शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

मङ्गलबार, २० भदौ २०७४, १७ : २८
मङ्गलबार, २० भदौ २०७४

एसके यादव

काठमाडौँ । साउन २७ गतदेखि भदौ १९ गतेसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनकै पार्टीको शब्दमा ‘हजारौँ’ मधेशी नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । यो प्रवेश स्थानीय तहमा दुई नम्बर प्रदेशमा माओवादीलाई पहिलो पार्टी बनाउने प्रचण्डको महत्वकांक्षासँग र असन्तुष्टहरुलाई माला लगाउने माओवादी योजनासँग जोडिएको छ ।

यति हुँदा हुँदै पनि आखिर चुनावको मुखमा किन मधेशी नेताहरु धमाधम माओवादीमा प्रवेश गरेका छन् ? सप्तरीदेखि पर्सासम्म, पेरिडाँडादेखि लाजिम्पाटसम्म जतापनि प्रचण्डले मधेशी नेतालाई पार्टीमा भित्र्याएको देख्दा टिप्पणी हुन थालेको छ – प्रचण्डलाई साँच्चै ‘मधेशसँग लभ परेको हो कि क्या हो’ । प्रचण्डले केही समय अगाडि आफ्नो मधेशसँग ‘लभ’ परेको बताएका थिए ।

हुन त यसअघि पनि माओवादीमा मधेशी नेताहरु प्रवेश नगरेका होइनन्, तर चुनावैको मुखमा जुनस्तरका मधेशी नेताहरु माओवादीमा प्रवेश गरेका छन्, त्यसले सहजै अनुमान लगाउन सकिन्छ मधेशमा प्रचण्डले गरेको कसरतको नतिजा देखिएको छ ।

मधेशवादी दलदेखि नयाँ शक्तिका प्रभावशाली नेताहरु माओवादीमा प्रवेश गरेका छन् । जसले स्थानीय तहको चुनावमा मात्र होइन, संसदीय चुनावमा प्रभाव पार्ने हैसियतमा राख्छन् मधेशमा ।  

र, यो पार्टी प्रवेशले सबभन्दा ठूलो धक्का नयाँ शक्ति नेपाल र राजपा नेपाललाई लागेको छ । हुन त लोकतान्त्रिक फोरम, एमाले, राप्रपा, काँग्रेसका मधेशी नेताहरु माओवादीमा प्रवेश गरेका छन् तर त्यसले ती दलहरुलाई खासै प्रभाव पारेको छैन ।

राजपा नेपालको किल्ला मानिएको सर्लाहीमा माओवादी केन्द्रले ठूलो धक्का दिएको छ । चुनावी मतको हिसाब गर्ने हो भने सर्लाहीमा माओवादी कमजोर थियो । दोस्रो संविधानसभा चुनावमा जिल्लाबाट २६ हजार ९२ मत मात्र ल्याएको थियो, जब कि सर्लाहीमा दुई लाख ६१ हजार ८९१ मत खसेको थियो । त्यसमध्ये राजपा नेपालमा हाल आबद्ध रहेका छवटा दल मिलाएर ९१ हजार नौसय ९२ मत ल्याएको थियो ।

त्यसमध्ये शिवपुजन राय यादवले एक्लैले १० हजार ३६५ मत ल्याएका थिए । उनी भदौ १९ गते माओवादीमा प्रवेश गरेका छन् । पहिलो संविधानसभामा राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई हराएका शिवपुजन दोस्रो संविधानसभामा हारेका हुन्, तर उनको मत महन्थ ठाकुरभन्दा बढी छ ।  उनीसँग जिल्लाभरि सैयौँ कार्यकर्ता प्रवेश गरेको माओवादीले दावी गरेको छ ।

उनीसँगै राजपा नेपालका केन्द्रीय सदस्य रामबाबु दास, रामएकवाल राय यादव, जिल्लाका उपाध्यक्ष महेन्द्र प्रसाद यादवलगायतले पनि प्रवेश गरेका छन् ।  

त्यस्तै, फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव पनि सर्लाहीका प्रभावशाली नेता नै मानिन्छन् । उनले पनि दोस्रो संविधानसभा चुनावमा सात हजार ४८३ मत ल्याएर हारेका हुन् । सर्लाहीका यी दुई जना नेता माओवादीमा प्रवेश गरेपछि राजपा नेपालका लागि ठूलो चुनौति बनेको छ ।

मधेशमा नयाँ शक्तिका खम्बा मानिएका रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलगायतका नेताहरु पनि माओवादीमा प्रवेश गरेका छन् । उनीहरु पनि आ–आफ्नो जिल्लामा प्रभावकारी नेताको रुपमा गनिन्छन् । महेन्द्र पासवान सिरहाको पाँच नम्बर क्षेत्रबाट पहिलो संविधानसभा चुनावमा १२ हजार ११० मत ल्याएर जितेका थिए तर दोस्रो संविधानसभामा उनले प्रचण्डलाई जिताएका हुन् ।

रामकुमार शर्मा पहिलो संविधानसभा चुनावमा महोत्तरीको क्षेत्र नम्बर चारवाट नौहजार ५६४ मत ल्याएर जितेका थिए । दोस्रो संविधानसभा चुनावमा आफूले चुनाव लडेका थिएनन् आफ्ना श्रीमती इन्दु शर्मालाई चुनाव लडाएका थिए उनले पनि दुई हजार ७५७ मत ल्याएकी थिइन् । तर, उनी पराजित भएकी हुन् ।

रामचन्द्र झा पनि धनुषाका प्रभावशाली नेता हुन् । उनी पनि पहिलो संविधानसभाामा धनुषाको एक नम्बर क्षेत्रबाट १२ हजार १८३ मत ल्याएर एमालेबाट चुनाव जितेका थिए । पछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए र दोस्रो संविधानसभा चुनावमा पाँच हजार ३१० मत प्राप्त गरेर हारेका थिए ।

यी उदाहरणहरु मात्र हुन् । चुनावमा प्रभावपार्ने खालका थुप्रै नेताहरु प्रवेश गरेका छन्, जसले माओवादीका अध्यक्ष प्रचण्डलाई उत्साहित बनाएको छ ।

नेपाल सद्भावना पार्टीका (हाल राजपामा सामेल) संस्थापक महामन्त्री अनिस अन्सारी पनि भदौ १३ गते माओवादी पार्टीमा प्रवेश गरेका हुन् । सप्तरीमा उनलाई प्रभावशाली नेतामध्येमा गणना हुन्छ । उनी अहिले माओवादीको तर्फबाट राजविराज नगरपालिकाका लागि मेयरका उम्मेदवार हुन् । पूर्वमन्त्री रहिसकेका अन्सारीका कारण सप्तरी माओवादीका लागि झनै राम्रो भएको दावीहरु भइरहेको छ । पहिलो संविधानसभा चुनावमा क्षेत्र नं. ३ बाट छ हजार नौसय २१ मत ल्याएका थिए । त्यतिबेला उनले तत्कालिन तमलोपाबाट चुनाव लडेका थिए तर सद्भावना पार्टीका महेश यादवले उनलाई हराएका थिए । त्यस्तै, दोस्रो संविधानसभा चुनावमा पनि उनी हारेका तर त्यसबेला पनि तीनहजार पाचसय ९५ मत ल्याएका थिए । 

भदौ १५ गते रौतहटको गरुडामा भएको कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य तथा रौतहटका जिल्ला अध्यक्ष शेरनुरल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाललगायत नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरे । त्यस्तै, भदौ १९ गते नै राजपा नेपालका केन्द्रीय सदस्य योगानन्द चौहान पनि पार्टी प्रवेश गरे । भदौ १८ गते राजपा नेपालका केन्द्रीय सदस्यहरु चेतनारायण महतो, सिताराम महतोलगायतका नेता तथा कार्यकर्ताहरु पनि प्रवेश गरे ।

यो पनि पढ्नुहोस्​

तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन

मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा

मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’

 

यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)

किन रोजे माओवादी ?

ज–जसले पार्टी प्रवेश गरेका छन् ती सबैले मधेशवादी दलका नेतृत्वकर्तालाई नै दोषी देखाएका छन् । पार्टीलाई हैकमवादी शैलीमा चलाएको, जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ देखिएको र मधेशको मुद्दाप्रति गम्भीर नदेखिएको आरोप उनीहरुले लगाएका छन् ।

तर, कुरा त्यति मात्र होइन, यी आरोपहरु उनीहरुले पहिला लगाएर किन बाहिरिएन त भनि प्रश्न उठेको छ । चुनावको मुखमा टिकट नपाएर उनीहरु पार्टी छाडेर माओवादी पार्टीमा प्रवेश गरेको मधेशी नेताहरुको दावी छ । यो कुरा उनीहरुले पनि स्वीकार गरेका छन् ।

हिजो मात्र माओवादी केन्द्रमा प्रवेश गरेका शिवपुजन राय यादवले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले टिकटमा ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘म सर्लाहीमा राजनीति गर्छु, मेरो क्षेत्रमा को जित्छ, को जित्दैन त्यो कुरा त मलाई थाहा हुन्छ । केन्द्रमा बसेर सधैँ राजनीति गर्ने तीन चारजना नेताले जे निर्णय गर्छ, त्यो स्वीकार कसरी गर्ने ?’

उनले राजपा नेपालका अध्यक्ष मण्डलमा रहेका छजना नेता बाहेक अरु कसैको कुनै हैसियत नभएको बताए । ‘उनीहरुले कसैको मानसम्मानको ख्याल गरेका छैनन् । उनीहरुलाई जे मन लाग्छ, त्यही गरिरहेका छन्,’ यादवले भने । यही कारण त्यहाँ बस्न उपयुक्त नलागेर आफू माओवादीमा प्रवेश गरेको दावी यादवको रहेको छ ।

उनले राजपा नेपाल जस्तो समस्या माओवादी केन्द्रमा नभएको बताए । ‘स्थानीय तहको उम्मेदवार चयन गर्नका लागि केन्द्रीय नेताहरु हावी हुँदैनन्, जहाँ समस्या छ त्यहीँ टुंग्याउने चलन भएकाले म माओवादीमा आएको हुँ’ उनले भने, ‘माओवादी गणतन्त्र र लोकतन्त्रका लागि लडेको पार्टी हो, यसले मुद्दा बुझेको छ, समाजलाई चिनेको छ तर मधेशवादी दल सधैँ आन्दोलन मात्र गर्छ । मधेशी जनताको भावना कहिल्यै बुझ्दैन ।’ 

रामेश्वर राय यादवले पनि मधेशवादी दल राजनीतिको नाममा ‘सडकमा थापिएको पसल’ मात्र भएको टिप्पणी गरे । आफ्ना श्रीमती, ज्वाइँलाई माननीय बनाउनुबाहेक जनतालाई मधेशी दलले केही नगरेको आरोप उनले लगाए । उनले भने, ‘मधेशको मुद्दा बोकेर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने सोचले देशको विकास हुँदैन ।’

माओवादी केन्द्रमा भर्खरै प्रवेश गरेका राजपा नेपालका केन्द्रीय सदस्य योगानन्द चौहान र चेतनारायण महतोले पनि मधेश आन्दोलनमा ठूलो बलिदान भाए पनि मधेशी नेताले आफ्नो दुनो सोझ्याउने मात्र काम गरेको अरोप लगाए । ‘उनीहरु आफ्नो व्यक्तिगत स्वार्थभन्दा कहिल्यै माथि उठेनन् । त्यसले मधेशमा राजपा नेपालको औचित्य समाप्त भएको छ,’ उनीहरुको भनाई थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरेका योगानन्द चौहानले भन्छन्, ‘हामी मधेश र मधेशी जनताको अधिकारका लागि पार्टीमा लाग्यौं । तर, नेताहरुले हाम्रो भावनाको व्यापार गरे । मधेशको मुक्तिका नाममा आफ्नो स्वार्थ पूरा गरे । हिमाल, पहाड, मधेश र आदिवासी–जनजातिको अधिकार चाहने एक मात्र पार्टी भएकाले म माओवादीमा प्रवेश गरेँ ।’
 
 
मधेशी नेतालाई टिका लगाउँदै प्रचण्डले भनेका छन्

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादी पार्टी मात्र सच्चा राष्ट्रवाद, राष्ट्रिय एकता र जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएको बताएका छन् । ‘एकथरि नेताहरु मधेश र अर्कोथरि मान्छेहरु पहाडको राष्ट्रवादको कुरा गर्छन्, त्यो नक्कली राष्ट्रवाद हो । हामी हिमाल, पहाड र मधेश जोड्ने सच्चा राष्ट्रवादको पक्षमा छौं, जनताको अधिकारको पक्षमा छौं,’ सोमवार पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए ।

सिमरामा बोल्दै प्रचण्डले भनेका थिए, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्, तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । अर्कोथरि मान्छेहरु पहाडियाप्रति घृणाको नजरले हेर्छ । नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ । त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं । माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिडाउने अतिवादको विरुद्धमा छौं । काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ । मधेश बन्न पहाडको श्रम र पसिना छ, यो यथार्थलाई हामीले झुल्नु हुँदैन । सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ ।’

गौरमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेका थिए, ‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान छ । हामी देशलाई जोड्न चाहन्छौँ । राष्ट्रिय एकता, जनताको मुक्ति एवम् स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थपूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’

सर्लाहीमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेका थिए, ‘पहाडमा पनि सामन्त छन्, मधेशमा पनि सामन्त छन् । पहाडका सामन्तले पहाडलाई मात्रै देश ठान्छ, खोक्रो राष्ट्रियताको कुरा गर्छ र मधेशी जनताको अपमान गर्छ । मधेशमा पनि सामन्त छन्, उनीहरु नेपालको एकता चाहँदैनन्, पहाडीलाई घृणा गर्छन् । यी दुवै अतिवाद हुन्, नश्लवाद हुन् । अब हिमाल, पहाड र तराई—मधेशका गरीब र उत्पीडितहरु एक होऔं, देशको हित र जनताको अधिकारको पक्षमा लडौँ, पहाड र मधेशका सामन्तहरुलाई पराजित गरौं । माओवादी मात्रै यस्तो पार्टी हो, जसले हिमाल, पहाड र मधेशलाई जोड्न चाहन्छ, देशलाई एकतावद्ध गर्न चाहन्छ, सबै जाति र समुदायलाई अधिकार र पहिचान दिन चाहन्छ । काठमाडौं विकसित हुनुमा मधेशको योगदान छ, मधेशको विकास र समृद्धिका लागि पहाड आवश्यक छ । पहाडविरोधी र मधेशविरोधी भावनाले देशको हित गर्दैन, जनताको हित गर्दैन । रामेश्वरजी माओवादी आउनु सामान्य कुरा होइन, हजारौं नेता—कार्यकर्ताको प्रवेशले फेरी एकपटक राष्ट्रिय एकताको सन्देश दिएको छ ।’

जनकपुरमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेका थिए, ‘जनयुद्धको बेला मधेशमा माओवादीको पक्षमा ठूलो लहर थियो । बीचमा माओवादीमाथि ठूलो षड्यन्त्र रचियो, मधेशमा माओवादीलाई संघीयता विरोधी देखाउन निकै कोशिस गरियो । अहिले ११ वर्षपछि माओवादी केन्द्रको पक्षमा जनलहर आएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप