शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

बिहीबार, २२ भदौ २०७४, १९ : २७
बिहीबार, २२ भदौ २०७४

नेत्र पन्थी र एसके यादव

जनकपुर । दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी परेको थियो । तर, भदौ २२ गतको साँझसम्म त्यसको यकिन तथ्यांक आइपुगेको छैन । २२ गते दिउँसोसम्म पनि कर्मचारी उम्मेद्वारीको कागजात हेरेर भ्याएका थिएनन् ।
 
एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरि मधेशका आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते मतदान हुनेछ । दुई नम्बर प्रदेश अर्थात मधेश प्रदेशमा हुने चुनावमा मुख्य ‘फ्याक्टर’ जातीयता देखिएको छ । जुन जातको जहाँ पहुँच छ, त्यसरी नै उम्मेदवारी दिन लगाएर चुनावको मैदानमा उत्रिएका छन् राजनीतिक दल ।
 
प्रदेश नम्बर २ मा सबभन्दा बढी जनसंख्या दलितको रहेको छ । २०६८ को जनगणना अनुसार मधेशी दलित १८ दशमलव ३ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा यादव समुदाय छ । यादवको जनसंख्या १४ दशमलव १२ प्रतिशत छ । अल्पसंख्यकको रुपमा चित्रित गरिँदै आइएको मुस्लिम समुदाय यो प्रदेशमा तेस्रो स्थानमा छन् । जसको जनसंख्या ११ दशमलव ६ प्रतिशत छ ।
 
मधेशी आदिवासीको जनसंख्या ८ दशमलव चार प्रतिशत रहेको छ । कोइरी ४ दशमलव एकप्रति, कुर्मी तीन प्रतिशत, उच्च जाती दुई दशमलव ९६ प्रतिशत रहेका छन् भने अन्य जाति १९ प्रतिशत रहेको छन् ।
 
धनुषामा यादव १७ दशमलव ४९ प्रतिशत, मुसलमान ५ दशमलव २० प्रतिशत, केवट ६ दशमलव ०९ प्रतिशत, तेली ५ दशमलव २० प्रतिशत, कुशवाहा ५ दशमलव ०६ प्रतिशत रहेका छन् । तर, चुनावमा जातीय प्रभाव कस्तो हुन्छ भने जनकपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई हेर्दा हुन्छ । ‘साहु महाजन’ को बाहुल्य क्षेत्र रहेको जनकपुर उपमहानगरपालिकामा ‘साहु’हरुको मत तान्नका लागि दलहरुले सोही समुदायका उम्मेद्वारलाई उठाएका छन् । प्रमुख ६ दलका मेयरका उम्मेद्वार साह नै छन् । यही क्षेत्रमा संविधानसभामा संजय साहले जितेका थिए ।

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

 

काँग्रेसले मनोज साहलाई उठाएको छ भने एमालेले लक्ष्मीनारायण साह । माओवादी केन्द्रले चन्द्रशेखर साह र राष्ट्रिय जनता पार्टी नेपालले लालकिशोर साहलाई जनकपुरको मेयरको उम्मेद्वार बनाएको छ । संघीय समाजवादी फोरम नेपालले विष्णुदेव साह र नेपाल लोकतान्त्रिक फोरम नेपालले हंसराज साहलाई मेयरमा उठाएको छ ।
 
जनकपुर उपमहानगरपालिका निर्वाचन क्षेत्र चारमा पर्छ, जहाँ दुइटै संविधानसभा चुनावमा संजय साहले विजयी भएका थिए ।


 
२०६८ को जनसंख्या अनुसार जनकपुर महानगरपालिकाको जनसंख्या एकलाख ५४ हजार पाँचसय ८९ छ । जसमा साहु महाजनको जनसंख्या २२ हजारभन्दा बढी छ । साहमा पनि विभिन्न जात छन् । तेली, कलवार, सुडी, नुनिया, कलाल, हलुवाई, रौनियार रहेका छन् । यी सबै मिलाएर उनीहरु साहको मतमा मानिन्छ ।
 
तीन प्रमुख दल नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेले सुडीबाट नै उम्मेदवार खडा गरेका छन् ।
 
यहाँ यो उपमहानगरपालिकामा शुरुदेखि नै साहहरुको पकड रहेको छ । शुरुमा कायस्थ समुदायकाबाट वृषेशचन्द्र लालले जितेका थिए भने उपमेयरमा अहिलेका मेयरका उम्मेदवार लालकिशोर साह थिए । त्यसपछि मेयरमा वजरगं साहले जितेका थिए । त्यतिबेलासम्म चुनावमा जातीय प्रभाव कस्तो हुन्छ भने यहाँका बसिन्दालाई थाहा थिएन ।
 
पत्रकार राजेश्वर नेपाललीले भने, ‘जब संजय साह दुईपटक सविधानसभा चुनाव जिते अनि मात्र यहाँका साहु महाजनले थाह पाए कि जातीय भोटको यस्तो महत्व हुँदो रहेछ । त्यही भएर अहिले ती ठूला दलहरुले साहु महाजनको मत तान्नका लागि साहुजीलाई उम्मेदवार बनाएका हुन् ।’
 
यहाँसम्म कि साहु महाजनको मत तान्नका लागि एमालेले लक्ष्मीनारायण साह (भगत) लाई कर्मचारीबाट राजीनामा दिन लगाएर उम्मेदवार बनाएको हो, जब कि पार्टीमा अरु पनि उनीभन्दा बलिया उम्मेदवार थिए । तर, साहु महाजनको मत तान्नकै लागि लक्ष्मीनारायणलाई उम्मेदवार बनाइयो ।
 
एमालेका सक्रिय नेता दिपु यादव पनि एमालेबाट मेयरका दावेदार थिए । तर, उनी यादव भएकै कारणले उपमहानगरपालिकाबाट टिकट नपाएको विश्लेषण भइरहेको छ । जब कि यादवको संख्या पनि यो उपमहानगरपालिकामा १४ हजार भन्दा बढी छ, अर्थात दोस्रो स्थानमा यादव समुदाय छ ।
   
एउटै समुदायबाट मुख्य दलले उम्मेदवार बनाएपछि मतदाता पनि रन्नभुल्लमा परेका छन् । एकजना उम्मेदवार हुँदा साहु महाजन मतदातालाई मतदान गर्न सजिलो हुन्थ्यो । तर, यसपटक एउटै पदमा ६–६ जना उम्मेदवार भएको कारण कसलाई मत हाल्ने र कसलाई नहाल्ने भएको छ ।


 
मतदाताको कन्फ्युजनामाथि जनकपुरमा होटल व्यवसाय गर्दै आएका विजय झुनझुनबाला गजवको टिप्पणी गर्छन् र मतदाताले आफ्नो अधिकार बुझ्ने मौका आएको मान्छन् ।

‘प्राकृतिको नियम छ, नराम्रो हुँदा अति भएर सकिन्छ, राम्रो हुँदा धेरै भएर सकिन्छ । हो मधेशमा जातीय चुनाव हुन्छ । अहिले जसरी एकै समुदायको व्यक्ति महत्वपूर्ण पदमा उठेका छन् यसले मतदातालाई आफ्नो अधिकार थाहन हुन्छ । यो चुनाव भविष्यका लागि सुखद छ,’ उनले भने, ‘अब मतदाताले सोच्नुपर्छ दाईलाई दिने कि भाइलाई दिने, यताको छिमेकीलाई दिने कि उताको छिमेकीलाई दिने । च्युरा मासुमा भोट दिने कि अधिकारका लागि ठीक मान्छे छान्ने यो सुखद मौका हो । एकजना मात्र भएको भए यसरी छानेर मत हाल्ने अवसर आउने थिएन ।’
 
पत्रकार एवं समाजसेवी रामअशिष यादवले अधिकाँश दलले पार्टीको नीति र सिद्धान्त विपरित उम्मेदवार चयन गरेको टिप्पणी गरे । उनले भने, ‘अहिलेका जतिजना उम्मेदवार हुनुहुन्छ, उहाँहरु तीन कारणले टिकट पाउनु भएको छ । पहिलो हो जातीय आधार, दोस्रो आर्थिक आधार र तेस्रो हो दवङ्ग । यी कुरा जोसँग थियो, उनीहरुले नै यसपाली टिकट पाएका छन् ।’

बीबसीमा कार्यरत जनकपुरका पत्रकार वृजकुमार यादवको धारणा पनि त्यस्तै रहेको छ । उनले भने, ‘दलहरुले जसरी उम्मेदवार खडा गरेका छन्, यसबाट प्रष्ट हुन्छ कि जातीय भोट तान्नका लागि प्रतिस्पर्धा भएको हो ।’

तर, यी कुरा मान्न तयार छैनन्, मेयरका उम्मेदवारहरु । उनीहरु भन्छन्, ‘ज–जसले पार्टी र समाजका लागि काम गरेका छन्, उसले टिकट पाएका छन् । यसमा जातीयताको कुरा कहीँ छैन ।’

एमालेका मेयरका उम्मेद्वार लक्ष्मीनारायण साहले भने, ‘यो क्षेत्र साहुजीको बाहुल्य क्षेत्र हो, त्यसैले सबैले त्यहीँ अनुसार टिकट पाएका छन्, जहाँ जसको बाहुल्यता हुन्छ त्यहाँ त्यसले नै टिकट पाउँछन् यो कुनै नयाँ कुरा होइन ।’

‘जनकपुरलाई कसैले बनाउन सक्छ भने त्यो साहु महाजनले मात्र हो’ उनले भने, ‘जनकपुरसँग साहु महाजनको जति सम्बन्ध गाँसिएको छ त्यति अरुको छैन, किनभने यही जनकपुरबाट सबैको रोजीरोटी, व्यवसायीहरु चल्छन् त्यसैले साहु महाजन नै नेतृत्वमा आउनुपर्छ ।’


 
माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार बनेका चन्द्रशेखर साहले साहुबाट यतिका उम्मेदवार बन्नु सुखद कुरा भएको बताए । ‘यसमा आश्चर्य मान्ने कुनै कुरा हुँदैन, साहुजीहरुले पनि राजनीतिमा धेरै योगदान दिएका छन् त्यसैले उनीहरुले टिकट पाए’ उनले भने ।


काँग्रेसका मेयरका उम्मेद्वार मनोज साहले जातीय कुरा गर्नु गलत भएको बताए । ‘जसले काम गर्छ, जसले जस्तो योगदान गर्छ त्यसले नै टिकट पाउने हो । यो जातीय प्रश्न गर्नु नै गलत छ । यहाँ पार्टीले कामको मूल्यांकन गरेर उम्मेदवार बनाएको हो, साहु भएको कारणले होइन’ उनले भने, ‘यसरी साहुहरु मात्र उम्मेदवार हुनु त्यो संयोग मात्र हो ।’

 
फोरम नेपालका विष्णुदेव साहले पार्टीले साहुहरुलाई मात्र उम्मेदवार बनाउनु गर्वको कुरा भएको धारणा राखे । उनले भने, ‘साहुहरु व्यापार, व्यवसायी मात्र होइन, राजनीति पनि गर्न सक्छन् भन्ने कुराको यो प्रमाण हो, जसको पकड हुन्छ, जसको बाहुल्य हुन्छ त्यसले टिकट पाउनु स्वभाविक हुन्छ ।’

लोकतान्त्रिक फोरमका हंसराज साहले साहले मात्र टिकट पाए भन्नु गलत भएको बताए । ‘यसले जातीय नारा लाग्छ,सम्प्रदायीक पनि हुनसक्छ,’ उनले भने । उनले पार्टीमा योगदानका कारण यो उम्मेदवार बन्न पाएको उल्लेख गर्दै भने, ‘यसलाई सौभाग्य भन्नुस् वा दुर्भाग्य भन्नुस् ।’
 
राजपा नेपालका लालकिशोर साहले पनि जातीय हिसाबले नभएर पार्टी र समाजमा गरिएको योगदानका कारण उम्मेदवार बनेको दावी गरे । उनले भने, ‘यदि जातीयताकै आधारमा टिकट दिनुपर्ने थियो भने अरु पनि साहुहरु छन् उनले किन पाएनन् ? मैले मात्र किन पाए त्यो पनि बुझ्नुपर्छ । समाज र देशका लागि पक्कै पनि मेरो योगदानको मूल्यांकन गरेर पार्टीले विश्वास गरेर टिकट दिएको होला मात्र साहु भएर होइन ।’
 
यस्तो जातीय समीकरणका आधारमा उम्मेद्वार चयन जनकपुरको मात्र होइन, सिंगो दुई नम्वर प्रदेशमा देखिन्छ । र, अचम्म मुद्दाभन्दा पनि यही समीकरणका आधारमा चुनावको हार जित हुन्छ ।
 
जनकपुर उपमहानगरपालिकामा २५ वडा छन् । ७५ हजार पाँच सय ९४ मतदाता छन् । ५८ मतदानस्थल र एक सय १ मतदान केन्द्र छन् ।

मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)

यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप