिन्छ । विभिन्न छ दल मिलेर राजपा नेपाल बनेको कारणले फोरम नेपाललाई चुनौति बनेको छ भने अर्कोतिर काँग्रेस पनि पहिलो शक्ति भएको कारणले मधेशको मत काँग्रेसतिर गएको हुनाले यता भएका मत फोरम नेपाल र राजपा नेपालबीच बाँडिने देखिएको छ ।

फोरम नेपालको तयारी
चुनावको घोषणा भएदेखि उपेन्द्र यादव अधिकाँश समय मधेशमै विताउने गरेका छन् । पार्टी प्रवेश, उम्मेदवार छनौट गर्नुका साथै कार्यकर्ताहरुलाई प्रक्षिशण तथा तालिम पनि दिँदै आएका छन् । उनले केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएर विभिन्न जिल्लामा खटाएका छन् ।

जनकपुरमा दुई नम्बर प्रदेशको कार्यालय राखेर तयारीमा जुटेका फोरम नेपालले अरु दलभन्दा यसपटक चुनावको तयारी पहिला नै गरेको थियो । अध्यक्ष यादवले मधेशमा गएर मधेशका मुक्तिका लागि लड्ने फोरम नेपालले नै मुक्ति दिलाउने आश्वासन बाँड्दै हिडेका छन् । राजपा नेपालले फोरम नेपालमाथि लगाइएको आरोपको खण्डन पनि गर्दै हिडेका छन् ।

उनले चुनावमा भाग लिनुको कारण स्पष्ट पार्दै जनताको मत तान्ने प्रयास गरिरहेका छन् ।


 
फोरमशको शक्ति
 

सप्तरी
१८ वटा स्थानीय तह रहेको सप्तरी उपेन्द्र यादवको जन्मस्थान पनि हो र फोरम नेपालको पकेट क्षेत्र पनि मानिन्छ । छवटा निर्वाचन क्षेत्र रहेको दोस्रो संविधानसभा चुनावमा एउटा पनि सिट जित्न सकेन जब कि पहिलो संविधानसभा चुनावमा छवटा चुनाव क्षेत्रमध्ये चारवटा क्षेत्र जितेका थिए । तर संयोग जो जो व्यक्ति त्यतिबेला जितेका थिए, त्यसमध्ये रेणु यादव बाहेक अरु कोही पनि फोरम नेपालमा छैनन् ।

फोरम नेपालले दोस्रो संविधानसभा चुनावमा सप्तरीबाट २३ हजार ५२१ मत ल्याएको थियो जब कि त्यहाँ दुई लाख ३१ हजार ३२४ मत खसेको थियो । छवटा क्षेत्रमध्ये तीन नम्बर क्षेत्रमा मात्र दोस्रो स्थानमा थियो भने अरु क्षेत्रमा तीन, चार, पाँच र छैठो स्थानमा रह्यो । संघीय समाजवादी पार्टीले त्यतिबेला सप्तरीबाट ६०१ मत प्राप्त गरेको थियो । हाल सप्तरीको मतदातासँख्या तीनलाख ३१ हजार ६७९ रहेका छन् ।

दुई लाख १९ हजार तीनसय पाँच मतमध्ये माओवादीले ३१ हजार ४० मत ल्याएर सप्तरीमा पहिलो पार्टी बन्यो । स्थानीय तहको चुनावमा पनि फोरम नेपालले पहिलो पार्टी बन्नका लागि ३० देखि ३५ हजार मत ल्याउनुपर्छ ।

सिरहा
छवटा निर्वाचन क्षेत्र रहेको सिरहाबाट पहिलो संविधानसभा चुनावमा फोरम नेपालले पाँचवटा सिट जितेको थियो तर दोस्रो संविधानसभा चुनावमा एउटा पनि सिट जित्न सकेन । सिरहामा खसेका दुईलाख ३३ हजार नौ मतमध्ये फोरम नेपालले १० हजार ७१६ मत मात्र ल्याएको थियो जब पहिलो संविधानसभा चुनावमा ७३ हजार चारसय ६५ मत ल्याएको थियो ।

सिरहामा कसैसँग प्रतिस्पर्धामा पनि थिएन । क्षेत्र नम्बर एकमा ४१ वटा दलले भाग लिएको थियो त्यसमा फोरम नेपालको स्थान आठौमा रहेको छ । त्यस्तै, दुई नम्बर क्षेत्रमा ३६ वटा दलले भाग लिएका थिए त्यसमध्ये फोरम नेपाल चौथो स्थानमा थियो । यसरी नवौं, सातौ स्थानमा थन्किए । जो सिरहा फोरम नेपालका लागि उर्वर जिल्ला मानिन्छ ।

१७ वटा तह रहको सिरहामा १२ वटा तह जित्ने दावी कोषाध्यक्ष यादवले गरेका छन् ।

धुनषा
धनुषाको कुरा गर्ने हो भने फोरम नेपालको हालत दोस्रो संविधानसभामा झनै खराब रहेको देखिन्छ । दुईलाख ६३ हजार ३४२ मतमध्ये फोरम नेपालले पाँचहजार ६१४ मत मात्र हासिल गर्न सक्यो, त्यो जिल्लाबाट अशोक राइको पार्टीले दुईसय अठार मात्र ल्याएको थियो । सातवटा क्षेत्रमध्ये चारवटा क्षेत्र काँग्रेसले जितेको छ भने दुईटा एमाले र एउटा राजपा नेपालले जितेको छ ।

पहिलो संविधानसभा चुनावमा धनुषामा एउटा सिट जिते पनि ७२ हजार तीनसय ७२ मत ल्याएको थियो । यो अत्याधिक मत मानिन्छ । यदि फोरम नेपालको संगठनिक भोट हो भने अहिले आएर त्यति कम नहुनुपर्ने हो भनि विश्लेषण भइरहेको छ ।

महोत्तरी
छवटा चुनावी क्षेत्र रहेको महोत्तरीबाट फोरम नेपालले आठहजार सातसय ७८ मत प्राप्त गरेको छ भने भने अशोक राइको पार्टीले दुईसय ३५ मत ल्याएको छ । महोत्तरीमा दुईलाख ४६ हजार ८१ मत खसेको थियो ।

पहिलो संविधानसभा चुनावमा तीनटा सिट जितेको फोरम नेपालले दोस्रो संविधानसभा चुनावबाट त्यहाँ एउटा पनि सिट जित्न सकेको छैन । सिट जित्ने मात्र होइन, कसैसँग प्रतिस्पर्धामा पनि छैन । ४६ वटा दल चुनाव लडेको क्षेत्र नम्बर चारमा त फोरम नेपाल १३ स्थानमा ९७७ मतमा चित्त बुझाएको थियो । अरु सबै क्षेत्रमा छैठो स्थानभन्दा माथि नै छ ।

सर्लाही
राजपा नेपालको पकड भएको जिल्ला मानिएको सर्लाहीमा अरु जिल्लाको तुलनामा फोरम नेपालले राम्रै मत ल्याएको थियो । एउटा पनि सिट जित्न नसकेको सो जिल्लामा फोरम नेपालले १८ हजार ५८५ मत ल्याएको थियो । जब त्यहाँ दुईलाख ६१ हजार ८९१ मत खसेको थियो ।

त्यहाँ काँग्रेसले दुई, एमालेले एक, माओवादी एक र राजपा नेपाल दुईसिट जितेको छ । अमेशनारायण सिह जितेको क्षेत्रमा त फोरम नेपालले ४०८ मत मात्र ल्याएको थियो जबकि पहिलो संविधानसभा चुनावमा त्यहाँबाट फोरम नेपालले शिवपुजन राय यादवलाई १५ हजार ६८८ मतले जिताएको थियो । अहिले शिवपुजन राय यादव पनि फोरम नेपालसँग छैन ।

रौतहट
फोरम नेपालले गौर घटना गराएको जिल्ला हो रौतहट । पहिलो मधेश आन्दोलनमा निकै रापताप रहेको सो जिल्लामा दोस्रो संविधानसभा चुनावसम्म आइसक्दा ती सबै ताप सेलाएका थियो ।

सो जिल्लाबाट फोरम नेपालले १४ हजार ३०९ र अशोक राईको पार्टीले ३०८ मत ल्याएको थियो । जबकि त्यहाँ दुई लाख ३४ हजार ९३५ मत खसेको थियो । हुन त पहिलो संविधानसभाको चुनावमा पनि फोरम नेपाल जितेको थिएन । स्वतन्त्र जितेका बबन सिंह पछि फोरम नेपालमा प्रवेश गरेका थिए । दोस्रो संविधानसभा चुनावमा एमाले दुई, माआवादी दुई, काँग्रेस एक र फोरम लोकतान्त्रिक एक सिट जितेका छन् ।

बारा
छवटा चुनावी क्षेत्र रहेको बाराबाट फोरम नेपालले एउटा पनि सिट जितेको छैन । दुई लाख आठहजार ६ मत खसेको मध्ये फोरम नेपालले १३ हजार ९४३ र अशोक राईको पार्टीले दुई हजार ७७४ मत प्राप्त गरेको थियो ।

पहिलो संविधानसभा चुनावमा बाराबाट एउटा सिट जितेको फोरम नेपालले ४२ हजारभन्दा बढी मात्र ल्याएको थियो । निर्वाचन क्षेत्र तीनबाट प्रमोद गुप्ता जितेका थिए । उनी अहिले कलैया उपमहानगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

पर्सा
पछिल्लो सयम पर्सामा राम्रो संगठन बनाएका फोरम नेपालले दोस्रो संविधानसभा चुनावमा एउटा पनि सिट हात पार्न सकेका थिएन । पाँचवटा चुनावी क्षेत्र रहेको पर्सामा एकलाख ७० हजार ३३१ मत खसेको थियो त्यसमध्ये फोरम नेपालले १६ हजार ४३१ र अशोक राईको पार्टीले सातहजार ५८९ मत प्राप्त गरेको थियो ।

पहिलो संविधानसभा चुनावमा फोरम नेपालले करिमा बेगमलाई जिताएको थियो । बेगमले १४ हजार ६१४ मत ल्याएकी थिइन् । तर, दोस्रो संविधानसभा चनुावमा उनी सातै स्थानमा गएर थन्कीन् ।

पर्सामा १४ स्थानीय तहमा चुनावमा हुनेछ । फोरम नेपालले सबै ठाउँमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ । जिल्ला अध्यक्ष प्रदीप यादवले भने, ‘वीरगञ्ज महानगरपालिकामा हामी जित्छौँ, अन्य तहमा पनि जित्छौँ, हामी नै एक नम्बरको पार्टी हुन्छौँ ।’

पर्सामा हाल दुईलाख ८० हजार दुईसय १२ जना मतदाता छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप