शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशको भोट बैंकमा काँग्रेसका लागि राजपा चुनौति

शुक्रबार, १६ भदौ २०७४, १७ : १२
शुक्रबार, १६ भदौ २०७४

काठमाडौँ । दुई चरणमा सम्पन्न स्थानीय तहको चुनावको क्षतिपूर्ति तेस्रो चरणको चुनावमा लिने भनि उद्घोष गरी दोस्रो चरणको चुनावमा होमिएको नेपाली काँग्रेसका लागि राष्ट्रिय जनता पार्टी नेपाल चुनौति बनेको छ । 

पहिलो संविधानसभामा तेस्रो र दोस्रो संविधानसभामा पहिलो पार्टी बनेका नेपाली काँग्रेस दुई चरणमा सम्पन्न स्थानीय तहको चुनावमा दोस्रो स्थान हासिल गरेको छ । र, दोस्रोबाट पहिलो हुन दुई नम्बर प्रदेशमा काँग्रेस नेताहरु मधेशमा सक्रिय भएका छन् । 

दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारको समेत टुङ्गो लगाइसकेको छ र त्यसलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्ने तयारी भइरहेको छ । साउन ५ गते राजधानीमा भएको दुई नम्बर प्रदेशको भेलामा सभापति देउवाले मधेशमा एक सय सीट जितेमात्र स्थानीय तहका लागि देशमा पहिलो पार्टी बन्ने धारणा राखेका थिए । दुई नम्बर प्रदेशमा १३६ वटा तहमा चुनाव हुन लागेको छ ।  

काँग्रेसलाई राजपा नेपालको चुनौति

काँग्रेसको आधारभूमि क्षेत्र मधेशको रहेको कुरा पटक–पटक भएको चुनावले पुष्टि गरेको छ । मधेशको मतले नै गर्दा काँग्रेसलाई ठूलो र सानो पार्टी बनाउने गरेको छ । त्यसैले नेपाली काँग्रेसका नेताहरु मधेश जाँदा ‘लोकतन्त्र, मधेश र काँग्रेस’ एक अर्काको परिपूरक रहेको धारणा राख्छन् । 

जब–जब मधेशले काँग्रेसलाई पत्याउँछन्, पार्टी संसदमा सबैभन्दा ठूलो पार्टी बन्छ, मधेस रिसाए काँग्रेसको स्थान खस्किने गरेको छ । त्यसका लागि धेरै टाढा जानै पर्दैन । लोकतान्त्रिक संविधान निर्माणका लागि दुई पटक भएको संविधानसभाको चुनावको तथ्यांकलाई केलाउँदा प्रष्ट हुन्छ । 

२०६४ मा भएको संविधानसभा चुनावमा नेपाली काँग्रेस तेस्रो दलको रुपमा आउनुको कारण मधेश आन्दोनल थियो । त्यतिबेला पहिलो मधेश आन्दोलनको रापताप मधेशमा थियो । नेपाली काँग्रेसको सरकार हुँदा भएको आन्दोलनका कारण मधेशी जनता सोही दलप्रति बढी आक्रोशित थियो । र, त्यो आक्रोश मतदानमा देखाइदिए । 

तर, दोस्रो संविधानसभा चुनावको बेला मधेशमा आन्दोलन थिएन । आन्दोलन गरेर जन्मेका मधेशी दलहरु सत्तामा रमाइरहेका थिए । त्यही भएर मधेशी जनताको आक्रोश ठूला दलभन्दा मधेशवादी दलमाथि नै देखियो । त्यो चुनावमा नेपाली काँग्रेस सबभन्दा ठूलो पार्टी बनेर आयो,  मधेशी दलहरु साँघुरिए ।

यसपाली पनि काँग्रेसका लागि त्यही अवस्था सृजना भएको छ । दुई नम्बर प्रदेश अर्थात मधेशमा नेपाली काँग्रेस, राजपा नेपाल र फोरम नेपालबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेसकै मत राजपा नेपाल र फोरम नेपालको मत हो र राजपा नेपाल र फोरमकै मत काँग्रेसको हो । त्यो मतलाई जसले आफ्नोतर्फ तान्न सक्छ त्यो ठूलो पार्टीको रुपमा आउनेछ । 

यो पनि पढ्नुहोस्​

एक नम्बर बन्न मधेसमा प्रचण्डको दौडधुप : यस्तो छ माओवादीको अंक गणित

२ नम्बरमा १ नम्बर बन्ने राजपाको दाबी, यस्तो छ अंकगणित

चुनावमा राजपा नेपालबाट जति खतरा काँग्रेसलाई छ त्यति खतरा एमाले र माओवादी केन्द्रको छैन । किनभने यी दुई दलको संगठन र मतदाता राजमार्ग छेउछाउमा रहेका छन् । जहाँ मधेशवादी दलको संगठन छैन । नेपाली काँग्रेसको बलियो उपस्थिति राजमार्गभन्दा तल नै देखिएको छ । यी दुई दलको प्रतिस्पर्धाले माओवादी र एमालेलाई नै फाइदा हुने देखिएको टिप्पणी पनि मधेशतिर भइरहेको पाइन्छ ।  

मधेशमा काँग्रेसको उपस्थिति
 

काँग्रेसले दुई नम्बर प्रदेशमा दोस्रो संविधानसभामा सप्तरीबाट दुई, सिरहा ४, धुनषा ५, महोत्तरी दुई, सर्लाही दुई, रौतहट एक, बारा तीन र पर्साबाट दुई गरि २१ सीट जितेको छ । जब कि सो दलले देशैभरि ९९ वटा सिट जितेको छ । मधेशका आठवटा जिल्लाबाट २१ र अन्य ६७ जिल्लाबाट ७८ सीट जितेकोबाट नै काँग्रेसको उपस्थिति प्रष्ट हुन्छ । 

त्यहाँका आठ जिल्लामा १८ लाख ४९ हजार चारसय १९ मत खसेको माध्येबाट काँग्रेसले तीनलाख ८९ हजार १७५ मत ल्याएको थियो । 

पहिलो संविधानसभा दुई नम्बर प्रदेशको आठवटा जिल्लामा काँग्रेसको स्थिति चौपट नै थियो । जम्मजम्मी नौ सीट मात्र हात पारेको थियो । जम्मा १९ लाख ८० हजार सात मत खसेकोमा काँग्रेसले चारलाख १४ हजार तीनसय ५१ मत ल्याएको थियो । यतिको मत फरक हुनुको कारण पहिलो संविधानसभा चुनावमा ५४ वटा दलले मात्र भाग लिएका थिए भने दोस्रो संविधानसभा चुनावमा स्वतन्त्रसहित एकसय एकाइस दलले भाग लिएका थिए । 

सप्तरी
छवटा चुनावी क्षेत्र रहेको सप्तरीबाट नेपाली काँग्रेसले दोस्रो संविधानसभामा दुईजना सांसद जिताएको थियो । पहिलो संविधानसभा चुनावमा एकजना पनि जिताउन सकेको थिएन । सप्तरीको पाँच नम्बर र छ नम्बर क्षेत्रबाट काँग्रेसले सिट जितेको जुन क्षेत्र राजमार्गसँग छोएको भएपनि अधिकांश भाग दक्षिणबेल्ट अर्थात कोरमधेशमै पर्छ । 

काँग्रेसले सप्तरीमा तीसहजार मत मात्र ल्याएको थियो जब कि दुईलाख १३ हजार २४ मत खसेको थियो । त्यहाँ तीनटा क्षेत्र माओवादीले जितेको थियो भने एउटा एमालेले जितेको थियो । 

सिरहा
छवटा चुनावी क्षेत्र रहेको सिरहामा काँग्रेसको उपस्थिति राम्रो छ । त्यहाँबाट काँग्रेसले चार सिट जितएको छ । एक, तीन, चार र छ नम्बर क्षेत्रबाट काँग्रेस विजयी भएको छ, यी राजमार्गभन्दा तलकै बेल्ट हुन् । तीन नम्बर क्षेत्रले राजमार्गलाई छाएको छैन भने एक, चार र छ नम्बरले थोरै मात्र छोएको छ । अरु एउटामा माओवादी र अर्कोमा एमाले जितेको छ । 

सिरहाबाट काँग्रेसले प्रत्यक्षमा ४७ हजार छ सय चार मत काँग्रेसले पाएको थियो । जहाँ दुईलाख ३३ हजार नौ मत खसेको थियो ।  समानुपातिकमा ४२ हजार पाँचसय ५८ मत पाएको थियो । 

धनुषा
सिरहाभन्दा राम्रो धनुषामा काँग्रेसको पकड रहेको छ । सातवटा चुनावी क्षेत्रमध्ये पाँचवटा काँग्रेसले नै जितेको छ । एउटामा राजपा नेपाल र अर्कोमा एमालेले जितेको छ । दुई लाख ६३ हजार तीनसय ४२ मत खसेको धनुषामा काँग्रेसले ७२ हजार ५८४ मत ल्याएको थियो भने समानुपातिकमा ६१ हजार ६२० मत ल्याएको थियो । र, काँग्रेसले जितेको पाँचवटै क्षेत्र कोर मधेशमा रहेको छ अर्थात । एमालेले क्षेत्र नम्बर सात जितेको छ त्यो राजमार्ग वरिपरिका क्षेत्र हो ।

महोत्तरी
महोत्तरीमा काँग्रेस कमजोर देखिएको छ । छवटा चुनावी क्षेत्र रहेको महोत्तरीबाट दुईटा सांसद मात्र विजयी भएका थिए । दुई नम्बरबाट किरण यादव र छ नम्बरबाट सीताराम भण्डारी जितेका छन् । दुईटा क्षेत्र एमालेले जितेको छ भने एउटा माओवादी र अर्को स्वतन्त्रले जितेको छ । स्वतन्त्र सांसद चन्देश्वर झा पनि राजपा नेपालमा प्रवेश गरेका छन् ।

काँग्रेसले महोत्तरीबाट ३९ हजार एकसय ३२ मत पाएको थियो जब कि त्यहाँ दुई लाख ४६ हजार ८१ मत खसेको थियो । 

सर्लाही
सर्लाहीमा पनि काँग्रेसको हलत उस्तै रह्यो । राजपा नेपालको बाहुल्य क्षेत्र रहेको सर्लाहीबाट काँग्रेसले दुईजना मात्र सासंद जिताउन सक्यो । दुई नम्बरबाट रामचन्द्र चौधरी र छ नम्बरबाट अमरेशकुमार सिंह जितेका छन् । एउटामा माओवादी, एउटामा एमाले र दुईटामा राजपा नेपाल विजयी भएको छ । 

महोत्तरीबाट काँग्रेसले ३९ हजार पाँचसय ३१ मत पाएको छ । जब कि त्यहाँ दुई लाख ६१ हजार ८९१ मत खसेको थियो । समानुपातिकमा काँग्रेसले ३४ हजार तीन सय १७ मत पाएको छ ।

रौतहट
काँग्रेसका लागि रौतहट झनै कमजोर रह्यो । छवटा चुनावी क्षेत्रमध्ये एउटा मात्र जित्न सक्यो । पाँच नम्बर क्षेत्रबाट सो दलका सुनिलकुमार यादव जितेका हुन् । अरु बाँकी ठाउँमा एमाले दुई, माओवादी दुई र फोरम लोकतान्त्रिक एक सीट विजयी भएका छन् । एक नम्बर क्षेत्रमा त काँग्रेस आठौँ स्थानमा थन्किएको थियो जहाँ एमालेका नेता माधवकुमार नेपाल जितेका छन् । दुई नम्बर क्षेत्रमा फोरम लोकतान्त्रिकसँग प्रतिस्पर्धा थियो भने छ नम्बर प्रदेशमा एमालेसँग प्रतिस्पर्धा थियो । 
काँग्रेसले रौतहटबाट दोस्रो संविधानसभा चुनावमा ४८ हजार आठसय एक मत प्राप्त गरेको थियो । जब कि त्यहाँ दुई लाख ३४ हजार नौसय ३५ मत खसेको थियो ।    
बारा
बारामा काँग्रेसको राम्रो उपस्थिति छ । छवटा चुनावी क्षेत्र रहेको त्यहाँ एक, दुई र तीन नम्बर काँग्रेसले हात पारेको छ भने अरु बाँकी एमालेले हात पारेको छ । हारेको क्षेत्रमा पनि एमालेसँग नै प्रतिस्पर्धा रहेको देखिन्छ । मधेशवादी दल त्यहाँ कसैको प्रतिस्पर्धामा पनि देखिएनन् । 

काँग्रेसले बाराबाट ५७ हजार नौसय ६ मत प्राप्त गरेको छ, जबकि त्यहाँ दुई लाख ८५ हजार छ मत खसेको थियो । 

पर्सा
पाँचवटा निर्वाचन क्षेत्र रहेको पर्सामा काँग्रेसले दुईटा क्षेत्र जितेको छ । अरु तीन ठाउँमा एमालेले नै जितेको छ । मधेशवादी दल कतै प्रतिस्पर्धामा देखिएका छैनन् ।
एक नम्बर क्षेत्रबाट काँग्रेसका राजेन्द्र आमात्य जितेका छन् उनले १२ हजार चारसय ६३ मत ल्याएका थिए । त्यस्तै छ नम्बरबाट सुरेन्द्र चौधरी जितेका छन् उनले पनि १२ हजार नौसय ६३ मत ल्याएका थिए । काँग्रेसले सो जिल्लामा खसेको एकलाख ७० हजार तीनसय ३१ मध्ये ५३ हजार पाँचसय २३ मत प्राप्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप