शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गगनको ओलीलाई प्रश्न : आफ्नै उपचार गर्न सरकारको ढुकुटीमा हात फैलाउनुपर्नेले घाइते योद्धाहरूको कसरी उपचार गराउलान् ?

'दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्नेले भ्रष्टाचारबारे प्रश्न गर्ने ?'
बिहीबार, २८ साउन २०७८, १९ : २३
बिहीबार, २८ साउन २०७८

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा भए पनि प्रश्न  प्रश्न नै भएको भन्दै एक–एक उत्तर दिन सरकारलाई आग्रह गर्नुभएको हो । साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहङ्कार, क्रोध, ईष्या, रिस र कुण्ठा भए पनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने “प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहङ्कार थियो, क्रोध थियो । ईष्या थियो । रिस थियो । कुण्ठा थियो । तर पनि म भन्न चाहन्छु । प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुँदैन । प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ । ”

२०७६ साल वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले नियमापत्ति गरेका थिए । प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो ।

बिहीबारको बैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाव दिए । उहाँले विशेष समय र शून्य समयमा उठेका विषयलाई गम्भीर रूपमा लिन र ती विषयलाई सम्बोधन गर्ने सङ्कल्प गर्न सरकारलाई सुझाव दिए । पूर्व प्रधानमन्त्रीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै उनले गफले नभई सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराए । सांसद थापाले नेपाली भूमि फिर्ता र एमसीसीबारे प्रश्न गर्ने प्रतिपक्षी दलको नेता ओलीलाई आफ्नो कार्यकालमा के गरे भनी प्रश्न गरे ।

उनले भने, “मलाई विश्वास गरेर नागरिकले प्रधानमन्त्रीत्व दिएको भन्दै गर्दा मैले मनमनै आफैलाई भनिरहेको थिएँ कठैबरा राजनीतिक प्रणालीको बारेमा थाहै रहेनछ । यो प्रधानमन्त्रीय प्रणाली होइन । यहाँ सांसद जनताले चुनेर माननीय बनाउँछन् । माननीयले मन लाग्नेलाई सम्माननीय बनाउँछन् । यहाँ राख्छन् । मन नलाग्नेलाई उता पठाउँछन् । कहिले उता कहिले यता । जब उहाँले बोल्दै गर्दा भन्नुभयो भूमि फिर्ता कहिले आउँछ ? जेष्ठ ३१ गते ७७ सालमा सिङ्गो संसद् उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा, १ वर्ष, २ वर्ष , एकपक्षीय , बहुपक्षीय अनेकन् वार्ता भएछ । एकपटक चुइँक्क भूमिका बारेमा बोल्नुभएन । १ सय ६५ जना सांसद छ ।  अब एमसीसी के गर्छौ भनिरहँदै गर्दा , यसो सम्झेको उहाँसँग त कति रहेछ ? २ सय ८ हुदै गर्दा के गर्नुभएको रहेछ ?”

पञ्चायतपछि सत्तापक्षकै दलले सडकमा प्रदर्शन गरेको उल्लेख गर्दै सांसद थापाले विपक्षी दलसँग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधान विपरीत संवैधानिक परिषद्बाट प्रतिपक्षलाई निकाल्ने काम गरेको भनी व्यङ्ग्य गरे ।

उनले भने “सबै भन्दा छक्क परेको कतिखेर भने । जतिखेर उहाँ यहाँ उभिएर भ्रष्टाचारको कुरा गर्नुभयो । म त झुक्किएँ । यसो हेरेको उहाँ त माननीय होइन, जतिखेर सम्माननीय हुनुहुन्थ्यो, दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने, काण्ड गर्नेलाई जोगाउने, अनि काण्डको छानबिन गर्नको लागि बनाएको, संविधानले बनाएको निकायलाई पङ्गु बनाउने । विधेयकको कुरा गर्नुभयो । बनाउनुपर्ने कानुन नबनाउने, नबनाउनुपर्ने एकपछि अर्को बनाउने । बनाएर संसद्तिर आयो भने पनि बाटोमै छेकिदिने । अहिले बडो विधेयकको चिन्ता गर्नुभयो । पञ्चायत पछि पहिलो पटक सरकारमा बस्नेले शक्ति प्रदर्शन गर्‍यो सडकमा । उहाँ यहाँ उभिएर भन्नुहुन्छ , राज्य सञ्चालन गर्दा अपनाउन पर्ने सबै खालको संयमता र अनुशासनप्रति म सजग थिएँ । प्रतिपक्षसँग संवाद र सहमतिको सम्पूर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संवैधानिक परिषद्बाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले सम्झेँ । गठबन्धनको संस्कृति भित्रियो । कत्रो चिन्ता भएको ? जताततै गठबन्धन मेरै अहङ्कारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला ?”

उनले आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका नेता ओलीले घाइते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्ति प्रति पनि व्यङ्ग्य गरे । उनले भने “ए घाइते योद्धाहरू सरकारले तिमीहरूको उपचार गरेन भने मेरो पार्टी कार्यालय आउँ भन्दै गर्दा कठैबरा, आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउलान् ? ”

सांसद थापाले द्रुत गतिमा मन्त्री परिषद्लाई पूर्णता दिई नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गरि कोभिड महामारी फैलिन नदिने तर्फका तयारी व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । महामारीले देखिने गरि स्वास्थ्य क्षेत्र थला परेको र गैह्र स्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको भन्दै उहाँले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप