‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र
नेत्र पन्थी/एसके यादव
जनकपुर । तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तराई मधेशका आठ जिल्लामा बुधवार मनोनयन भएको छ । तर, यहाँको चुनाव यति धेरै पेचिलो बनेको छ कि, प्रमुख तीन दल र मधेशवादी तीन दल गरी ६ दलका लागि दुई नम्बर प्रदेश भिडन्तको मैदान बनेको छ । बाढीपहिरोले थलिएको दुई नम्बर प्रदेश चुनावी भिडन्तको ‘इपिसेन्टर’ जस्तै बनेको छ ।
चुनाव जित्न सबैले आ–आफ्ना रणनीति तयार पारेका छन् र तराई मधेशका आठ जिल्लामा भेटिने काँग्रेस, एमाले, माओवादी, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका जो कोही नेता कार्यकर्ताको दावी छ, उनकै पार्टी दुई नम्बर प्र्रदेशको स्थानीय चुनावमा पहिलो बन्ने छ । यही पहिलो बन्ने दावीले तराई मधेशलाई भिडन्तको केन्द्र बनाएको हो ।
असोज २ गते दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यहाँबाट ६६२७ प्रतिनीधि निर्वाचित हुनेछन् । यहाँ मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् । चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । यीनै मतदाताले दलहरुको पहिलो बन्ने दाबीमा न्यायाधीशको काम गर्नेछन् । कति प्रतिशत मत खस्ने हुन्, यो चाहीँ अहिले नै भन्न सकिने अवस्था छैन ।
जिल्लागत रुपमा हेर्दा रेणु यादवको गृहजिल्ला सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन् । प्रचण्डको चुनावी क्षेत्र रहेको सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् । विमलेन्द्र निधि र रघुवीर महासेठको गृहजिल्ला धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । यसबाहेक शरदसिंह भण्डारी र गिरिराजमणि पोखरेलको गृहजिल्ला महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् । यता महन्ठ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवको गृहजिल्ला सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । माधवकुमार नेपाल र प्रभु साहको गृहजिल्ला रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदानस्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् । जितेन्द्र सोनलको गृहजिल्ला बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरजंग रहेको पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदानस्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् । हेवीवेट नेताको गृहजिल्लामा उनीहरुका लागि चुनाव प्रतिष्ठाको विषय बनेको छ । यहीँ कारण यी आठ जिल्लालाई उनीहरुले भिडन्तको केन्द्र बनाएका छन् ।
मधेस ग्राउण्ड जिरो
२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)
उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !
अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)
दुई नम्बर प्रदेशलाई प्रमुख दलहरुले कसरी भिडन्तको केन्द्र बनाएका छन् भन्ने बुझ्न उनीहरुले त्यहाँ परिचालन गरेको नेतृत्वलाई हेरेपनि थाहा हुन्छ । जस्तो कि काँग्रेसले पार्टी नेता तथा पूर्वगृहमन्त्री बिमलेन्द्र निधिलाई चुनावी कमान्डर बनाएको छ । निधिले जनकपुरलाई केन्द्र बनाएर चुनावी रणनीतिमा काम गर्दैछन् । अन्य ठाँउमा उनकै योजनामा नेताहरु परिचालन हुनेछन् ।
एमालले पार्टी अध्यक्ष केपी ओलीलाई दुई नम्बर प्रदेशको चुनावी कमान्डर बनाएको छ । ओलीले नेतृत्वमा एमालेको टिम परिचालन हुुँदैछ । एमालले जिल्ला जिल्लामा केन्द्रीय नेता परिचालन गरेको छ । ओली जनकपुरलाई केन्द्र बनाएर चुनावी रणनीति सफल बनाउन लाग्नेछन् ।
माओवादी केन्द्रले चुनावका लागि भन्दै आफ्नो हेडक्वार्टर मधेश झारेको छ । प्रचण्ड जनकपुर र सिरहालाई केन्द्र बनाएर चुनावी रणनीति सफल पार्ने योजनामा छन् । उनले भदौ १२ देखि १८ सम्म एक चरण दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा पुगेर प्रचार गरिसकेका छन् । फेरि मधेश झरेर स्थानीय तहमा जित निकाल्ने योजना अगाडि बढाउनेछन् ।
पर्सामा एमालले पृथ्वीसुब्बा गुरुङलाई र माअोवादीले दिनानाथ शर्मालाई, बारामा एमालले बिष्णु पौडेल र माओवादीले डिलाराम आचार्यलाई, रौतहटमा एमालले धनश्याम भुसाल र माओवादीले उर्मिला अर्याललाई, सर्लाहीमा एमालले गोकर्ण विष्ट र माओवादीले नारायणकाजी श्रेष्ठलाई फिल्ड कमान्डर तोकेका छन् । यसैगरि महोत्तरीमा एमालेले इश्वर पोखरेल र माओवादीले विश्वभक्त दुलाल, धनुषामा एमालले योगेश भट्टराई र माओवादीले रामबहादुर थापा, सिरहामा एमालेले प्रदीप ज्ञवाली र माओवादीले प्रचण्ड तथा सप्तरीमा एमाले भीम आचार्य र माओवादीले हरिबोल गजुरेललाई फिल्ड कमान्डर तोकेका छन् । शीर्ष नेताहरु आफै फिल्ड कमान्डर बनेर दुई नम्बर प्रदेशमा जसरी खटिएका छन्, यसले यहाँको पेचिलो चुनावी भिडन्तको प्रस्टै संकेत गरेको छ ।
चुनावमा एक सय भन्दा बढी सिटमा जित निकाल्ने काँग्रेसको दाउ छ । उसले मधेशको माग अनुसार संविधान संसोधन र सवैसँग तालमेलको नीति अगाडि सारेको छ । काँग्रेस स्थानीय तहमा पहिलो बनेको एमालेको शिरबाट ताज निकाल्न चाहन्छ ।
उता एमालले ५० प्रतिशत भन्दा बढी सिटमा जित निकाल्ने दाबी गरिरहेको छ । उसले मधेशको विकास र मिथिला भाषामा जोड दिएको छ । काँग्रेसबाहेक अरुपक्षसँग चुनावी तालमेलको नीति अगाडि सारेको छ ।
माओवादी केन्द्रले सबैभन्दा ठूलो पार्टी बन्न चुनावमा तालमेलमा खुला नीति राख्ने, र मधेशको मुद्दामा सबैभन्दा संवेदनशील आफू भएको बताउने गरेको छ । उसले अहिले तराई मधेशमा माओवादीप्रति देखिएको लहरलाई प्रदेश र केन्द्रको चुनावसम्म कायम राख्ने नीति पनि अगाडि सारेको छ । मधेशमा एमालेलाई साइजमा ल्याउन सबै विकल्पसहित चुनाव लड्ने पनि माओवादी तयारी छ ।
संघीय समाजवादी फोरम पनि चुनावमा दुई नम्बर प्रदेशमा ठूलो पार्टी बन्न चाहन्छ । उसले मधेश आन्दोलनको नेतृत्वकर्ता आफ्नै पार्टी भएको बताएको छ । चुनावी तालमेल पनि खुला राखेको छ । संविधान संशोधनको मुद्दालाई चुनावमा बेच्न चाहेको छ ।
राजपा नेपाल ६ वटा मधेशवादी दल मिलेर बनेको पार्टी हो । यहीँ आधारमा उसले दुई नम्बर प्रदेशमा एक नम्बरको पार्टी बन्ने दावी गरेको छ । संविधान संशोधन, मधेश आन्दोलनलगायतका मुद्दा बेचेर चुनाव लड्न चाहेको छ । मधेशवादी दलहरुसँग चुनावमा तालमेलको नीति अगाडि सारेको छ ।
यसबाहेक लोकतान्त्रिक फोरमको पनि एक नम्बर बन्ने दाबी कायमै छ । यो पार्टीले तालमेलको नीति खुला छ । चुनावमा यसले मधेशको मात्र नभएर राष्ट्रिय मुद्दामाथि जनताको ध्यान तान्न खोजेको छ ।
दलहरुका दुई नम्बर प्रदेशमा पहिलो बन्ने जे जस्ता दावी आएका छन्, त्यसका पछाडि प्रतिष्ठा पनि जोडिएको छ । जस्तो कि पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा २७६ सीट जितेर एमाले पहिलो पार्टी बनेको छ । स्थानीय चुनावमा दुई नम्बर प्रदेशमा पनि पहिलो बन्ने र ठूलो दलका रुपमा आफुलाई उभ्याउने एमालेको रणनीति छ । मधेशमा एमालेबिरोधी भावना बढेकोमा एमाले चिन्तित छ । यसलाई चिर्न एमाले चुनावी भिडन्तमा पुरै बलका साथ लागेको छ । चुनाव जित्न सक्ने व्यक्तिलाई उम्मेद्वार छनौटमा प्राथामिकतामा राखेको छ ।
पहिलो र दोस्रो चरणमा भएको ६ वटा प्रदेशको चुनावमा एमालेभन्दा ५० सिट कम जितेर काँग्रेस दोस्रो स्थानमा छ । काँग्रेस मधेशमा एमाले भन्दा ५० सिटको अग्रता लिएर आफुलाई पहिलो पार्टी बनाउने दाउमा छ । दोस्रो संविधानसभामा मधेशका आठ जिल्ला, हालको दुई नम्बर प्रदेशमा सवैभन्दा बढी सिट जितेर काँग्रेस पहिलो पार्टी बनेको थियो । काँग्रेसले २०७० दोहोराएर मधेशको भोट वैंकमा आफ्नो कब्जा रहेको सन्देश दिन चाहेको छ । यसका लागि काँग्रेस मधेशको चुनावी भिडन्तमा उत्रेको छ । साउन १९ गते शेरबहादुर देउवासहितका काँग्रेसका शीर्ष नेताहरु जनकपुर पुगेर भेला गरेका थिए, त्यहीँबाट काँग्रेसको चुनावी खेल शुरु भएको हो ।
पहिलो र दोस्रो चरणको चुनावमा ८५ तहमा जित निकालेको माओवादी केन्द्र तराई मधेशका आठ जिल्लामा ४० सिट जितेर एक सय २० को हाराहारीमा पुग्न चाहेको छ । प्रचण्डले मधेशमा जे जति बल लगाएका छन्, यो यसैका लागि हो । त्यसबाहेक उनको चुनावी क्षेत्र सिरहा पनि यही प्रदेशमा छ । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र रहेको प्रदेशबाट धेरै भन्दा धेरै सिट निकाल्ने दाउमा छन् । यसैले माओवादीले यो प्रदेशलाई प्रतिष्ठाको विषय बनाएको छ । जस्तो सुकै चुनावी भिडन्तका लागि आफुलाई तयार राखेको छ । पार्टी प्रवेशदेखि टिकट वितरणसम्ममा उदार नीति लिएको छ । बाबुराम भट्टराईले माओवादी छाडेपछि त्यसको असर मधेशमा देखिएको थियो । प्रचण्डले त्यो क्षति अहिलेको चुनावबाट भरण गर्न चाहेका छन् ।
मधेशवादी दलहरुका लागि दुई नम्बर प्रदेश प्रतिष्ठाको विषय बनेको छ । लामो समय मधेश आन्दोलन, संविधान संसोधनका लागि भएका कसरत र प्रमुख दलहरुको मधेश विरोधी छवि बेचेर मधेशवादी दल यहाँ आफुलाई ठूलो पार्टी बनाउन चाहन्छन् । राजपा नेपाल र संघीय समाजवादी फोरमका माग करिब–करिब उस्तै छन् । तर, उनीहरुवीच चुनावी तालमेलको सम्भावना छैन् । ६ वटा पार्टी मिलेर बनेकाले राजपालाई धेरैभन्दा धेरै सिटमा जित निकाल्नुपर्ने बाध्यता आईलागेको छ । अहिलेको चुनावमा प्रभावकारी जित हासिल नभए प्रदेश र केन्द्रको चुनावमा गाह्रो हुने मधेशवादी दलहरुलाई लागेको छ । यहीँकारण उनीहरुले दुई नम्बर प्रदेशको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । त्यति मात्र होइन, आफ्नो प्रभाव क्षेत्र यही प्रदेशमा रहेको र यहाँ जित निकाल्न नसके थप समस्या आउने उनीहरुले बुझेका छन् । चार पटक सरेर हुन थालेको चुनावमा सवै दलले आ आफ्नो सुविधामा एजेन्डा बेचिरहेका छन् । बिजयकुमार गच्छदार स्थानीय भन्दा केन्द्रीय सत्तामा जोड दिएका छन् । यसैले उनलाई यो चुनाव अरुलाई जस्तो प्रतिष्ठा बनेको छैन् ।
५९ सदस्यीय राष्ट्रियसभाका सदस्यहरुको चयन प्रदेश संसद र स्थानीय तका प्रमुख उपप्रमुखको मतदानबाट चयन हुन्छन् । यस्तो अवस्थामा केन्द्रीय संसदमा पनि आफ्नो संख्या बढाउन सवै दल दुई नम्बर प्रदेशमा आफ्नो पार्टीको धेरै सिट निकाल्न चाहन्छन् । राष्ट्रपति र उपराष्ट्रपति चयनमा पनि स्थानीय तहका प्रतिनीधिको भूमिका हुन्छ । यसकारण पनि दुई नम्बर प्रदेशमा सबैको चासो छ ।
तराई मधेश केन्द्रित दलबाट आफ्नो हातमा त्यहाँको राजनीतिक लिने दाउमा छन् तीन दल । यो पनि भिडन्तको कारण हो ।
चुनावी भिडन्तको केन्द्र बनेको तराई मधेशमा चुनाव हारजितको मुख्य फ्याक्टर जातीय समीकरण नै हो । संगठनात्मक क्षमता र व्यक्तिगतसम्बन्ध तराई मधेशको चुनावमा हारजितको फ्याक्टर बन्छ । परम्परागत भोट बैक नगुमाउने सवैको चाहना हुन्छ नै । धार्मिक समुदाय र दलित समुदाय पनि चुनावी नतिजामा प्रभाव पार्न सक्ने हैसियतमा छन् । मधेशका जिल्लामा भूगोल तथा उत्तर दक्षिण (राजमार्गबाट तलमाथि) को मनोविज्ञान पनि चुनावी समीकरण बनाउन र विर्गान भूमिका रहन्छ । जस्तै उदारणमा जनकपुरको उपमहानगरपालिकामा बजारमा साहु महाजनको बाहुलयता छ । यही भएर यहाँ प्रमुख दलहरुले साह थरका व्यक्तिलाई मेयरमा उठाएका छन् ।
चुनावी हार जितको फ्याक्टरमा जसले बाजी मार्छ, तराई मधेशमा त्यहीँ पार्टी पहिलो बन्नेछ । पहिचान, पहुँच र प्रगतिका लागि मधेशमा तीन पटक आन्दोलन भयो । त्यसको लाभ अहिलेको स्थानीय तहमा कसले पाउँछ, यो पनि रोचक नै हुनेछ ।
मधेस चुनावबारे यी समाचारहरु पनि पढ्नुहोस्
तराई–मधेशमा प्रचण्डको चुनावी रणनीति : सेल्फीदेखि राहतसम्म, एजेन्डादेखि ‘लभ’सम्म
एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित
२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित
मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति
मधेशबिरोधी ट्याग हटाएर एमाले बन्ला ‘नम्बर वान’ ? : यस्तो छ पोजिसन
मिसन २ नम्बर प्रदेश : मतदता आर्कषण गर्ने यस्ता छन् प्रमुख दलका चुनावी नारा
मधेशमा फोरमका तागत : ०६४ व्युताउँने ‘सपना’
यस्ता छन् प्रदेश नम्बर २ का एमाले उम्मेदवारहरु (सूचीसहित)
चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का
राजपाले २ नम्बर प्रदेशको सबै स्थानीय तहमा उम्मेदवार पाएन (सूचिसहित)
यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)
माओवादी हेडक्वाटरबाट आयो ३१ स्थानीय तहको उम्मेदवारको नामावली (हेर्नुहोस् सूचि)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत