शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्रिकेटले नेतृत्वकला सिकायो, राजनीतिमा आउन तयार छु’

बुधबार, २० साउन २०७८, १८ : १७
बुधबार, २० साउन २०७८

क्रिकेटले मलाई यति धेरै समर्थक, उहाँहरुको माया र यति धेरै आर्शिवाद दिएको छ । त्यसका लागि म आभारी छु । मलाई लाग्छ, खेलाडी जीवन टुंग्याउने यो नै सही समय हो । अहिले नेपालसँग निकै प्रतिभावान युवा टिम छ ।  नेपालले अहिले एकदिवसीय क्रिकेट खेलिरहेको छ र यो चक्र पूरा हुन पनि दुई वर्ष बाँकी छ । त्यसैले यो दुई वर्ष टिमलाई अघि बढाउनका लागि राम्रो समय हो ।

नेपालका क्रिकेट टिमका खेलाडीहरूसँग राम्रो चिनजान र संगत भएकाले उनीहरुलाई आवश्यक पर्दा म अवश्य पनि सल्लाह दिनेछु ।

सन्यासको निर्णय मैले हतारमा लिएको होइन । यसका लागि धेरै सोचेको छु । मैले हरेकपटक खेलमा कसरी प्रभाव पार्न सकिन्छ भनेर सोच्थें,  अहिले सम्झँदा मैले पार्न सक्ने प्रभाव यति नै थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट छाडिसकेपछि व्यवस्थापनमा आउने इच्छा मैले यसअघि पनि धेरैपटक प्रकट गरेको थिएँ । व्यक्तिगत रुपमा मेरो सन्यास लिने निर्णय जति गाह्रो रह्यो, त्योभन्दा धेरै गाह्रो त देशको प्रतिनिधित्व गरेर खेल्ने क्रममा हुन्थ्यो । हामीले हासिल गरेका कुनै पनि उपलब्धि सहज छैनन्, यी सबै चुनौतीले भरिएका छन् । देशबाट हरेकपटक खेल्दा कप्तानका रुपमा सही निर्णय लिनुपर्ने, सही खेल्नुपर्ने दबाब हुन्थ्यो ।

खेलले नै नेतृत्वकला सिकायो

म २००९ मा राष्ट्रिय टिमको कप्तान भएँ । त्यो पोजिसनमा के–के गर्न सकिन्छ  भनेर मैले बुझें । मलाई लाग्छ, सबैजना क्रिकेट संघमा आएर सबै मिलेर अघि बढ्ने हो भने धेरै कुरा अघि बढाउन सकिन्छ ।

खेलले मलाई त्यही सिकाएको छ । कतिवटा गलत निर्णय हुन्छन्, कतिवटा सही निर्णय हुन्छन् । सबैले हामीले विश्वकप खेल्यौं भनेर वाहवाही गरे । तर, हामीले विश्वकप हारेका पनि थियौं ।

अहिले हामीसँग ओडिआई स्ट्याटस छ । अर्को लेभलमा पुग्नका लागि भने व्यवस्थापनले सर्पोट गर्नुपर्छ । यी प्रतिभावान खेलाडीहरुलाई व्यवस्थापनले सर्पोट गर्ने हो भने आगामी दिनमा नतिजा अझ राम्रो हुनेछ । 

सुखद् अनुभवहरु

क्रिकेट मैदानमा मेरा धेरै सुखद् स्मरणहरु छन् । जतिबेला हामी  डिभिजन २ मा खेलिरहेका थियौं । त्यतिबेला टिमले हा-यो भने नेपालको ओडिआई मान्यता पाउने सपना सकिनेछ भनेर लागेको थियो । मेरो खेल जीवन त यस प्रतियोगितासँगै सकिनेछ, नेपाली क्रिकेटको सपना पनि सकिनेछ भन्ने थियो ।

जब यो खेल हामीले १ विकेटले जित्यौं । तब म मैदानमा कुदिरहेको थिएँ । जबकि, अन्य प्रतिस्पर्धाहरूमा म यसरी कुद्ने गरेको थिइँन । हामी सपनाको नजिक पुगिसकेका थियौं, त्यसैले बेग्लै भावना उत्पन्न भइरहेको थियो । अब फर्केर नआउने त्यो  क्षण मेरो मस्तिष्कमा गाढा भएर बसिरहने छ ।

हाम्रो पुस्ताका खेलाडीले गर्न सक्ने योगदान यति नै रहेछ । हामीले एकदिवसीय मान्यता दिलायौँ, टी–२० विश्वकप खेल्यौं । यसक्रममा क्रिकेटरका रुपमा जुन सम्मान र माया पाइयो, त्यही नै ठूलो छ । फरक पृष्ठभूमिबाट आएर नेपाललाई जिताउने एउटै लक्ष्यमा अघि बढिरहेका हामी सबै खेलाडीले जुन रमाइलो गथ्र्यौं, टिमभित्रको जुन वातावरण थियो, ती सबै मिस हुनेछन् ।

मानिसहरुलाई पारस खड्का क्यानमा आउनुपर्छ, पारस खड्काले यस्तो गर्छ, उस्तो गर्छ भन्ने पनि छ । तर, पारस खड्काले गर्दामात्रै क्रिकेट टिम यहाँसम्म आइपुगेको होइन  । म लगायत धेरै खेलाडीहरु छन् । मभन्दा अगाडिका खेलाडीहरूले पनि योगदान गर्नुभएको छ । क्रिकेटका सबै सरोकारवालाहरुको कारण यहाँसम्म आइपुगेका हौं ।

​यदि क्रिकेटको विकासमा मेरो अनुभव, सल्लाह, सुझावले सहयोग गर्छ भने नेपालको लागि योगदान गर्न सधैं तयार छु । हिजो खेलाडीका रुपमा योगदान गरेको थिएँ, अब नयाँ भूमिकामा गर्छु होला । तर, म क्रिकेटबाट टाढिएको होइन, क्रिकेटमै रहिरहनेछु । 

एक्लो प्रयासले केही हुँदैन

मेरो उमेर केवल ३३ वर्ष भयो होला । तर, नेपाली क्रिकेटमा म जसरी संलग्न भएको छु, यहाँ गरेको कडा परिश्रम, प्रतिवद्धता र सोचका  हिसाबले हेर्ने हो भने मानसिकरुपमा म ५० नाघिसके । मैले एउटा क्रिकेटर र  कप्तानका रुपमा पनि धेरै कुरा पाएँ ।

आगामी दिनका लागि म निकै एक्साइटेड छु । म  क्रिकेटरकारुपमा पनि म चुनौतीको मज्जा लिन्थेँ । चाँडै विकेट गयो भने रन हान्न झन् मज्जा आउँथ्यो । यसको अर्थ विकेट जाओस् भन्ने पनि होइन ।

क्रिकेट र खेलकुदसम्बन्धी अरु निकायले पनि सहकार्य गरेर अघि बढेमा नेपाली क्रिकेट माथि पुग्छ भन्ने लाग्छ । कहिलेकाँही म सोच्थें १९९६ मा एशोसियट मान्यता पाएको नेपालले २००५ मा ओडिआई स्ट्याटस पाएको भए । अर्थात्, मैले डेब्यु गर्दा नेपाल ओडिआई मान्यताप्राप्त देश हुन्थ्यों भने सायद म यतिबेला टेस्ट क्रिकेट खेलिरहेको हुन्थेँ कि १

तर, यथार्थ अर्कोतर्फ थियो । हामीमध्ये कोही खेतमा, कोही घरको आँगनमा, कोही शहरबाट क्रिकेट खेलेर आएका थियौं । हामीले जुन वातावरणमा खेल्यौं, त्यो वातवारण र क्रिकेटिङ लेभलले हामीलाई पु–याउनसक्ने यहाँसम्म नै थियो ।

अहिलेको जेनेरेशनका खेलाडी भने निकै प्रतिभावान छन् ।  उनीहरुको इन्फरमेसन र पहुँच धेरै छ । ट्यालेन्ट पनि छ, एक्सपोजर पनि छ । उनीहरुमा स्ट्रङ क्यारेक्टर डेभलप गरेर अघि बढ्ने हो भने भविष्यमा राम्रो नतिजा आउनेछ । अहिलेको युवापुस्ताले नेपाललाई टेस्ट मान्यता दिलाउनेछ भन्ने मेरो सपना हो ।

मेरो सपनाले मात्रै हुँदैन । टिमको मिहेनतले मात्रै पनि हुँदैन, हामी सबैलाई थाहा छ, टेस्ट मान्यता पाउनु धेरै चुनौतीपूर्ण छ ।  मैदानभित्रको कुरा त एकातर्फ छ, मैदान बाहिरको प्रणालीलाई पनि सुधार्न जरुरी छ । आगामी १० वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्यौं भने हामी सबै खुसी नैं हुनेछौं ।

भूमिका परिवर्तन गर्न खोजेको हुँ, राजनीतिमा आउन तयार छु

मैले एउटा खेलाडीका रुपमा प्रेसर सिचुएशनमा आफूलाई कसरी ह्यान्डल गर्ने भनेर बुझेको थिएँ । त्यही चुनौती सामना गरेर यहाँसम्म आएको हुँ । अनफिल्ड क्रिकेटिङ जर्नी सकिएको छ । आगामी दिनमा पनि बाटो सहज हुने छैन ।

​तर, म क्रिकेट छाड्न गइरहेको छैन, भूमिका परिवर्तन गर्न खोजेको मात्रै हो । व्यवस्थापकका रुपमा पनि सक्रिय हुने चाहना र सम्भावना त छँदैछ । यसबाहेक प्रशिक्षण करियरलाई पनि अघि बढाउन सक्छु । संसारभर धेरै लिगहरु सञ्चालन भइरहेका छन् । प्रशिक्षक बन्नका लागि लेभल वान, लेभल टु कोर्स गर्नुपर्ने हुन्छ र भोलि ती लिगहरुमा अफर आउन सक्छ ।

तत्कालका लागि केही समयभित्रै एउटा एकेडेमी सञ्चालनमा ल्याउने योजना बनाइरहेको छु । मलाई प्राप्त हुने अवसरहरूलाई स्वीकारेर जिम्मेवारी पूरा गर्ने कोसिस गर्नेछु । क्रिकेटमा रहेका जिम्मेवार व्यक्तिहरुसँग मिलेर यस खेललाई अघि बढाउने प्रयास गर्नेछु ।

यदि मलाई राजनीतिमा उपयुक्त अवसर आयो र मैले राजनीति गर्दा देशको हित हुन्छ भने म राजनीतिमा आउन पनि तयार छु ।

(नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बुधबार आफ्नो सन्यासपछिको योजनाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणाको सम्पादित अंश )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप