शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

शनिबार, १७ भदौ २०७४, १८ : २१
शनिबार, १७ भदौ २०७४

एसके यादव

काठमाडौँ – ‘एमालेसँग मुकाबला गर्ने आँट कसैसँग छैन, त्यही भएर मधेशमा एमालेबिरुद्ध भ्रम फैलाइरहेको छ ।’ 
– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ।

‘मधेशमा एमाले एक नम्बरको शक्तिको रुपमा आउँछ कसैले रोक्न सक्दैन ।’
–    नेता माधवकुमार नेपाल

‘अरु प्रदेशमा एमाले जसरी एक नम्बरको भयो, दुई नम्बरमा पनि एक नम्बरको पार्टी बन्छ, र बनाउनु पर्छ ।’
–महासचिव ईश्वर पोखरेल

प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नम्बर २ द्वारा आयोजित प्रदेश स्तरी भेलालाई सम्बोधन गर्दै यी नेताहरुले धारणा राखेका हुन् । 

उम्मेदवारको टुङ्गो लगाउनका लागि स्थायी समितिको बैठक बस्नुअघि भएको सो भेलामा दुई नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको उपस्थिति थियो । एमाले अध्यक्ष ओलीले मधेशमा पूरै तयारीका साथ जान आग्रह गर्दै भनेका थिए, मधेशमा फ्रिकिक हान्न सक्छ हैं, त्यसैले पुरै तयारी र होसियारीका साथ मधेशमा जानुहोला । भरतपुरमा रिङ्ग बाहिरबाट जसरी किक हान्यो, त्यस्तो मधेशमा पनि हुनसक्छ ।’

महासचिव पोखरेलले पनि थपे, ‘दुई गते चुनाव हुन्छ एक गते मात्र होइन, दुई चार दिन अगाडि नै आ–आफ्नो क्षेत्रमा पुग्नु होला, के–के तयारी गरेर जाँदै हुनुहुन्छ पार्टीलाई जानकारी गराएर जानु होला ।’ 

नेताहरुका यी निर्देशात्मक मन्तव्यबाटै मधेशमा एक नम्बरको पार्टी हुनका लागि एमालेको तयारी प्रष्ट हुन्छ । 

मधेशसँगको सम्बन्ध

दोस्रो संविधानसभा सम्पन्न भएसँगै मधेशसँग एमालेको बिग्रेको सम्बन्ध अझै सुध्रिएको छैन । सुशील कोइराला प्रधानमन्त्री भएको बेला एमालेले मधेशसँग सम्बन्ध सुधार गरी सरकार बनाउने प्रयास पनि गरेको थियो । तर, सम्बन्ध बन्नुको साटो झन् बिग्रियो । 

सम्बन्ध यतिसम्म बिग्रियो कि मधेश (प्रदेश नम्बर २) मा एमालेलाई प्रवेश निषेध नै गरियो । मधेश आन्दोलन चलिरहँदा एमालेका कुनै पनि नेता मधेश छिर्न सकेनन् । मधेशमा एमालेप्रतिको विरोध चरम अवस्थामा पुगेपछि एमाले रक्षात्मक अवस्थामा पुगेको थियो । यतिसम्म कि एमालेका नेता तथा कार्यकर्ताहरु घरबाट पनि निस्किरहेका थिएनन् । चुनावमा टिकट लिएर उठ्ने कुरै थिएन । एमाले नेता नेपाल भन्छन्, ‘त्यतिबेला पार्टीका नेता तथा कार्यकर्ताहरु भन्नुहुन्थ्यो, पार्टीको टिकट लिएर चुनाव लड्दैनौ, स्वतन्त्र चुनाव लड्छौ अवस्था सुध्रिएपछि फेरि पार्टीमै फर्किन्छौ । यस्तो अवस्था थियो ।’

स्थानीय तहको चुनाव शुरु भएपछि एमालेले मधेशमा सम्बन्ध सुधार गर्नका लागि संविधान संशोधनप्रति सकारात्मक देखियो । विधेयक संसदमा प्रस्तुत हुन दिनुको साथै स्थानीय तहको संख्या बढाउनमा सहमति पनि जनायो । यहाँसम्म कि राजपा नेपालका नेताहरुले पनि एमालेका नेताहरुसँग अनौपचारिक छलफलहरु गर्न थालेका थिए । 

यसरी मधेशसँग सम्बन्ध सुध्रिने बित्तिकै एमालेका वरिष्ठ नेताहरु योजना बनाएर नै मधेश छिरे । मधेशको कुना कुना गएर एमालेमाथि लगाइएको भ्रम चिर्ने काम गरे । भत्केका बिग्रेका सम्बन्धहरु पुनः जोड्ने काम गर्यो । त्यसपछि मात्र एमालेका नेता तथा कार्यकर्ताहरु निर्वाध रुपमा हिँडडुल र पार्टीका लागि काम गर्न थालेका हुन् । 

त्यसपछि मधेशमा एमालेको लहर नै चल्यो । जताततै एमाले नै देखिन थाल्यो । प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारीहरु नै खटिएका थिए । त्यसले गर्दा मधेशमा एमाले कार्यकर्ताको मनोबल बढ्नुको साथै विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको लहर नै चल्यो ।

यो क्रम चलिरहेकै अवस्थामा सरकारले संविधान संशोधनको विधेयक निर्णयार्थ पेस गर्यो । तर, एमालेले सहयोग नगरेपछि विधेयक संसदमा फेल भयो । संसदमा विधेयक फेल भएपछि शान्त रहेको मधेश फेरि एमालेप्रति भड्कियो । मधेशमा एमालेका अध्यक्ष ओली र राप्रपाका अध्यक्ष कमल थापाको पुत्ला जलाउने काम भयो । 

यो पनि पढ्नुहोस्​

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

 

यहाँसम्म कि एमाले र राप्रपामुक्त मधेश लेखिएको बोर्ड पनि मधेशका विभिन्न ठाउँहरुमा झुण्ड्याउने काम भयो । एमालेका नेताहरुमाथि मधेशमा फेरि दुरव्यवहार हुन थाल्यो । नेता माधवकुमार नेपालमाथि पर्सा र धनुषामा राजपा नेपालका कार्यकर्ताले आक्रमण नै गरे । कार्यक्रम बिथोल्ने लगायका काम पनि भयो । सुध्रिएको सम्बन्ध पुनः बिग्रिएपछि एमालेले मधेशमा सोचेको जस्तै मत नआउने अवस्था देखिएको टिप्पणीहरु भइरहेको छ । 

तर, मधेशमा काँग्रेस र मधेशवादी दलबीच प्रतिस्पर्धा भएपछि त्यसको फाइदा एमालेलाई हुने देखिएको छ । त्यो पनि राजमार्ग छेउछाउ मात्र । कोर मधेशमा काँग्रेस र मधेशवादी दलको पकड रहेको छ भने राजमार्ग छेउछाउ एमाले र माओवादी केन्द्रको पकड रहेको छ ।

दुई नम्बर प्रदेशमा एमालेको उपस्थिति
आठ वटा चुनावी क्षेत्र रहेको दुई नम्बर प्रदेशबाट एमालेले दोस्रो संविधानसभा चुनावमा १४ वटा सीट जितेको छ । सप्तरी, सिरहा, धनुषा, सर्लाहीबाट एक–एक सीट जितेको छ भने महोत्तरी र रौतहटबाट दुई–दुई र बारा र पर्साबाट तीन तीन सीट जितेको एमाले मधेशमा दोस्रो स्थानमा रहेको देखिन्छ । २१ सीट जितेर पहिलो स्थानमा काँग्रेस रहेको छ भने ८ सीट जितेर तेस्रो स्थानमा माओवादी रहेको छ ।

दोस्रो संविधानसभा चुनावको समयमा मधेशमा आन्दोलन रापताप नहुँदा एमालेले १४ सीट ल्याएको थियो । पहिलो संविधानसभा चुनावको समयमा मधेशमा आन्दोलनको रापताप रहँदा पनि एमालेले १३ सीट जितेको थियो । यसबाट प्रष्ट हुन्छ कि एमालेको आफ्नो संगठनको मत तलमाथि हुँदैन ।

ख्याल गर्नुपर्ने कुरा के रहेको छ भने जुन जिल्लामा मधेशवादी दलको पकड रहेको छ, त्यहाँ एमालेको कम मत आएको देखिन्छ । त्यहाँ काँग्रेस र माओवादीको मत धेरै आएको छ । मधेशवादी दलले आफ्नो विशेष पकड भएको दावी गर्ने जिल्लामा सप्तरी, सिरहा, धनुषा, सर्लाही रहेको छ । जहाँ एमाले कमजोर देखिन्छ । यी जिल्लाहरुमध्ये सिरहाबाहेक जति ठाउँमा एमालेले सिट जितेको छ त्यो सबै राजमार्ग छेउछाउ अर्थात पहाडी बाहुल्य रहेको क्षेत्रबाट जितेको छ ।

सप्तरी
पहिलो संविधानसभा चुनावमा सप्तरीमा शुन्य सिट हात पारेका एमालेले दोस्रो संविधानसभा चुनावमा बल्ल बल्ल एउटा सीट जितेको थियो, त्यो पनि राजमार्गको पहाडी बाहुल्य क्षेत्रबाट । जिल्लामा पहिलो संविधानसभामा मधेशवादी दलले कब्जा जमाएको थियो भने दोस्रो संविधानसभामा माओवादी र काँग्रेसले जमायो । 
छवटा चुनावी क्षेत्र रहेको सप्तरीमा दोस्रो संविधानसभा चुनावमा एमालेले २३ एकसय ६० मत प्राप्त गरेको थियो जब कि त्यहाँ दुई लाख ३१ हजार तीनसय २४ मत खसेको थियो । सबभन्दा कम मत क्षेत्र नम्बर तीनबाट आएको छ । माओवादीका उमेश यादव जितेको त्यो ठाउँमा एमालेले १३ औँ स्थानमा थियो र ५०३ मत मात्र पाएको थियो । जब कि पहिलो संविधानसभा चुनावमा दुईहजार दुई सय ४४ मत पाएको थियो ।

सिरहा
छवटा चुनावी क्षेत्र रहेको सिरहाबाट पनि एमालेले रामचन्द्र यादवलाई मात्र जिताउन सफल भयो । क्षेत्र नम्बर दुईबाट उनी जितेका हुन् । तीन, चार, पाँचमा काँग्रेस र माओवादीसँग प्रतिस्पर्धा गरेको थियो । सिरहा जिल्लामा दुईलाख ३३ हजार नौ मत खसेको थियो त्यसमध्ये एमालेले ५२ हजार नौसय ६३ मत ल्याएको थियो । यो प्रतिस्पर्धा मत हो । यो जिल्लाबाट माओवादीका अध्यक्ष प्रचण्ड पनि विजयी भएका हुन् ।

एमालेले पहिलो संविधानसभा चुनावमा यो जिल्लाबाट एकजनालाई पनि जिताउन सकेको थिएन तर मत ४२ हजारभन्दा बढी ल्याएको थियो । 

धनुषा
यो जिल्लाबाट पनि एमालेले एक जनालाई मात्र जिताउन सक्यो । निर्वाचन क्षेत्र सातबाट सत्रुधन महतोले चुनाव जितेका हुन् । यो क्षेत्र राजमार्गमा पर्छ जहाँ पहाडीको पनि बसोवास रहेको छ । एमालेले यो जिल्लाबाट दोस्रो संविधानसभा चुनावमा ५१ हजार तीनसय ५७ मत पाएको थियो जब कि त्यहाँ दुई लाख ६३ हजार ३४२ मत खसेको थियो । सातवटा चुनावी क्षेत्र रहेको यो जिल्लाबाट काँग्रेसले पाँचवटा सांसद जिताएको छ । क्षेत्र नम्बर दुई, पाँच र छ मात्र एमालेले प्रतिस्पर्धा गरेको थियो भने बाँकीमा प्रतिस्पर्धामा पनि आउन सकेन ।

एमालेले पहिलो संविधानसभा चुनावमा भने जिल्लाबाट दुईवटा सीट जितेको थियो । एक नम्बर क्षेत्रबाट रामचन्द्र झा जितेका थिए, उनी अहिले माओवादी केन्द्रमा छन् । दोस्रो संविधानसभा जितेका सत्रुधन महतो पहिलो संविधानसभा चुनावमा पनि विजयी भएका थिए ।

महोत्तरी
एमालेले महोत्तरीमा दुईटा सीट जितेका छ । दोस्रो संविधानसभाको चुनावमा सो दलले २१ हजार ४४८ मत पाएको थियो । जब कि त्यहाँ दुईलाख ४६ हजार ८१ मत खसेको थियो । सो जिल्लामा दुईटा सीट जितेपनि अरु क्षेत्रमा चार, पाँच र छैठौँ स्थानमा एमाले थन्कियो । पहिलो संविधानसभा चुनावमा त पार्टीले जिल्लाबाट एउटा पनि सीट जितेको थिएन । जब कि उसले ३७ हजार पाँचसय ८२ मत पाएको थियो ।
 

सर्लाही
राजपा नेपालको पकड भएको जिल्ला मानिएको सर्लाहीबाट दोस्रो संविधानसभा चुनावमा एमालेले एकजनालाई मात्र जिताउन सक्यो । क्षेत्र नम्बर तीनबाट हरि उप्रेतीले १२ हजार ८०८ मत ल्याएर जितेका हुन् । हरि उप्रेतीको घर मधेशी बाहुल्य क्षेत्रमा भएपनि यो क्षेत्र राजमार्गमा वरिपरी रहेको छ जहाँ पहाडी सामुदायको बाहुल्य रहेको छ । 

राजपाका महेन्द्र राय यादव, जंगीलाल राय यादव र काँग्रेसका अमरेश नारायण सिह जितेका क्षेत्रहरु राजमार्गसँग जोडिएको छैन । 
एमालेले सो जिल्लाबाट ३७ हजार २७१ मत पाएको छ जब कि त्यहाँ दुई लाख ६१ हजार आठ ९१ मत खसेको थियो । 

रौतहट
एमालेका नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा एमालेले दुई सीट हात पारेको छ । माधवकुमार नेपाल स्वयं एक नम्बरबाट जितेका हुन् भने रामकुमार भट्राई छ नम्बरबाट जितेका हुन् । 

सो दलले त्यहाँबाट ४७ हजार दुईसय ४५ मत पाएको छ । त्यहाँ जम्मा मत दुई लाख ३४ हजार नौ ३५ मत खसेको थियो । 

पहिलो संविधानसभामा माधव नेपाल समेत हारेका जिल्ला हो रौतहट । त्यतिबेला एमालेले एकजना पनि जिताउन सकेको थिएन । मधेश आन्दोलनको चर्चित घटना गौरघटना त्यही भएको थियो । आन्दोलनको रापताप भएको कारणले एमाले कमजोर भएको थियो । 

बारा
छवटा चुनावी क्षेत्र रहेको बाराबाट एमालेले तीनटा सीट जितेको छ । अरु तीन ठाउँ काँग्रेसले मात्र कब्जा जमाएको छ । दोस्रो संविधानसभा चुनावमा ५९ हजार ७०७ मत ल्याएको एमालेले क्षेत्र नम्बर दुईमा काँग्रेससँग प्रतिस्पर्धा गरेको थियो भने एक र दुई नम्बरमा छैठो र सातौ स्थानमा थन्किएको थियो । त्यतिबेला त्यहाँ दुईलाख ८५ हजार छ मत खसेको थियो । 

पहिलो संविधानसभा चुनावमा भने एमालेले बाराबाट एउटा सीट पनि हात पार्न सकेको थिएन । मधेशवादी दलले तीन, काँग्रेस एक र माओवादीले एक सीट जितेको थियो । 

पर्सा
पाँचवटा चुनावी क्षेत्र रहको पर्सामा दोस्रो संविधानसभा चुनावमा एमालेले तीनटा सीट जितेको छ भने अरु बाँकी दुई ठाउँमा काँग्रेसले जितेको छ ।
औद्योगिक जिल्लाको रुपमा परिचित पर्साबाट एमालेले ४४ हजार १२ मत पाएको थियो जब कि त्यहाँ एकलाख ७० हजार तीसय ३१ मत खसेको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप