शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकाका लागि फाइजर र मोर्डना खोप ल्याउँदैछौँ : स्वास्थ्य राज्यमन्त्री  श्रेष्ठ

बिहीबार, २८ साउन २०७८, १५ : १४
बिहीबार, २८ साउन २०७८

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए । 

हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप प्राप्त भएको र  ३ करोड ३६ लाख खोपको मात्रा आउने प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताए । उनले आगामी असोजसम्म १ करोड ८ लाख थप खोप आइपुग्ने जानकारी गराए । माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने बताउँदै माघसम्म कुल ५ करोड २३ लाख खोप पुग्ने बताए । 

हालसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन भने २८ लाख ८८ हजार ३ सय ६९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । भेरोसेल खोप ९ लाख मात्रा, अस्ट्राजेनिका ११ लाख ५० हजार मात्रा र जोन्सन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप स्थानीय तहमा भण्डारमा रहेको बताए । 

यस्तै केन्द्रीय भण्डारमा अस्ट्राजेनिका १ लाख ६१ हजार मात्रा र जोन्सन १२ हजार मात्रा गरी कुल १ लाख ७३ हजार मात्रा रहेको जानकारी गराए ।  हालसम्म नेपालमा पिसिआर र एन्टिजेन बिधिबाट कुल ७ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जसमा ६ लाख ७५ हजार कोरोना संक्रमणबाट निको भएको र निको हुने दर ९३ प्रतिशत रहेको जानकारी दिए । ९६ वटा प्रयोगशालाबाट पिसिआर बिधिबाट परीक्षण गरिने र ६८ वटा सरकारी प्रयोगशालाबाट निःशुल्क कोरोना परीक्षण गरिने गरेको उनले बताए । कोरोनाबाट १० हजार १ सय ८० जनाले ज्यान गुमाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप