बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुलप्रसादको भाग्य : भारतीय जेलदेखि मुख्यमन्त्रीको कुर्सीसम्म

बिहीबार, २८ साउन २०७८, १६ : १४
बिहीबार, २८ साउन २०७८

 लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई विहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसीले यसअघि शंकर पोखरेलको नेतत्वमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अहिले उनै शंकर पोखरेललाई विस्थापित गरेर केसी मुख्यमन्त्रीको जिम्मेवारीमा आइपुगेका छन् ।

गत बैशाखमै विपक्ष गठबन्धनले केसीलाई मुख्यमन्त्रीमा प्रस्तावित गर्दै शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर, पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि राजीनामा दिएर केही घण्टामै पुनः मुख्यमन्त्रीको सपथ लिएका कारण केसीले मुख्यमन्त्री बन्न थप ५ महिना कुर्नुपर्यो ।

को हुन् केसी ?

नेकपा माओवादीका प्रदेश संसदीय दलका नेता केसी पार्टीभित्र ‘सोनाम’ उपनामले चिनिन्छन् । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिका–६ जिवाङ निवासी उनी २०२७ साल माघ १० जन्मिएका हुन् । जनयुद्धकै समयदेखि उनी माओवादीमा रहेर राजनीतिक रुपमा क्रियाशील रहँदै आएका छन् ।

केसीले २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएका थिए । उनी २०४६ सालमा अखिलको जिल्ला सचिव बने ।

२०४८ सालमा प्राथमिक तहको शिक्षक पेसामा आवद्धता जनाएका उनी २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रदर्शन गरेबापत शिक्षक पेसाबाट बर्खास्त भएका थिए ।

​माओवादी जनयुद्ध सुरु भएसँगै उनी भूमिगत राजनीतिक जीवनमा प्रवेश गरे । भूमिगत हुनुअघि पार्टीको रोल्पा जिल्ला कमिटीका सदस्य रहेका उनी भूमिगत राजनीतिक जीवनका क्रममा भने चाँडै उचाइमा पुगे ।

२०५५ सालमा केसीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारी पाए । २०५७ सालमा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भएका उनले पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसारको समेत जिम्मेवारी बहन गरे ।

२०५७ सालमा उनी पार्टीको पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य भए । केही समय भारतमा जेल जीवन बिताएका उनी २०६३ साउन २५ गते भारतीय जेलबाट रिहा भए ।

केसीले २०६३ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय इन्चार्ज तथा सेना समायोजन समितिको सदस्यका रुपमा पनि काम गरे ।

बादलको साथ छाडेर प्रचण्डतिर

माओवादी विभाजन भएपछि केही समय उनी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा आवद्ध रहे । उनी दोस्रो संविधानसभा बहिष्कार अभियानमा वैद्यसँगै लागे । तर, रामबहादुर थापा ‘बादल’सँगै उनी पुनः माओवादी केन्द्रमै फर्किए । बादल अहिले एमालेमा लागेका छन् । तर, कुलप्रसादले भने बादलको साथ छाडेर प्रचण्डको मूलधार नै रोजे ।

२०७२ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य भएका केसी २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप