बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

मङ्गलबार, १३ भदौ २०७४, १७ : ३४
मङ्गलबार, १३ भदौ २०७४

एसके यादव
 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजीनामा दिएयता सम्पूर्ण ध्यान मधेशतिर लगाएका छन् । अहिले उनको अधिकांश समय मधेशमा नै बित्ने गरेको छ । बेलाबेला मधेससँग ‘प्रेमकहानी’ सुनाउने प्रचण्डले यसअघि सम्पन्न दुई चरणको चुनावमा तेस्रो स्थान हासिल गरेको माओवादीलाई दुई नम्बरमा एक नम्बरको पार्टी बनाउने घोषणा गरेका छन् । 

अहिले उनले आफ्नो हेडक्वाटर मधेसमा नै बनाएका छन् । हालसम्म उनी पर्सादेखि सप्तरीसम्म घुमिसकेका छन् । राजनीतिक प्रशिक्षणदेखि लिएर पार्टी प्रवेश गराउनेसम्मको कार्यक्रम गर्दै जिल्ला जिल्लामा उनले चुनावी सम्बोधन गरिरहेका छन् । विभिन्न पार्टी छाडेर माओवादी केन्द्रमा प्रदेश गरेको लहर देख्दा प्रचण्ड निकै उत्साहित भएका छन् । शुरुदेखि मधेशवादी दलसँग राम्रो सम्बन्ध बनाएर राखेका प्रचण्डले मधेशबाट पनि निकै आशा गरेका छन् । 

राजीनामा दिएपछि उनले कार्यवाहक प्रधानमन्त्रीको रुपमा तराई–काठमाडौ जोड्ने फास्टट्रयाक सडक निर्माणको शिलन्यास गर्नका लागि बारा पुगेका थिए । त्यहाँबाट मधेशमा उनले एउटा सन्देश दिएका थिए । शिलन्यासपछि उनले भनेका थिए, ‘फास्ट ट्रयाक निर्माणले तराई–मधेश र काठमाडौं बीचको दुरी र समय त घटाउने नै छ । तर, त्योभन्दा ठूलो र मुख्य कुरा तराई–मधेश र काठमाडौं बीचको भावनात्मक दुरी घटाउने छ, देशलाई एकतावद्ध गर्नेछ, राष्ट्रिय एकतालाई बलियो बनाउने छ र सिंगो देशलाई समृद्धिको दिशामा लैजाने छ ।’

फास्टट्रयाक शिलन्यास गरेर प्रचण्डको मधेशी मत तान्ने प्रयास शुरु भएको थियो । त्यति मात्र होइन, उनले आफ्नो कार्यकालमा मधेशवादी दलले उठाउँदै आएको माग पनि सम्बोधन गर्ने प्रयास गरेका थिए । त्यसका लागि जेठ १४ गते राजपा नेपालसँग अन्तिम प्रयास गरेका थिए । 

त्यसपछि, जेठ १६ गते उनले मुस्लिम समुदायलाई भेटेर असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको चुनाव असार १४ गते सार्ने निर्णय सुनाएका थिए । त्यसलाई पनि कतिपयले मुस्लिमको मत तान्ने रणनीति रहेको पनि कतिपयले ब्याख्या गरे । त्यसपछि उनले असार १४ गतेको चुनावलाई टार्गेट गर्दै प्रदेश नम्बर एक, पाँच र सात नम्बरका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका थिए । त्यही क्रममा जेठ २९ गते रामराजा प्रसाद सिंहको बमकण्डमा संलग्न डा. जितेन्द्र महासेठलाई पनि पार्टीमा प्रवेश गराएका थिए । त्यस्तै ३० गते नै उनले धनुषाका काँग्रेसका प्रभावशाली नेता ललन चौधरीलाई पनि पार्टीमा प्रवेश गराए । 

असार ७ गते एक नम्बर प्रदेशअन्तर्गत मधेशमा पर्ने जिल्ला उदयपुरमा गएर चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस र एमालेको चाहनाले स्थानीय तहको चुनाव नगर्ने हुँदाहुँदै माओवादी केन्द्रको प्रयासले मात्र चुनाव भएको धारणा राखेका थिए । त्यो दिन उनले त्यो क्षेत्रमा सुनसरीसम्म गरी चार ठाउँमा आफ्नो मन्तव्य दिएका थिए । 

त्यसको भोलिपल्ट एकैचोटी चौधरीहरुको बाहुल्य क्षेत्र मानिएको सात नम्बर प्रदेशको कैलाली, कञ्चनपुर पुगेर उनले यस्तै मन्तव्य राखेका थिए ।  त्यो दिन उनले छ ठाउँमा आफ्नो मन्तव्य दिएर चौधरीहरुको मत आफूतिर तान्ने प्रयास गरेका थिए । 

असार १४ गते चुनाव सकिएपछि उनी दुई नम्बर प्रदेशमा केन्द्रीत भएका थिए । असार २६ गते नयाँ शक्ति नेपाल पार्टीका मधेशी नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएका थिए । त्यो दिन बारा र रौतहटका थुप्रै नेता तथा कार्यकर्ताहरु अन्य पार्टीहरु छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । असार २७ गते बसेको हेडक्वाटर बैठकमा चुनावको समिक्षा भएको थियो । सो बैठकमा अध्यक्ष प्रचण्डले छवटा प्रदेशमा भएको चुनावमा माओवादी केन्द्र तेस्रो पोजिसनमा भएपनि अब हुने दुई नम्बर प्रदेशको चुनावमा एक नम्बरको पार्टी बनाउनुपर्ने धारणा राखेका थिए । 

त्यही दिन तीन दलको बैठकपछि राजपा नेपालसँग पनि संविधान संशोधनको विषयमा छलफल भएको थियो । तर, एमालेले यथास्थितिमा संविधान संशोधन हुन नदिने अडान लिएपछि बैठक सफल भएको थिएन । काँग्रेसभन्दा माओवादी केन्द्रको संविधान संशोधनमा सकारात्मक धारणा रहेको थियो ।

प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साउन २ गते सचिवालयको बैठक बोलाएका थिए । सो बैठकमा प्रत्येक प्रदेशका इन्चार्जहरुले आआफ्नो रिर्पोर्ट प्रस्तुत गरेका थिए । त्यसको समिक्षा गर्दै दुई नम्बर प्रदेशमा पार्टीलाई कसरी एक नम्बर बनाउन सकिन्छ त्यसको बारेमा छ दिनसम्म बहस चलेको थियो । 

राजपा नेपालको किल्ला मानिएको सर्लाहीबाट दुई जना प्रभावशाली नेता पनि माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । भदौ १४ गते लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव र राजपा नेपालका प्रभावशाली नेता शिवपुजन राय यादव माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । 

साउन १६ गते अध्यक्ष प्रचण्डले धनुषाको जनकपुरमा दुई नम्बर प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणमा प्रचण्डले भनेका थिए, ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौं । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔँ । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ ।’ माओवादी केन्द्रले सरकारमा रहेर गरेको कामको बारेमा मधेशी जनतालाई जानकारी गराए मात्र आफ्नो पार्टी एक नम्बरको पार्टी हुने उनले दाबी गरेका थिए ।

जनकपुरबाट फर्केपछि अध्यक्ष प्रचण्डले साउन १८ गते हेडक्वाटरको बैठक डाकेर असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावमा शीर्ष नेताहरुलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरेका थिए । जस अन्तर्गत अध्यक्ष प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’ लाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’ लाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेका थिए । 

साउन २७ लाजिम्पाटस्थित आफ्नै निवासमा नयाँ शक्ति नेपालका मधेशका प्रभावशाली नेताहरु रामकुमार शर्मा र रामचन्द्र झालगायतका नेतासँग छलफल गरेका थिए । सो छलफलमा दुई नम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तहको चुनावको बारेमा पनि समिक्षा भएको थियो । सोही बैठकबाट ती नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने निश्चित भएको थियो । त्यसपछि उत्साहित बनेका प्रचण्डले दुई नम्बर प्रदेशमा माओवादीलाई एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने उद्घोष गरेका थिए । उनी उत्साहित हुनुको अर्को पनि एक कारण छ । राजपा नेपालको किल्ला मानिएको सर्लाहीबाट दुई जना प्रभावशाली नेता पनि माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । भदौ १४ गते लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव र राजपा नेपालका प्रभावशाली नेता शिवपुजन राय यादव माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । 

साउन २८ गते माओवादी केन्द्रका मधेशी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्दै पनि अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा माओवादी केन्द्र एक नम्बरको पार्टी कसरी बन्ने सुत्र सुझाएका थिए । 

तराई मधेशमा आएको बाढी पहिरोलाई पनि प्रचण्डले राम्रैसँग सदुपयोग गरे । उनले काठमाडौँबाट राहत लिएर सर्लाही, धनुषादेखि सप्तरीसम्म पुगेका थिए । बाढी पीडित जनतालाई राहत वितरण गरेका थिए । यसरी राहत वितरण गर्दा कतिपयले त्यसको आलोचना पनि गरे । चुनावको समयमा सरकारी साधनस्रोतको दुरुपयोग गर्दै बाढी पीडितलाई राहत बाँडेको भन्दै आलोचना पनि भएको थियो । 

प्रचण्डल पीडितकै घरमा पुगेर जसरी राहत वितरण गरे त्यसरी कुनै पनि पार्टीका अध्यक्षले वितरण गरेका छैनन् । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अनुगमन गरेर मात्र फर्केका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रमा गएकै छैनन् । मधेशवादी दलका अध्यक्षहरु बाढी प्रभावित क्षेत्रमा गए एक दुई ठाउँमा राहत पनि वितरण गरे तर उनीहरु चाँडै काठमाडौँ फर्केका थिए । 

प्रचण्ड भदौं चार गते पनि जनकपुर पुगेका थिए । नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्न उनी जनकपुर पुगेका थिए । सो कार्यक्रममा पनि उनले माओवादी केन्द्र मधेशमा एक नम्बरको पार्टी हुने दावी प्रस्तुत गरेका थिए । उनले भनेका थिए, ‘सर्लाही र रौतहटमा पनि व्यापक रुपमा राजपा नेपाल र अन्य पार्टीका नेताहरु पार्टीमा प्रवेश गर्दैछन्, कार्यक्रम नै बनिसक्यो, १०÷२० हजार जनताको बीचमा उनीहरु पार्टी प्रवेश गर्ने निश्चित भएको छ ।’ उनले निर्वाचनमा उम्मेदवार छनोट चुनाबी अभियान यही स्प्रीटमा अगाडि बढाउन सके माओवादी केन्द्रलाई पहिलो शक्ति बन्नबाट कुनै तागतले रोक्न नसक्ने दावी गरेका थिए । 

भोलि अर्थात भदौ १४ गते दुई नम्बर प्रदेशको सर्लाहीमा हुने भव्य पार्टी प्रवेश कार्यक्रममा सहभागि हुनका लागि उनी दुई दिनदेखि मधेशमै छन् । भदौ १० गते सात नम्बर प्रदेशको धनगढी पुगेका प्रचण्ड भदौ १२ गते विराटनगर पुगेका थिए । आज उनी सप्तरी, सिरहा हुँदै सर्लाही पुग्दैछन् । 

यसरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीलाई एक नम्बरको पार्टी बनाउनका लागि स्वयं आफै लागि परेका छन् । 

दुई नम्बर प्रदेशमा माओवादी केन्द्रको उपस्थिति
 

दुई नम्बर प्रदेशमा जम्मा ४८ वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये पहिलो संविधानसभा चुनावमा माओवादी केन्द्रले प्रत्यक्षमा ६ वटा क्षेत्र जितेको थियो  । त्यो चुनावमा माओवादीले दुई लाख ६६ हजार नौ ६३ मत ल्याएका थिए । अनौठो रुपमा पहिलो संविधानसभा चुनावमा एक नम्बरको पार्टी हुँदा दुई नम्बर प्रदेश अर्थात मधेशका आठवटा जिल्लामा ६ जना सभासद मात्र जिताउन सकेका थिए भने दोस्रो संविधानसभा चुनावमा तेस्रो दलको रुपमा आएपनि दुई नम्बर प्रदेशमा आठजना सांसद जिताउन सफल भएका थिए । 

जब कि दोस्रो संविधानसभा चुनावमा भन्दा पहिलोमा दलको संख्या कम थियो । पहिलो संविधानसभा चुनावमा ५४ वटा दलले भाग लिएका थिए भने दोस्रो संविधानसभा चुनावमा १२१ दलले भाग लिएका थिए । दोस्रो संविधानसभा चुनावमा माओवादी केन्द्रले पहिलो संविधानसभाको भन्दा कम दुई लाख ५२ हजार तीनसय ६१ मत हात पारेका थिए । 

सप्तरी
 

सप्तरीमा पहिलो संविधानसभा चुनावमा माओवादीले ३१ हजार ४० मत ल्याएको थियो । छवटा क्षेत्र रहेको मध्ये एकजनालाई मात्र जित हासिल गरेका थिए भने दोस्रो संविधानसभा चुनावमा ३० हजार आठ १६ मत ल्याएको थियो । जसमा तीन जना विजयी भएका थिए ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको पर्सामा माओवादी केन्द्र दुईटै संविधानसभा चुनावमा शुन्य रह्यो । पहिलो संविधानसभा चुनावमा १७ हजार ७२७ मत ल्याएको थियो भने दोस्रो संविधानसभा चुनावमा १९ हजार १०२ मत ल्याएको थियो । त्यो जिल्लामा माओवादी छैठो–चौथो स्थानमा सिमित भएर बस्न बाध्य भयो । 

सिरहा

छवटा चुनावी क्षेत्र रहेको सिरहामा पहिलो सधिवानसभा चुनावमा माओवादी केन्द्रले ३० हजार ७२० मत ल्याएको थियो । त्यसमा क्षेत्र नंम्बर पाँचवाट महेन्द्र पासवान मात्र जितेको थियो । दोस्रो संविधानसभा चुनावमा ४३ हजार नौ १७ मत ल्याएको थियो । त्यसमध्ये पाँच नम्बर क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १५ हजार दुईसय ४४ मत ल्याएर विजयी भएका थिए । 

धनुषा
सातवटा चुनावी क्षेत्र रहेको धनुषामा भएको पहिलो संविधानसभा चुनावमा माओवादी केन्द्रले ४१ हजार ५२९ मत ल्याएको थियो । त्यसमध्ये क्षेत्र नं. ६ वाट रामकुमारी यादवले मात्र जितेकी थिइन् । उनी रामवृक्ष यादवका श्रीमती हुन् । रामकुमारीको पनि दुर्घटनामा परेर मृत्यु भइसकेको छ । दोस्रो संविधानसभा चुनावमा त्यहाँ एउटा पनि सीट जित्न सकेन । सो चुनावमा माओवादी केन्द्रले २८ हजार तीनसय सात मत ल्याएको थियो ।

महोत्तरी
 

छवटा चुनावी क्षेत्र रहेको महोत्तरीमा माओवादी केन्द्रले २६ हजार नौसय २९ मत ल्याएको थियो । तर एकजना पनि जिताउन सकेका थिएन । अहिले माओवादी केन्द्रमा रहेका गिरीराजमणि पोखरेल एक नम्बर क्षेत्रबाट जनमोर्चा पार्टीबाट जितेका थिए । दोस्रो संविधानसभा चुनावमा सो दलले ३४ हजार ६१० मत ल्याएको थियो, त्यसमध्ये एकजना पोखरेलले एक नम्बर क्षेत्रबाट जितेका हुन् । 

सर्लाही
 

छवटा चुनावी क्षेत्र रहेको सर्लाहीमा माओवादी केन्द्रले २३ हजार एकसय ९२ मत ल्याएको थियो । त्यसमा एकजना पनि जिताउन सकेका थिएन । दोस्रो संविधानसभा चुनावमा भने एक नम्बर क्षेत्रबाट एकजना मात्र जिताउन सफल भयो । त्यो चुनावमा सो दलले २६ हजार ९२ मत ल्याएको थियो ।

रौतहट
 

पहिलो संविधानसभा चुनावमा रौतहटको क्षेत्र नं. ३ बाट प्रभु साहलाई मात्र जिताउन सफल भयो । त्योबेला माओवादीले जम्मा ४८ हजार २३० मत ल्याएको थियो । दोस्रो संविधानसभा चुनावमा रौतहटबाट तीनजनालाई जिताउन सफल भयो । तर, पहिलो संविधानसभा चुनावभन्दा दोस्रोमा मत कम ल्याएको थियो । त्यसबेला ४५ हजार ८०१ मत मात्र ल्याएको थियो । 

बारा
 

पहिलो संविधानसभा चुनावमा बाराबाट माओवादीले दुई सिट ल्याएको थियो । त्यसबेला जम्मा ४७ हजार ५९६ मत ल्याएको थियो । तर, दोस्रो संविधानसभा चुनावमा एकजना पनि जिताउन सकेन । दोस्रो संविधानसभा चुनावमा २३ हजार ७१६ मत मात्र ल्यायो । 

पर्सा
 

पाँचवटा निर्वाचन क्षेत्र रहेको पर्सामा माओवादी केन्द्र दुईटै संविधानसभा चुनावमा शुन्य रह्यो । पहिलो संविधानसभा चुनावमा १७ हजार ७२७ मत ल्याएको थियो भने दोस्रो संविधानसभा चुनावमा १९ हजार १०२ मत ल्याएको थियो । त्यो जिल्लामा माओवादी छैठो–चौथो स्थानमा सिमित भएर बस्न बाध्य भयो । 

दुई नम्बर प्रदेशमा माओवादी केन्द्रको यस्तो अवस्था रहँदाको अवस्थामा असोज दुई गते हुने स्थानीय तहको चुनावमा पहिलो हुने दाबी माओवादीले गरेको छ । तर, उसको पोजिसन के हुने हो त्यो चुनावको परिणामले मात्र देखाउँछ ।         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप