शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : कुलमानलाई ल्याउने चर्चासँगै हितेन्द्रदेवको चेतावनी, पारसको राजनीतिमा लाग्ने सपना

बुधबार, २० साउन २०७८, २० : ३६
बुधबार, २० साउन २०७८

आज २०७८ साउन २० गते बुधबार । आज दिन भरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा कोरोनाको बढ्यो रफ्तार, भूमि सम्बन्धी आयोग विघटन भएकोमा एमालेको आपत्ति, कुलमानलाई ल्याउने चर्चासँगै हितेन्द्र देवको चेतावनी– अन्याय गरे अदालत जान्छु, सन्यासपछि बोले पारस– राजनीतिमा पनि लाग्न सक्छु, नागरिकता नपाएकाहरुले सडकमा पोखे पीडा, राष्ट्रियसभामा सत्ता र प्रतिपक्षका सांसदबीच आरोप प्रत्यारोप, पूर्व प्रधानमन्त्री खनालमा मिर्गौलाको सफल प्रत्यारोपण लगायत छन् ।

१. बढ्यो कोरोना संक्रमण ः २४ घण्टामा ४१ सय बढी संक्रमित थपिए
पछिल्ला दिनको तुलनामा बुधबार कोरोना संक्रमणमा उछाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै देशभर चार हजार १०७ जनामा संक्रमण भएको जनाएको हो । तीमध्ये काठमाडौं उपत्यकामा मात्र करिब एक तिहाई छन् । काठमाडौं उपत्यकामा एक हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । 

२. भूमिसम्बन्धी आयोग विघटन भएकोमा एमालेको आपत्ति
प्रमुख प्रतिपक्ष नेकपा एमालेले भूमिसम्बन्धी आयोग विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै एमालेले सरकारको उक्त निर्णयबाट जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।


३. कुलमानलाई ल्याउने चर्चासँगै हितेन्द्र देवको चेतावनी– अन्याय गरे अदालत जान्छु
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलेसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई अन्याय गरे अदालत जाने चेतावनी दिएका छन् । बुधबार केही पत्रकारसँग कुरा गर्दै उनले आफूलाई सरकारले उचित जिम्मेवारी दिए सम्हाल्न तयार रहेको समेत बताए । तर आफूलाई असक्षम देखाएर जबर्जस्ती निकाल्न खोजेमा वा अन्याय गरिएमा भने अदालतमा जाने चेतावनी दिए ।

४. सन्यासपछि बोले पारस– राजनीतिमा पनि लाग्न सक्छु
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पारस खड्काले पहिलो पटक पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका छन् । मंगलबार सन्यासको घोषणा गरेका उनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्ना आगामी योजनाबारे सुनाए । तत्कालका लागि नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ नै आफ्नो ध्यान केन्द्रित रहने उनले बताए ।


५. नागरिकता नपाएकाहरुले सडकमा पोखे पीडा
नेपाली नागरिकता पाउन नसकेका युवाहरुले राजधानीको सडकमा पीडा पोखेका छन् । बुधबार उनीहरुले नागरिकताको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले नागरिकता विधेयक अविलम्ब पारित गर्न पनि माग गरेका छन् । 


६. राष्ट्रियसभामा सत्ता र प्रतिपक्षका सांसदबीच आरोप प्रत्यारोप
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच विभिन्न विषयमा आरोप–प्रत्यारोप भएको छ । सरकारको गठन प्रक्रिया, दार्चुला घटना, कोरोना नियन्त्रण लगायतका विषयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आपसमा घोचपेच गरेका हुन् ।

७. पूर्व प्रधानमन्त्री खनालमा मिर्गौलाको सफल प्रत्यारोपण
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । खनालको सचिवालयले दिएको जानकारी अनुसार भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा डा. सन्दीप गुलेरियाको टीमले खनालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ ।

८. स्पष्टीकरण सोध्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा रेल विभागका महाप्रबन्धकको आक्रोश
रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आफूसँग स्पष्टीकरण सोध्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरूप्रति आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अतिरिक्त नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश र कुण्ठा प्रकट गरेका छन् ।

९. नेप्से परिसूचकमा उछाल कायमै
नेपाली सेयर बजारमा उछाल कायमै रहेको छ । मंगलबार २६.०२ अंकले बढेर ३ हजार १११.०९ बिन्दुमा पुगेको नेप्से परिसूचक बुधबार १२.०५ अंकले बढेर ३ हजार १२३.१४ बिन्दुमा पुगेको हो । जलविद्युत क्षेत्र चम्किँदा सेयर बजारमा उछाल आएको हो ।


१०. लुम्बिनी प्रदेशसभा सदस्य वली फेरि माओवादीको सम्पर्कमा
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली फेरि नेकपा माओवादी केन्द्रको सम्पर्कमा पुगेको दाबी गरिएको छ । सोमबार उनले विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी थिइन् । उपनिर्वाचनमा तत्कालीन नेकपाबाट चुनाव जितेकी उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तानातानमा परेकी छन् । उनलाई दुबै दलले आफ्नो सांसदका रुपमा गणना गर्दै आएका छन् ।


११. र यो पनि,
नेपाल प्रहरीका १५ जना पूर्व महानिरीक्षकले प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र उक्त जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने पूर्ववर्ती सरकारको निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिष्ठानको जग्गाको स्वामित्व राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।


यूएईले बिहीबारदेखि नेपालीलाई आफ्नो देशमा सशर्त आगमन खुला गरेको छ । युएईमा कोरोनाविरुद्धको दुई डोज खोप लगाएकाहरुलाई उसले आगमन खुला गरेको हो । 

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले भ्रष्टाचारको कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका जीवनाथ चौधरीलाई मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेका छन् ।

मकवानपुरको मनहरीबाट प्रहरीले एक सय २७ किलो गाँजासहित ३ जनालाई पक्राउ गर्नुका साथै गाँजा बोक्न प्रयोग भएको भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । 

संसदको विकास तथा प्रविधि समितिले स्मार्ट सवारी चालक अनुमतिपत्र छपाईको टेन्डर प्रक्रियामा सहभागी पदाधिकारी उपर तत्काल छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप