शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

बुधबार, २१ भदौ २०७४, २० : ५२
बुधबार, २१ भदौ २०७४

जनकपुरधाम (धनुषा) – जनतामाथि भर छैन, जानकीमात्र भर छ, जानकी माताले चाहे मात्र हामी जित्छौ, यो भनाई एकजना उम्मेदवारको हो, जो माला लगाएर उम्मेदवारी दिनका लागि धनुषा जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएकी थिइन् । 

जनकपुर उपमहानगरपालिका वडा नं. २२ कि कौशिला दास (६० वर्षीय) ले भनिन्, ‘चुनावमा मतदाताको भर हुँदैन । खान्छन् एकातिर, भोट हाल्छन् अर्कोतिर । त्यसैले मलाई जानकीमाताप्रति विश्वास छ ।’ उनी मात्र होइन, यस्ता थुप्रै उम्मेदवारलाई हामीले भेट्यौं, जसले चुनाव जित्ने विश्वास व्यक्त त गरे तर भगवान भरोसे ।
मधेशको चुनावी राजनीतिक भरपर्दो छैन, भनि विश्लेषण हुने गरेको कुरालाई यसले पुष्टि गर्छन् । मधेशमा रातारात भोट यताको उता हुन्छ, एउटाले एकाखालको आँकडा निकालेर बसेका हुन्छन् तर विहान हुँदा त्यसमा परिवर्तन भइसकेका हुन्छन् । 

मतदाता भन्दा भगवानमा बढी विश्वास गरेको दृश्य जानकी मन्दिरमा पनि देख्न सकिन्थ्यो । प्रायः उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्न जानुभन्दा पहिले जनकपुरको जानकी मन्दिरमा गएर माला लगाएर आशिर्वाद लिइ निर्वाचन कार्यालय पुगेका थिए । काँग्रेस पार्टीबाट उम्मेदवार बनेकी श्रीदेवी दास २४ नम्बर वडाका दलित उम्मेदवार हुन् । उनी पनि माँ भगवतीको कृपाले जित्ने सुनाइन् ।

चुनाव जितेपछि आफ्नो वडामा के के गर्नुहुन्छ भनि जिज्ञासामा शुरुमा त उनले भनिन्– पार्टीले यो कुराको जानकारी दिएको छैन । अर्को एक जनाले सिकाएपछि बल्ल भनिन्– समाजको विकास । आफ्नो जाती समुदाय तथा समाजका लागि विकास गर्ने दावी गर्दै उनी भन्छिन्,–मलाई मेरो वडामा सपोर्ट छ म जित्छु । 
२० वर्षपहिला पनि वडामा जितेकी ४० वर्षीया पुनम सहनीले भनिन्, ‘आफ्नो समुदायका लागि आफै नलडेसम्म, आफै विकास नगरेसम्म नहुँदो रहेछ, त्यसैकारणले आफूले उम्मेदारी दिएको हुँ ।’ चुनाव जितिन्छ त भनि जिज्ञासामा उनले भनिन्, हेरौ उपरवाला (भगवान) को दया कस्तो हुन्छ, सबैले मत दिन्छु भनेका छन्, म जित्छु जस्तो लाग्छ ।’

६० वर्षीया कौशिला दासलाई पनि आफू जित्नेमा मतदाताप्रति विश्वास छैन, उनलाई त कुन पार्टीबाट उम्मेदवार बनेको कुरा पनि थाहा छैन । अरुकसैलाई संकेत गरेर सोधिन्, र भनिन्, ‘फोरम नेपाल’ । २२ नम्बर वडाकी सदस्य पदमा उम्मेदवार बनेकी उनले आफ्ना वडाका थुप्रै महिलालाई आफ्नो साथमा ल्याएकी थिइन् र उनलाई देखाउँदै भनिन्– यिनीहरु मेरा मतदाता हुन् ।’

अधिकांशलाई उम्मेदवारलाई पार्टीको नाम नै थाहा थिएन, भने कतिपयलाई आफ्नो वडा पनि थाह थिएन । उनीहरुको एउटै आशा र भरोस माँ जानकी थियो । 
महिलाहरुमा यस्तो समस्या देखिए पनि पुरुष उम्मेदवारहरु अलि टाठाबाठा देखिन्थे । उनीहरुले आफू मात्र नभई, पुरै प्यानल जित्ने दावी गरे । उम्मेदवारी दर्ता गराउन आएका उनीहरु जित्नका लागि सबैले एउटै एजेण्डा बनाएका छन् – नाला, सडक निर्माण गर्ने । 

वडा नं. १९ का अध्यक्ष पदमा एमालेका तर्फबाट उम्मेदवारी दिएका विनोदकुमार साहले गरीब दलितको उत्थानका लागि आफूले उम्मेदवारी दिएको बताए । 
उम्मेदवारी दर्ता गराउने पाँच वजेसम्म समय रहेपनि निर्वाचन कार्यालयको व्यवस्थापकीय कमजोरीका कारण उम्मेदवारी ढिल्लोसम्म भएको थियो ।  
धनुषामा तीनलाख ९ हजार तीनसय ९१ मतदाता रहेका छन् । १८ तहमा हुने चुनावमा ११ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका रहेका छन भने १६९ वडांसंख्या रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप