शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इतर पक्ष महाधिवेशन भाँड्न लागेको काँग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूको निष्कर्ष

बिहीबार, २८ साउन २०७८, १३ : २०
बिहीबार, २८ साउन २०७८

नेपाली काँग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूले इतर पक्ष महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । बिहीबार बिहान ललितपुरको एक होटलमा बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय जिल्ला सभापतिको बैठकप्रति आपत्ति जनाउँदै यस्तो निष्कर्ष निकालेको हो । 

सोमबार र मंगलबार काठमाडौंमा इतर पक्षीय जिल्ला सभापतिहरूले भेला गरेका थिए । त्यसको काउन्टरमा काठमाडौंमा उपस्थिति संस्थापन पक्षीय २६ जना जिल्ला सभापतिको बैठक बसेको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले रातोपाटीलाई बताए ।

उनले भने, 'जिल्ला सभापतिका नाममा बोलाएको भेलाप्रति हाम्रो घोर आपत्ति छ । कुन प्रयोजनमा लागि भेला गर्नुभएको हो त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारे छलफल भयो । अनाधिकृत भेलामा गएर सम्बोधन गर्ने वरिष्ठ नेता लगायत सबैप्रति हाम्रो गम्भीर खेद पनि छ । एकतातिर अधिवेशन भएन भन्ने र अर्कातिर गुटको भेला बोलाएर अधिवेशन भाँड्ने षड्यन्त्र छ ।'

जिल्लामा महाधिवेशनको वातावरण तयार गर्नुपर्ने सभापतिहरू काठमाडौंमा आएर रमिता देखाइराखेको थापाको आरोप छ ।

उनले भने, 'नयाँ र समायोजन सम्बन्धी क्रियाशील सदस्यता उल्टाउन अधिवेशन भाँड्ने उद्देश्यले साथीहरुले सभापतिको भेला गर्नुभयो । काँग्रेसको महाधिवेशन सभापतिले मात्र चाहेर हुँदैन । महाधिवेशन भाँड्न जो-जो  जहाँ-जहाँ जसरी लागेका छन् । त्यसको विरुद्धमा हामी साथीहरु बसेर गम्भीर छलफल गरेका छौं,' थापाले भने ।

बैठकमा तयार पारिएको ज्ञापनपत्र केन्द्रीय नेताहरुलाई बुझाउने उनले बताए । थापाले भने, 'हामीले ज्ञापनपत्र तयार गरेका छौं । केन्द्रीय कमिटीमा त्यो ज्ञापनपत्र बुझाएर अधिवेशन गर्ने वातावरण बनाउन सबैमा अनुरोध गर्छौं । आजको केन्द्रीय समितिले महाधिवेशनको सुनिश्चितताको निर्णय र पार्टीमा अधिवेशनको माहोल तयार गरोस् भन्ने हाम्रो भनाइ छ ।'

विधान विपरीत गतिविधि नगर्ने र पार्टीमा अधिवेशनको वातावरण बनाउन जिल्ला सभापतिहरूको अनुरोध छ । क्रियाशील सदस्यता र पार्टीको वैधानिकताका सन्दर्भमा फैलाइएको भ्रमबाट मुक्त नेतृत्वलाई आह्वान पनि गरिने छ ।

यस्तै संस्थापन इतर पक्षीय जिल्ला सभापतिले पनि आज बैठकको निष्कर्ष नेतृत्वलाई बुझाउँदै छ । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले केन्द्रीय कमिटी बैठकअघि सबै नेताहरुलाई जिल्ला सभापतिको निष्कर्ष बुझाउने रातोपाटीलाई बताए ।

केन्द्रीय कार्यसमितिले नयाँ कार्यतालिका ल्याएपछि वडादेखि जिल्लासम्मको अधिवेशन गर्न तयार रहेको बताए । 

उनले, 'भने हामीलाई कार्यतालिका पनि छैन । क्रियाशील सदस्यताका विवाद पनि टुङ्ग्याइएको छैन । त्यसलाई दबाब दिन हामीले जिल्ला सभापतिको बैठक गरेका हौं । हामी महाधिवेशन भाँड्न काठमाडौंमा आएका भनेर भन्न मिल्छ ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप