शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : लुम्बिनीमा नयाँ सरकार गठन, एमालेमा एकता सम्भव नरहेको वामदेवको निष्कर्ष

बिहीबार, २८ साउन २०७८, २१ : ३३
बिहीबार, २८ साउन २०७८

आज २०७८ साउन २८ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारहरुमा लुम्बिनी प्रदेशमा कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन, महाधिवेशनबारे छलफल गर्दै काँग्रेस, एमालेमा एकता सम्भव नरहेको वामदेवको निष्कर्ष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा, श्वेतपत्रमा कुनै आग्रह वा पूर्वाग्रह नरहेको अर्थमन्त्रीको दाबी, बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याइने लगायत छन् ।

१. कुलप्रसाद केसीको नेतृत्वमा लुम्बिनीमा नयाँ सरकार
लुम्बिनी प्रदेशमा कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले तोकेको समयसीमा भित्र ४२ सांसदको समर्थनसहितको पत्र बुझाएका उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । बिहीबार नै उनले पद तथा गोपनीयताको सपथ लिएका छन् भने उनको नेतृत्वमा सात सदस्यीय मन्त्रिपरिषद गठन भएको छ, जसमा माओवादीबाट उनीसहित दुई जना छन् भने काँग्रेसबाट एक, जसपाबाट तीन र स्वतन्त्र एक गरी सातजना सहभागी छन् । तत्काल तीन मन्त्रीलाई भने विभागीय जिम्मेवारी दिइएको छैन ।

​२. महाधिवेशनबारे निर्णय लिन काँग्रेसको बैठक
नेपाली काँग्रेसले १४ औं महाधिवेशनबारेको अन्योल सम्बन्धमा निर्णय लिनका लागि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल थालेको छ । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेस गरेका छन् भने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका प्रस्तुत गरेका छन् ।

 

 

 

 

 

 

३. एमालेमा तत्काल एकता सम्भव नरहेको वामदेवको निष्कर्ष
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल एमालेमा एकता सम्भव नरहेको निष्कर्ष निकालेका छन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधवकुमार नेपालमाथि लगाएका आरोप फिर्ता लिनुपर्ने र त्यसका लागि ओली तयार नभएका कारण पार्टी एकताको सम्भावना टाढिएको उनले बताए ।

 

४. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार छापा पारेको छ । भवन निर्माण तथा सामान खरिदका सम्बन्धमा अनियमितता भएको भन्दै अख्तियारको टंगालस्थित कार्यालय र इटहरीस्थित कार्यालयमा आएको उजुरीका आधारमा छापा मारेको जनाइएको छ ।

 

५. बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी
सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको खोप ल्याउने तयारी भइरहेको जनाएका हुन् । उनले कोरोनाविरुद्धको खोपलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै असोजसम्म एक करोड ८ लाख खोप नेपाल आइपुग्ने निश्चित भएको पनि बताए ।

 


६. सांसदको कटाक्ष– अघिल्लो सरकारले ‘हनुमान’ मात्र देख्ने, अहिलेको सरकारले ‘कुलमान’ मात्र
प्रतिनिधिसभामा सांसदले कुलमान बुढो भएपछि के गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । अघिल्लो सरकारले विभिन्न नियुक्तिका लागि ‘हनुमान’ मात्र योग्य देख्ने, अहिलेको सरकारले ‘कुलमान’ मात्र योग्न देखेको भन्दै सांसद गजेन्द्रबहादुर महतले चर्चा गरे । काँग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताका रुपमा केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई गरेको सम्बोधनमा कुण्ठा, अहंकार रहे पनि उनले उठाएका प्रश्नहरूलाई हलुका रुपमा नलिइ सरकारले कामबाटै जवाफ दिनुपर्ने बताए ।

बैठकमा नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्य नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको र भ्रष्टाचार हुने कसुरसमेत गरेको भन्दै उनलाई कारवाही गर्न माग गरेका छन् । एमाले सांसद खगराज अधिकारीले भने अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै संसद चल्न नदिने चेतावनीसमेत दिएका छन् । सांसद आशाकुमारी विकले भने स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छन् ।

 


७. प्रहरीको ‘प्रि–स्याट’ परीक्षा रद्द, हवल्दार र जवान निलम्बित
शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्रि–स्याट’ रद्द गरिएको छ । साउन १५ र १६ गते चार सेटको प्रश्नपत्रको आधारमा लिइएको परीक्षा रद्द गरिएको हो । प्रश्नपत्र लिकपछि परीक्षा रद्द गरिएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए । प्रश्नपत्र लिक प्रकरणमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा एक हवल्दार र एक कार्यलय सहयोगीलाई निलम्बन गरिएको छ ।

 


८. श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह नरहेको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाबारे जारी श्वेतपत्रमा कुनै आग्रह वा पूर्वाग्रह नरहेको दाबी गरेका छन् । राष्ट्रियसभाको बैठकमा उनले सांसदका प्रश्नहरुको जवाफ दिँदै श्वेतपत्रमा कुनै प्रकारको आग्रह, पूर्वाग्रह वा तथ्यांकमा फरक रहे आफू कठघरामा उभिन तयार रहेको बताए । तर पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्रलाई ‘तथ्यहीन आरोपपत्र’ भनेका छन् ।

 

९. उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भन्दै कर्णेलसँग एक लाख माग
आफूलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृतका रुपमा चिनाउने डोटी जिल्लाको केआईसिंह गाउँपालिका–६ निवासी केशवराज भट्टराई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले सेनाका एक कर्णेलसँग एक लाख रुपैयाँ मागेपछि उनको ठगी धन्दा प्रकाशमा आएको हो । उनले आफूलाई उपराष्ट्रपति कार्यालयकै शाखा अधिकृत भन्दै एक युवतीसँग लिभिङ टुगेदरमा बसेको तथ्य पनि प्रहरीले फेला पारेको छ ।

 

१०. कोरोना भाइरसबाट थप तीन हजार २६० जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार २६० जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

 

११. र यो पनि,
जनता समाजवादी पार्टीले भदौको पहिलो साता अघि पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो नलगाउने भएको छ । भदौ १ र २ गते बस्ने केन्द्रीय समिति बैठकले मन्त्रीहरुको नाम टुङ्ग्याउने बताइएको छ ।


सरकारले साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान कायम गरेको छ । शिक्षकहरुलाई विभिन्न तहमा वर्गीकरण गरी नयाँ तलब निर्धारण गरिएको हो ।

जुम्लामा स्थानीयवासीलाई आक्रमण गर्ने एउटा भालुलाई गोली हानेर मारिएको छ । बजार क्षेत्रमा प्रवेश गरेको उक्त भालुलाई जंगलतिर लखेट्न सुरक्षाकर्मीहरु परिचालन गरिए पनि सुरक्षाकर्मीलाई समेत आक्रमण गर्न थालेपछि गोली हानेर मारिएको हो ।


डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप